Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति

बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्र्याटिक पार्टीका उम्मेदवार जोसेफ रोबिनेट बाइडेन जुनियर ९जो बाइडेन० अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन् । अमेरिकाको इतिहासमा तीन दशकपछि बहालवाला राष्ट्रपतिलाई पराजित गर्दै अर्को पार्टीका उम्मेदवार बाइडेन विजयी भएका हुन् । यसअघि सन् १९९२ मा राष्ट्रपति जर्ज बुसलाई पराजित गर्दै बिल क्लिन्टनले जित दर्ज गरेका थिए ।

राष्ट्रपति निर्वाचित हुन कुल दुई सय ७० इलेक्टोरल भोट चाहिनेमा बाइडेनले कम्तीमा दुई सय ७९ भोट सुरक्षित गरेको न्युयोर्क टाइम्सले जनाएको छ । शनिबार पेन्सिलभेनिया र नेभाडा राज्यमा निर्वाचित भएसँगै बाइडेनले ह्वाइटहाउसको यात्रा सुनिश्चित गरेका हुन् । ७८ वर्षे बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा बढी उमेरमा निर्वाचित हुने व्यक्तिसमेत हुन् । उनले अमेरिकी राष्ट्रपतिको इतिहासमा सबैभन्दा बढी मत प्राप्त गरेका छन् । अहिलेसम्म उनले सात करोड ४८ लाख मत प्राप्त गरेका छन् ।

एसोसिएटेड प्रेस र युएसए टुडेलगायत मिडियाले बाइडेनको पक्षमा दुई सय ९० इलेक्टोरल भोट जुटिसकेको दाबी गरेका छन् । एरिजोना राज्यमा समेत बाइडेनको जित हुने उनीहरूको दाबी छ । उनीहरूका अनुसार जोर्जिया, नर्थ क्यारोलाइना र अलास्का राज्यको मत परिणाम टुंगिन बाँकी छ । तीमध्ये जोर्जियामा बाइडेनले अग्रता लिइरहेका छन् भने बाँकी दुईमा ट्रम्प अगाडि छन् । ट्रम्पले हालसम्म दुई सय १४ इलेक्टोरल भोट जुटाएका छन् । अहिले जसले अग्रता लिइरहेको छ, उसैले ती राज्यमा जितेको अवस्थामा बाइडेनले तीन सय ६ इलेक्टोरल भोट पु¥याउनेछन् भने ट्रम्पको भोट दुई सय ३२ मात्रै पुग्नेछ । यसपटक चुनावअघिका अधिकांश मत सर्वेक्षणले डेमोक्र्याटका उम्मेदवार बाइडेनले सहजै ट्रम्पलाई हराउन सक्ने देखाएका थिए । तर, तीव्र प्रतिस्पर्धाका बीच बाइडेनले जित निकालेका छन् ।

त्यस्तै, कमला ह्यारिस अमेरिकाको इतिहासकै पहिलो महिला उपराष्ट्रपति बनेकी छिन् । त्यति मात्रै होइन, उनी अमेरिकाको इतिहासमा पहिलो अश्वेत आप्रवासी उपराष्ट्रपतिसमेत बन्न सफल भइन् । ह्यारिस जमैकन बाबु र भारतीय आमाकी पुत्री हुन् ।

बाइडेनले अमेरिकाको इतिहासमा हालसम्मकै सबैभन्दा बढी लोकप्रिय मतसमेत ल्याएका छन् । उनले हालसम्म सात करोड ४८ लाख ५८ हजार मत प्राप्त गरेका छन् । यसअघि सन् २००८ मा बाराक ओबामा ६ करोड ९५ लाख लोकप्रिय मतसहित निर्वाचित भएका थिए । यसपटक पराजित उम्मेदवार ट्रप्पले पनि ओबामाको रेकर्ड तोड्दै सात करोड पाँच लाख ९८ हजार मत ल्याइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma