Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नेपालको भूभाग र सीमासम्बन्धी पुस्तक सार्वजनिक

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतीय अतिक्रमणमा परेको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्रीु पुस्तक सार्वजनिक गरेको छ ।

मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूभाग र सिमानासम्बन्धी जानकारी दिने उद्देश्यले प्रकाशन गरेको सो पुस्तक मंगलबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भर्चुअलरुपमा सार्वजनिक गर्नुभयो । गएको २ नोभेम्बर २०१९ मा भारतले एकतर्फीरूपमा जारी गरेको नक्सामा लिपुलेक–कालापानी–लिम्पियाधुरासिहतको नेपालको भूभागलाई भारतीय क्षेत्रमा देखाएको र सो भूभागमा सडकसमेत बनाएको र नेपालले पनि आफ्नो नक्सा परिवर्तन गरी संविधानमा समेत संशोधन गरिसकेको स्थितिमा विद्यार्थी तथा जनसमुदायमा नेपालको सीमासम्बन्धी वास्तविक अवस्थाको जानकारी गराउन विज्ञको परामर्शमा पुस्तक तयार गरिएको हो ।

पुस्तकको लेखन कार्य ‘सीमा बचाऔँ अभियान’ का अभियानकर्मी कोमलचन्द्र बराल, त्रिभुवन विश्वविद्यालयका भूगोलविद् शेरबहादुर गुरुङ र भूगोलविद् एवं पाठ्यपुस्तक लेखक सहप्राध्यापक केशवराज ढकालसहितको कार्यदलबाट र संयोजन पाठ्यक्रम विकास केन्द्रका निर्देशक प्रेम भट्टराईले गर्नुभएको हो ।

पुस्तक तयारको सिलसिलामा पुस्तकको मस्यौदामा विभिन्न राजनीतिक ओहोदामा रहनुभएका राजनीतिक नेताबाट सुझाव प्राप्त भएको मन्त्रालयले जनाएको छ । यसको पाण्डुलिपिको अध्ययन गरी सीमाविद् बुद्धिनारायण श्रेष्ठ, नदीविज्ञ जगत भुसाल, विश्लेषक श्याम श्रेष्ठलगायतले सुझाव दिनुभएको थियो । यो पुस्तक गत असार १९ गतेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट विद्यालय तहमा सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्ने गरी स्वीकृत गरिएको थियो ।

मन्त्री पोखरेलले राष्ट्र, राष्ट्रियता र भौगोलिक अखण्डताको संरक्षणका लागि विद्यार्थीका साथै जनतामा सचेतता र संवेदनशीलताको विकास गर्नु, भूपरिवेष्टित अवस्थिति र संवेदनशील भूराजनीतिक अवस्थामा रहेको नेपालको सिमाना जोडिएका छिमेकी देशसँग बेलाबेलामा देखापर्ने गरेका र भविष्यमा समेत सिर्जना हुन सक्ने सीमा विवादहरूको जानकारी राख्न र समाधानमा सहजीकरणका लागि पुस्तक सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकमा नेपालको प्राचीन, मध्यकालीन लगायत सन् १८१६ मा भएको सुगौली सन्धिसम्मको नेपालको सिमाना र क्षेत्रफलको विस्तार र सङ्कुचनको ऐतिहासिक सन्दर्भ, अन्तर्राष्ट्रिय सीमाको अवधारणा, सिद्धान्त, नदी सीमामा उद्गमस्थलको पहिचान, सीमा विवाद, सीमा विवाद हुने कारण र समाधानका उपायको जानकारी दिइएको छ ।

नेपालको सीमा निर्धारण, छिमेकी देश चीन र भारतसँगको सीमा सम्बन्ध, सीमा विवाद र समाधानका प्रयास र नेपाल र भारतबीचको सीमा विवाद रहेका विशेष गरी पश्चिमोत्तर सीमा क्षेत्रका भारतद्वारा अतिक्रमित नेपालका लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रको सीमा विवादका कारण, समाधान र यससँग सम्बन्धित ऐतिहासिक, प्रशासनिक र भूराजनीतिक प्रमाण पुस्तकमा संलग्न छन् ।

यस्तै नवलपरासी ९बर्दघाट सुस्तापश्चिम० को सुस्ता क्षेत्रको अतिक्रमणसम्बन्धी छोटो जानकारी तथा नेपालको अद्यावधिक नक्सा निर्माण अभ्यास र नक्साको परिचय र प्रयोगसम्बन्धी विषयवस्तु पनि समावेश गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma