Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

बन्दाबन्दीका बीच भर्चुअल माविस्तरीय वक्तृत्वकला ।।

राम अवतार चौधरी
कपिलवस्तु, ३० भदौ ।

कपिलवस्तुको बुद्धभुमि नगरपालिकाले कोभिड–१९ को बन्दाबन्दीका बीच भर्चुअल अनलाइन माध्यमबाट मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । राष्ट्रिय बाल दिवसको अवसर पारेर बुद्घभुमि नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखाले माध्यमिक तहको नगरस्तरीय भर्चुअल अनलाइनबाट वक्तृत्वकला सञ्चालन गरेको हो ।

विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैका प्रतिबद्धता भन्ने मुल नाराका साथ “बन्दाबन्दीमा सिकाईका अवसर र चुनौतीहरु” विषयलाई मध्यनजर गरेर आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा माध्यमिक विद्यालयका १२ जना विद्यार्थीले भाग लिएका थिए । भर्चुअल अनलाइन प्रतियोगितामा गौतमबुद्घ मावि गोरुसिंगेकी सुनिता बेल्वासेले प्रथम स्थान ल्याउन सफल भएको बुद्धभुमि नगरपालिका शिक्षा शाखा अधिकृत लिल बहादुर राउत क्षेत्री जानकारी दिए । यस्तै प्रतियोगितामा श्री मावि इमिलियाका श्रीश बन्जाडे द्वितीय, श्री मावि इमिलियाकी स्वोच्छा पोख्रेल तृतीय र भृकुटी माविकी अस्मिता खनाल सान्तवना स्थान ल्याउन सफल भएको शिक्षा शाखा अधिकृत क्षेत्रीले बताए ।

प्रतियोगितामा उत्कृष्ट ४ जना विजेतालाई नगद रकम सहित प्रमाण पत्रले सोमबार सम्मान गरिएको छ । साथै नगर भित्रका ११ माध्यमिक विद्यालयका विद्यार्थीहरुको नाम दर्ता १४ मध्य १२ जना विद्यार्थीहरुले भर्चुअल वक्तृत्वकला प्रतियोगितामा भाग लिएको बताइएको छ ।

यसैबीच वक्तृत्वकला प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई आयोजना भएको सम्मान कार्यक्रममा बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, नगर उप–प्रमुख मीरा थारु, प्रशासकिय अधिकृत अनिल पौडेल लगायत नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई बधाई तथा सफलताको शुभकामना र धन्यवाद समेत दिएको नगर प्रबक्ता पवन कुमार थारुले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma