Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा गरिँदै : कुकुर तिहार पनि मनाइँदै

काठमाण्डाै – यमपञ्चकको तेस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ ।

लक्ष्मी पूजाका लागि घर सफासुग्घर र लिपपोत गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङलगायत सरसफाइ गरिन्छ । 

लिपपोत गरी घर घरमा दीपावली गर्ने चलन छ । आज बेलुका आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म लक्ष्मीको पाइला बनाएर बाटो समेत देखाइन्छ ।

केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिने  नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । 

आज बेलुका समूह बनाएर घरघरमा भैलो समेत खेलिन्छ । तर कोरोना सङ्क्रमण जोखिमका कारण यसवर्ष भीडभाड र समूहमा भेला भएर भैलो नखेल्न सरकारले आग्रह गरेको छ ।

कुकुर तिहार पनि मनाइँदै

आजै घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार पनि मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीको बिहान आज नदी, तलाउ वा धारामा गएर स्नान गरेर नरक स्नान समेत गर्ने गरिन्छ ।

 कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो । यस वर्ष कात्तिक २७ गतेदेखि तिहार सुरु भएको हो । दोस्रो दिन हिजो काग तिहार मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma