Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराज नगरपालिकाको नवौ नगर सभाबाट पारित आर्थिक बर्ष ०७८÷०७९ को निति कार्यक्रम र बजेट

आ.व. २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम

शिवराज नगरपालिका

चन्द्रौटा कपिलवस्तु

२०७८/३/१०

नगर सभाका सम्पूर्ण सदस्यज्यूहरु,

सम्पूर्ण विश्व साथ साथै नेपाल समेत कोरोना भाइरस महामारी विरुद्ध संघर्षरत रहेको चुनौतीपूर्ण र असहज अवस्थामा आज यस गरिमामय नगर सभा समक्ष शिवराज नगरपालिकाको आर्थिक वर्ष २०७८।०७९ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न उपस्थित छु ।

     नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रियहीत, स्वाभिमान, लोकतन्त्र र जनजीविकाका लागि भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमुल्य जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । ती आन्दोलनहरुको नेतृत्व गर्नु हुने अग्रजहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु, नेपाली समाजको रुपान्तरणमा उहाँहरुले पुर्‍याउनु  भएको महान योगदानको पुन: स्मरण गर्न चाहन्छु ।

     नेपालको शासन प्रणालीको इतिहासमा नयाँ शासकीय संरचनाका रुपमा स्थापित स्थानीय सरकारको चार वर्ष कार्य काल पुरा हुँदासम्म शिवराज नगरपालिकाले कानून निर्माण, संगठन संरचनाहरुको स्थापना मार्फत कार्य सम्पादन गर्दै समृद्ध नगर, खुसी नगरवासी को दीर्घकालिन सोच पुरा गर्न सेवा प्रवाह र विकास निर्माणका क्रियाकलापहरुलाई तिव्रताका साथ अगाडि बढाउन सक्षम रहेको छ ।

     विश्वव्यापी रुपमा फैलिएको कोभिड- १९ महामारीले जनस्वास्थ्यका क्षेत्रमा गम्भिर समस्या पैदा गर्दा मौजुदा स्वास्थ्य पूर्वाधार र सुविधाहरु अप्रयाप्त देखिएका छन् । कोभिड-१९ को दोस्रो लहरका क्रममा अस्पतालहरुमा बेडको अभाव, अक्सिजनको कमी जस्ता समस्याहरु व्यहोर्नु पर्‍यो । पछिल्लो समय संक्रमणमा कमि आएको छ, निको हुने दर वृद्धि भएको छ र कोभिड-१९ को जोखिम पूर्ण रुपमा अन्त्य नभए पनि स्थिति नियन्त्रण तर्फ उन्मुख हुँदै गएको छ । यसैबिच कोरोना महामारीको सम्भावित अर्को लहर लक्षित क्रियाकलाप तर्फ पुर्व तयारी हुने चेतावनी आइसकेको छ । यस घडिमा कोभिड- १९ को कारण ज्यान गुमाउनु हुने मृतकहरु प्रति भावपूर्ण श्रद्धञ्जली तथा संक्रमित सम्पूर्ण दिदी बहिनी तथा दाजु भाइहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

     जोखिमपूर्ण परिस्थितिमा अग्रपङक्तिमा रहेर सेवा गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको म उच्च प्रशंसा गर्दछु । अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन योगदान गर्ने सबै व्यक्ति तथा संघ- संस्थालाई धन्यवाद दिन चाहन्छु । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदममा पूर्ण साथ दिई सहयोग गर्नु भएकोमा म सम्पूर्ण दिदी बहिनी तथा दाजु भाइ प्रति हार्दिक आभार व्यक्त गर्दछु । महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा योगदान पुर्‍याउनु हुने संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, निजी तथा व्यवसायिक क्षेत्र, सञ्चारजगत र कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा रकम उपलब्ध गराउने सबैलाई धन्यवाद दिन चाहन्छु ।

     मानब जातिले व्यहोर्नु परेको यस महामारीको घडिमा कोभिड-१९ बाट जनताको जीवनस्तरमा गम्भीर असर पर्न नदिन जनस्वास्थ्य, रोजगारी, उत्पादन, आपूर्ति लगायत आर्थिक तथा सामाजिक क्षेत्रहरुमा नगरपालिकाले कोभिड विशेष कार्यक्रमहरु सञ्चालन गरी नगरवासीको आर्थिक तथा सामाजिक जीवनस्तरलाई उन्नत र व्यवस्थित गर्ने कार्यक्रमहरु सञ्चालन गर्न क्रियाशिल छ ।

नगर सभाका सम्पूर्ण सदस्यज्यूहरु,

     राज्यको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले राजनीतिक अधिकार, स्वतन्त्रता, अधिकार र अवसरमा पहुँच, सामाजिक न्याय र समानता, भयरहित सुरक्षित र मर्यादित जीवन लगायतका विषयलाई लोकतन्त्रका विभिन्न आयामको रुपमा आत्मसात् गरेको छ । त्यसैले सार्वभौमसत्ता जनतामा र जनता नै शक्तिका स्रोत हुन भन्ने मान्यतालाई स्थापित गरेको छ । यसले राजनीतिक दलहरुलाई जनादेश अनुसारको भूमिका खेल्न उत्प्रेरित गर्छ, नेतृत्वको क्षमता अभिवृद्धि हुन्छ र देश, जनता तथा विकास प्रति थप चिन्तनशील तुल्याउँछ । आवधिक निर्वाचनका क्रममा हुने नेतृत्वको क्षमता र कार्य सम्पादन परीक्षणले नेतृत्वलाई अझ बढी उत्तरदायी बन्न उत्प्रेरित गर्छ ।

     ऐतिहासिक स्यूराज क्षेत्र, प्रसिद्ध शिवगढी धार्मिक स्थल तथा पुरातात्विक सोनवागढ धार्मिक क्षेत्र रहेको शिवराज नगरपालिकामा स्थानीय स्वशासनको छोटो अभ्यास मै उत्साहबर्द्धक भौतिक प्रगति र सामाजिक विकास भएको छ । यो उपलब्धिले समृद्ध शिवराज नगरपालिका निर्माणमा बलियो आधारशिला निर्माण गरेको छ ।

     सहकारिता र समन्वयको सिद्धान्तमा आधारित संघ, प्रदेश र स्थानीय तहले नगरको सर्वाङ्गीण विकास र सेवा प्रवाह सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । शिवराज नगरपालिकाको आन्तरिक क्षमता र वित्तिय हस्तान्तरणको वैज्ञानिक प्रणालीले नगरलाई आवश्यक स्रोत सुनिश्चित गरिएको छ । कोभिड-१९ महामारीको सामना गर्ने क्रममा स्थानीय तहबाट भएका कामले स्थानीय सरकारको महत्व प्रष्ट्याएको छ ।

     कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका शुरुदेखि नै क्रियाशिल छ । निषेधाज्ञाको अवस्थामा समेत ‍औषधि, खाद्य वस्तु लगायतका अत्यावश्यक उपभोग्य वस्तुहरुको सहज आपुर्ति साथै विपन्न र कृषक केन्द्रित सहयोग कार्यक्रम कार्यान्वयन गरिएको छ ।

नगर सभाका सम्पूर्ण सदस्यज्यूहरु,

     शिवराज नगरपालिका आधारभूत शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा तथा संरक्षणका अवसर उपलब्ध गराई शान्ति सुव्यवस्था सहितको न्यायपूर्ण, समुन्नत, सभ्य र सु-संस्कृत समाज निर्माणमा अग्रसर छ । नगर क्षेत्रभित्र योजनाबद्ध सडक, पुल, सामुदायिक भवन, सिंचाई, खानेपानी लगायतका भौतिक पूर्वाधारहरुको निर्माण कार्य तिब्र गतिमा अघि बढेको छ ।

     सार्वजनिक प्रशासनको कार्य संस्कृतिमा सुधार ल्याई सुशासन कायम गर्न हामी क्रियाशिल छौ । सार्वजनिक सेवाको गुणस्तर वृद्धि गरिएको छ । सबै नगरबासीलाई सामाजिक सुरक्षा प्रणाली भित्र आबद्ध गर्न सामाजिक सुरक्षाका कार्यक्रमहरु अघि बढाइएको छ ।

     कृषि उत्पादकत्व वृद्धि गर्न कृषिको आधुनिकीकरण र व्यावसायीकरणको योजना सहित कृषि पूर्वाधारमा ठूलो लगानी गरिएको छ । शौचालयको उपलब्धता र प्रयोगमा सुधार ल्याई नेपालीको सभ्यताको स्तर माथि उठाउने कार्यमा लुम्बिनी प्रदेशमै शिवराज नगरपालिकालाई सफलता मिलेको छ ।

     शिवराज नगरपालिकाको आर्थिक, सामाजिक विकासको गति उत्साहपूर्ण थियो । यि उपलब्धिमा आधारित भएर अघि बढिरहेको अवस्थामा मुलुक कोभिड-१९ को महामारीको चपेटामा परेको समय शिवराज नगरपालिका पनि सोही महामारीले आक्रान्त हुन पुगेको छ । जुन लक्ष्य, योजना र गतिका साथ अघि बढन खोजिएको थियो, त्यसमा व्यवधान आएको छ । नगरपालिकाका प्राथमिकता बदलिएका छन् ।

नगर सभाका सम्पूर्ण सदस्यज्यूहरु,

शिवराज नगरपालिकाले समृद्ध नगर, सुखी नगरवासीको आकाङ्क्षा पूरा गर्न देहाएका रणनीतिक आधार र पक्षहरुलाई ध्यानमा राखी आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम तर्जुमा गरेको छ ।

क)  दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पुरा गर्ने संबैधानिक व्यवस्थाको परिपूरण गर्न समतामुलक सेवा र शान्ति संबेदनशिल विकास पद्धति अवलम्बन गर्ने ।

ख)  लोकतान्त्रीक लाभहरुको समानुपातिक समावेशी र न्यायोचित वितरण गर्दै जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरिय सेवा प्रवाह गर्न ।

ग)  नगरपालिकाले दिगो बिकासको लक्ष्य प्राप्तिको विश्वव्यापी र राष्ट्रिय अठोटप्रति दृष्टिगत गर्दै मौलिक विकासमा जोड दिई विकासको स्थानीयकरण गर्ने ।

घ)  स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता एवं अन्य सामाजिक तथा सांस्कृतिक क्षेत्रमा कार्यक्रम सञ्चालन र गुणस्तरीय सेवा प्रवाह गरी स्वस्थ, शिक्षित, न्यायपूर्ण र गतिशिल सामाजिक जीवनको स्थापना गर्ने ।

ङ)  कार्यक्रम तथा आयोजनाहरुको पुन: प्राथमिकीकरण गर्ने, फजुल खर्च रोक्ने, वित्तिय अनुशासन कायम गर्ने, उत्पादनशील तथा रोजगारमूलक क्षेत्रमा लगानी केन्द्रित गर्ने ।

च)  सहकारिता, समन्वय र सह अस्तित्वमा आधारित संघीय प्रणालीको आधार स्थानीय तहको स्रोत परिचालन क्षमता बढाई राष्ट्रिय लक्ष्य र नगरको वृहत्तर विकासको योजना अनुरुप कार्यक्रम कार्यान्वयन गर्ने ।

छ)  नगरपालिकाले महामारी  रोकथामका लागि अपनाउनु  पर्ने स्वास्थ्य सजगताका व्यवस्थाहरुको पालना गर्ने गराउने । सङ्क्रमणको परीक्षणलाई ब्यापक बनाउने, खोप, औषधि, उपकरण र चिकित्सक  लगायतका स्वास्थ्यकर्मीहरुको व्यवस्था तथा परिचालन गर्ने ।

ज)  नगरपालिकाले स्वास्थ्य र शिक्षा सेवामा गुणात्मक सुधार र बैकल्पिक पद्धतिको अनुसरण गर्ने, कृषि तथा औद्योगिक उत्पादन वृद्धि गर्ने र विकास निर्माण कार्यलाई तीब्रता दिने कार्यक्रम कार्यान्वयन गर्नेछ ।

झ)  कोभिड-१९ महामारीका कारण रोजगारी गुमाएका श्रमिक, साना किसान, असहाय व्यक्ति, गरिब तथा विपन्न वर्गका परिवारलाई लक्षित गरी सिप विकास तालिम र रोजगारी एवं आय आर्जन सम्बन्धि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

नगर सभाका सम्पूर्ण सदस्यज्यूहरु,

अव म शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७/२०७८ मा कार्य सम्पादन गरेका महत्वपूर्ण उपलब्धीलाइ सारांशमा प्रस्तुत गर्न चाहन्छु ।

  • यस पालिकाबाट चालु आ.व. मा २ वटा एम्बुलेन्स र १ वटा दमकल खरीद गरी संचालनमा ल्याइएको छ ।
  • वडा नं. २ र ४ मा स्वास्थ्य चौकी निर्माण भर्इ सेवा संचालनमा ल्याइएको छ ।
  • वडा नं. ९ धानखोलमा शहरी स्वास्थ्य क्लिनिक निर्माण गरि संचालनमा ल्याइएको छ ।
  • आधारभूत स्वास्थ्य सेवा अस्पताल  संचालन गरिएको छ ।
  • आधारभूत स्वास्थ्य सेवा अस्पतालमा ल्याव, USG  र  ECG सेवा संचालन गरिएको छ ।
  • शिवगढी स्वास्थ्यचौकीमा ल्याव संचालन गरिएको छ ।
  • वडा नं. २ सुरक्षित स्वच्छ खानेपानीयुक्त वडा घोषणा भएको छ ।
  • नेपाल सरकारबाट तोकिएका लक्षित समुहलाइ कोरोना विरुद्धको खोप कार्यक्रम संचालन भएको छ ।
  • शिवराज नगरपालिका भित्र रहेका भूमिहीन सुकुम्बासी भुमिहीन दलित र अव्यवस्थित बसोवासीहरुको लगत संकलनको काम सम्पन्न भएको छ ।
  • बालपोषण भत्ता ४४०० जनालाइ वितरण गरिएको छ ।
  • आवधिक योजना निर्माण कार्य भइ रहेको छ ।
  •  मैनारीमा सिंचाइ आयोजनको काम सम्पन्‍न भएको छ ।
  •  खानेपानीको गुणस्तर जाँच सुरु गरिएको छ ।
  • रमुवादहमा पर्यटकीय पुर्वाधार निर्माण र मन्दिर निर्माण कार्य संचालन भईरहेको छ ।
  • करैया र जवइ खोलामा मल्टि स्पान कल्भर्ट/पुल निर्माण सम्पन्‍न भएको छ ।
  • वर्थिङ्ग सेन्टर थप गरी ५ स्थानबाट सेवा प्रवाह भइ रहेको छ ।
  • सवै सामुदायिक तथा संस्थागत माध्यमिक र आधारभूत कक्षा ६ ७ ८ संचालन भएका विद्यालयका खेल शिक्षक र २/२ जना विद्यार्थीहरुलाइ Physical Training प्रदान गरिएको छ ।
  • विभिन्‍न विद्यालयमा चार कोठे भवन ४ वटा, दुर्इ कोठे भवन ३ वटा र ४ वटा शौचालय निर्माण कार्य भईरहेकोछ  ।
  • विद्यालयमा प्रति विद्यार्थी रु. २०० का दरले Covid response खानेपानी र सरसफाइ सम्बन्धि अनुदान प्रदान गरिएको ।
  •  विद्यालयमा इन्टरनेट जडानका लागि विद्यालयहरुलाइ आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
  • सवै प्रारम्भिक बाल विकास केन्द्रहरुमा समसामयिक सुधार गर्दै छनौट भएका १२ वटा प्रारम्भिक बाल विकास केन्द्रहरुमा सिकाइ तथा खेल सामाग्री उपलब्ध गराइएकोछ ।
  • डिजिटल प्रविधिबाट सिकाइ सहजिकरण गर्न १२ वटा विद्यालयमा ल्यापटप प्रिन्टर र प्रोजेक्टर व्यवस्था  गर्न सहयोग गरिएकोछ ।थप १२ वटा विद्यालयका कक्षा कोठामा पंखा सहयोग गरिएकोछ ।
  • ५ वटा विद्यालयमा कम्पाउण्ड वाल निर्माण संवन्धी कार्य भएको छ ।
  • महिला स्वास्थ्य स्वयम् सेविकालाइ प्रोत्साहन उपलब्ध गराइ उत्प्रेरित गरिएको छ ।
  • न्यायिक समितिबाट विभिन्‍न किसिमका ४० वटा मुद्दा फर्छौट गरिएको छ ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ४६६ जना लाभान्वित भएका छन ।
  • ब्यावसायीक पशुपालक फार्म संचालन गरेका २० कृषक लाइ व्हिल ब्यारो तथा २० वटा मोटरेवल च्यापकटर ५० प्रतिशत अनुदानमा वितरण गरियो ।
  • ५० प्रतिशत अनुदानमा २० गोटा उन्नत जातको वोयर व्याडे वोका वितरण गरिएको छ ।
  • मेडिकल उपचार १२६०३, गाइनोकोलोजिकल २७५०, माइनर सर्जिकल उपचार ८२३ तथा गोबर परीक्षण २६४८, पिसाव परीक्षण ७३, दुध परीक्षण ४६, छाला परीक्षण ७ र कृत्रिम गर्भाधान तर्फ गाइमा १२७ भैसीमा २३२ बाख्रमा ४३ गरि जम्मा ४०२ कृत्रिम गर्भाधान भएको छ ।
  • नगरपलिका भित्रका ११ वटै वडामा खोरेत विरुद्ध ५००० पशुमा र भ्यागुते चरचरे विरुद्ध १५००० पशुमा तथा रेबिज विरुद्ध ५८१ पशुमा पी.पी.आर. रोग विरुद्ध १५००० बाख्रामा खोप लगाइ सकेको र पुनः लगाउने तयारीमा रहेको छ ।
  • पशुपंक्षी जन्य पदार्थ संकलन तथा विक्री गर्न २ वटा सहकारी संस्थालाइ उपकरण व्यवस्थापन अनुदान प्रदान गरियो ।
  • वार्ड नं.३, ६, ७, ९, १० र ११ मा ४६० हेक्टरमा धान प्रर्बधन कार्यक्रम संचालन गरिएको छ ।
  • केरा बिरुवा १५०० गोटा, आप २००० गोटा, लिचि १५०० गोटा बिरुवा बितरण  गरियो ।
  • पम्पसेट २२८, मोटर ६०, मिनिटिलर ४५, ब्रसकटर २०, स्प्रेयर ६९ र कर्नसेलर ५ वटा बितरण गरियो ।
  • ७५ प्रतिशत अनुदान १० जना तरकारी उत्पादन गर्ने कृषकहरुलाई प्लाष्टिक घर निर्माणमा सहयोग गरियो ।
  • कृषि समूह ३४  तथा ३२ कृषि फर्महरुलाई कृषि सामाग्रीमा अनुदान बितरण गरियो  ।
  • १३ किलोमिटर सडक कालो पत्रे,  २५ किलोमिटर सडक ग्राभेल र ३ किलो मिटर सडक RCC ढलान भएको छ । ‍

नीति तथा कार्यक्रम

सम्बृद्ध नेपाल, सुखी नेपाली को राष्‍ट्रिय आकांक्षा पूरा गर्ने दिशा तर्फ अघी बढदैशिवराज नगरपालिकाको आधार¸ कृर्षि¸ उद्योग¸ पर्यटन र पूर्वाधार भन्ने मूल नाराका साथ “समृद्ध नगर, खुसी नगरवासीको मर्मलार्इ आत्मसाथ गर्दैअब म आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम यस गरिमामय सभा समक्ष प्रस्तुत गर्दछु ।

  • आर्थिक विकास नीति

क. कृषि तथा पशु विकास

  • कृषि वस्तु उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै नगरपालिकालाई आत्मनिर्भर बनाउन जोड दिइनेछ ।
  • कृषिजन्य वस्तुहरूको बजारीकरणलार्इ ब्यवस्थित गर्दै संकलन केन्द्रहरू संचालनमा जोड दिइनेछ ।
  • सडकमा बेवारिसे रुपमा छाडिएका पशु चौपायहरुको व्यवस्थापन गरिनेछ ।
  • कृषि तथ्यांक ब्यवस्थित गरी कृषक परिचयपत्र दिइनेछ ।
  • पोषण सुधारमा सहयोग पुग्ने कार्यक्रम संचालन गरिनेछ ।
  • सिंचार्इ पूर्वाधार निर्माण तथा ब्यवस्थापनमा जोड दिइनेछ ।
  • जनता पशुधन सुरक्षण कार्यक्रम पशुपंछीको विमा प्रिमियममा ५० प्रतिशत अनुदान तथा व्यवस्थापन कार्यक्रम लागु गरिनेछ ।
  • नगरपालिका भित्र व्यावसायीक पशुपंक्षी पालन गरेका कृषकहरु मध्ये उत्कृष्ट कृषकलाइ नगर सभावाट उत्कृष्ट कृषक सम्मान गरिनेछ ।
  • पशुपंक्षी पालन तथा विकास क्षेत्रमा काम गर्ने अन्य संघ, सस्थासंग नगरपालिकाले समन्वय गरि कार्यक्रम संचालन गरिनेछ ।

श्रम तथा रोजगार, उद्योग वाणिज्य र पर्यटन संस्कृति प्रवर्द्धन

  • स्वरोजगार हुन चाहने तर व्यवसायिक योजना नभएका नागरिकहरुलार्इ स-साना व्यवसायको योजना निर्माणमा सहजीकरण गरिनेछ ।
  • बैदेशिक रोजगारमा जान इच्छुक व्यक्तिहरुको लागि उपयुक्त सीप विकास तालिम दिइनेछ ।
  • रोजगारदाता तथा ट्रेड युनियनहरुसंगको समन्वयमा सामाजिक सुरक्षाकोष व्यवस्थित गर्न सहजिकरण गरिनेछ ।
  • केवलकार¸स्तरीय होटल संचालन जस्ता पर्यटन पूर्वाधारमा नीजि क्षेत्रको लगानी आकर्षित गर्न आवश्यक सहजीकरण गरिनेछ ।
  • पर्यटन स्थलहरुको संरक्षण¸ सम्बर्द्धन तथा प्रचार प्रसार गरिनेछ ।
  • यस नगरपालिकाको पहिचानको रुपमा रहेको “ऐतिहासिक शिवगढी मन्दिर, पुरातात्विक सोनवागढ मन्दिर  र थारु संग्राहलय” को वृहत्तर विकासको लागि गुरुयोजना निर्माण गरी सो को कार्यान्वयन मार्फत् पर्यटन प्रवर्द्धनलाइ निरन्तरता दिन संघ तथा प्रदेश सरकारसंग समन्वय र सहकार्य गरिनेछ ।
  • सम्पूर्ण धर्म जातजातिको मौलिकता संरक्षणको लागि उनीहरुको भेषभूषा पोषाक रितिरिवाज संरक्षण गर्न आवश्यक कदम चालिनेछ ।
  • नगरको धार्मिक¸ साँस्कृतिक विविधताको संरक्षण एवं प्रचार प्रसार मार्फत पर्यटनमैत्री वातावरणको सिर्जना गरिनेछ ।
  • श्रमको सम्मान गर्ने संस्कारको बिकास गरी स्थानीय रोजगारीको अवसरलार्इ प्रबर्धन गरिनेछ¸ स्थानीय श्रमलार्इ स्थानीय स्तरमै परिचालन गरी रोजगारी सृजना गरिनेछ ।
  • सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध लाभग्राहीहरुको अभिलेख अद्यावधिक गर्ने कार्यलाइ निरन्तरता दिइनेछ ।
  • सामाजिक सुरक्षा वापतको रकम समयमै प्राप्‍त गर्न सम्बन्धित बैङ्क तथा वित्तिय संस्थाहरुसंग समन्वय गरिनेछ ।

ग. सहकारी

  • सहकारी संघ संस्थाहरुलाई नियमित अनुगमन गरी आवश्यक निर्देशन सुझाव सहित प्रतिवेदन पेश गरिनेछ ।
  • सहकारी संघ संस्थाहरुलाई COPOMIS तथा अन्य क्षमता विकासका तालिम दिई व्यवस्थित र प्रविधि मैत्री बनाउदै लगिनेछ ।
  • उत्कृष्ट सहकारी संघ संस्थालाई सम्मान गर्दै जाने र अन्य सहकारी संघ संस्थाहरुलाई पनि अनुसरण गर्नका लागि प्रोत्साहित गरिनेछ ।

घ. राजश्‍व परिचालन तथा वित्तिय व्यवस्‍थापन

  • कर प्रशासनलाई करदातामैत्री, आधुनिक प्रविधिमैत्री बनाइनेछ ।
  • राजस्व सुधार योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
  • सबै किसिमका व्यापार, ब्यवसाय, औधोगिक प्रतिष्ठान लगायतका आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउन संस्था को कानून बमोजिम दर्ता, नबिकरण  तथा करदाताको अभिलेख अद्यावधिक गरिनेछ ।
  • राजस्व चुहावट गर्ने करदातालाई कानून बमोजिम कारवाही गरिनेछ ।
  • स्थानीय उद्योग तथा व्यवसाय प्रवर्द्धन र रोजगारी सिर्जनामा योगदान दिने किसिमको सहज वातावरण बनाउने कर नीति अपनाइनेछ ।
  • नगरको स्वामित्व वा भोगाधिकार रहेको र नगरपालिकाले संरक्षण र परिचालन गर्न सक्ने भवन, जग्गा जमिन, पोखरी, हाट बजार तथा अन्य भौतिक सम्पत्तिको अभिलेख र अद्यावधिक गरी राजश्‍व आम्दानी गर्ने माध्यमको रुपमा प्रयोग गरिनेछ ।
  • कर तिर्नु सम्मानित नागरिक बन्‍नु पनि हो भन्‍ने भावना जगाउन करदाता सम्मान कार्यक्रमलार्इ निरन्तरता दिइनेछ ।
  • खर्च प्रणालीलाइ व्यवस्थित र पारदर्शी बनाइनेछ ।
  • सामाजिक विकास नीति
  • शिक्षा¸ यूवा तथा खेलकुद
  • आधारभूत तहको शिक्षा अनिवार्य गर्न सवै विद्यालय उमेर समूहका बालबिलकाको विद्यालयमा  पहुँचको सुनिश्चितताका लागि “विद्यालयको शैक्षिक र भौतिक सुधार, बालबालिका प्रवेशको आधार” मूल नाराका साथ विद्यालयको शैक्षिक एवं भौतिक सुधारका कार्यक्रमहरु संचालन गरिनेछ ।
  • सवल र प्रतिवद्ध शिक्षक खुसी विद्यार्थी उत्कृष्ट सिकाइ उपलव्धी मूल वाक्यका साथ शिक्षक तालिम विद्यार्थी सिकाइका विभिन्न क्रियाकलापयुक्त कार्यक्रम संचालन गरिने छन् । प्रारम्भिक बाल कक्षा देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि खाजाको व्यवस्था गर्न.”बच्चाको टिफिनमा खाजा आमाको हातमा पैसा कार्यक्रमलाई निरन्तरता प्रदान गरिनेछ ।
  • शिक्षण सिकाइ क्रियाकलापमा डिजिटल प्रविधीको प्रयोग गरी शिक्षण गर्न प्रोत्साहित गरिने छ ।
  • विद्यालय शान्ती क्षेत्र घोषणा गर्न वडा शिक्षा समितिको सहभागितामा सबै विद्यालयका सरेकारवालाहरु संग प्रतिवद्धता लिइनेछ । विद्यालयलाइ “क्लिन, ग्रिन एण्ड पिस बनाउन विद्यालय क्षेत्र भित्र आकर्षक फूलवारी निर्माण गर्न अभिप्रेरित गरिने छ । स्थानले संभव भएसम्म ‘एक विद्यार्थी एक फूलको विरुवा अभियान संचालन गरिनेछ ।
  • सामुदायिक विद्यालयको व्यवस्थापकीय सुधार तथा शैक्षिक उपलव्धीमा सुधार गर्न  प्रधानाध्यापक संग कार्य सम्पादन करार गरिने छ । विषयगत सिकाइ उपलव्धी वृद्धि गर्न प्रधानाध्यापकले विषयगत शिक्षकसंग कार्य सम्पादन करार गर्ने नीति तय गरिनेछ ।
  • सिमान्तकृत, अति विपन्न तथा अपाङ्ग बालबालिकाहरुलाइ विद्यालयमा प्रदान गरिएका सहयोग कार्यक्रमलाइ निरन्तरता प्रदान गरिनेछ ।
  • विद्यालय आउन नसकेका वा विद्यालयमा भर्ना भएर पनि निरन्तरता दिन नसकेका बालबालिकाहरु युवा तथा प्रौढहरुलाई अनौपचारिक शिक्षाका विभिन्न मोडलहरु प्रयोग गरी सामुदायिक सिकाइ केन्द्र तथा विभिन्न गैर सरकारी संस्थाको सहयोगमा शिक्षा प्रदान गर्ने नीति तय गरिनेछ ।
  • संस्थागत विद्यालयका छाता संगठनसंगको सहकार्यमा संस्थागत विद्यालयको क्षमता अभिवृद्दि तथा सेवा प्रवाहलाइ प्रभावकारी बनाईनेछ ।
  • प्रारम्भिक बाल कक्षाका सहयोगी विद्यालय कर्मचारी तथा स्वयम सेवक शिक्षकहरुलाई  उत्साहित गर्न  थप प्रोत्साहन अनुदान उपलव्ध गराईनेछ ।
  • प्राविधिक शिक्षा अध्यापन गर्न चाहने संस्थाहरुलाइ सहजीकरण गरिनेछ ।
  • राष्ट्रिय पाठ्यक्रम प्रारुपले निर्धारण गरे बमोजिम स्थानीय पाठ्यक्रम निर्माण गरिनेछ । आधारभूत तह कक्षा १-५ मा हाम्रो शिवराज संग सम्बन्धित स्थानीय पाठ्यक्रम र कक्षा ६-८ मा बुद्ध शिक्षा संग सम्बन्धित स्थानीय पाठ्यक्रम तयार गरी अध्यापन गराइनेछ ।

युवा तथा खेलकुद

  • स्वस्थ शरीर र स्वस्थ मस्तिष्कका लागि खेल भन्‍ने तथ्यलाई मनन गर्दै खेलका लागि आवश्यक पूर्वाधारको विकास गरिनेछ । खेलको माध्यमवाट खेलाडीलाई क्रियासिल गराउदै उत्साहित गर्न र युवाहरुमा अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराउन वडा वडामा खेल संचालन र नगर स्तरमा वडागत प्रतिस्पर्धा गराईनेछ ।
  • मेयर कप उप, मेयरकप र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता संचालन गरिनुका साथै यो वर्षदेखि कपिलवस्तुका सवै पालिका सहभागि हुने गरी शिवराज फुटवल कप प्रतियोगिता संचालन गरिनेछ ।
  • नगर भित्र खेल मैदान तथा कभर्डहल निर्माण गर्न विभिन्न निकायसंग सहकार्य गरिनेछ ।
  • उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई जिल्ला प्रदेश र राष्ट्र स्तरमा हुने खेलमा सहभागि गराउने नीति तय गरिनेछ ।
  • आनी बानीमासुधार स्वच्छ समाज र स्वच्छ वातावरणको आधार को मर्मलाई आत्मसात गर्दै सरसफाई गर्न, लागु पदार्थको दुर्व्यसन हटाउन युवाहरुलाई परिचालन गर्दै युवाहरुलाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार र आत्मनिर्भर हुन अभिप्रेरित गरिनेछ ।
  • नगर स्तरका सबै बिद्यालयहरुमा खानेपानीको गुणस्तर चेक जाँच गरि आवश्यकता अनुसार ईलेक्ट्रिक फिल्टर जडान गर्न विभिन्‍न सरकारी तथा गैरसरकारी संस्थाहरु संग समन्वय र सहकार्य गरिनेछ ।
  • स्वास्थ्य
  • नेपालको संविधानले निर्देश गरे अनुरुप मौलिक हकको रुपमा रहेको गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकको सहज पंहुचमा पुग्ने गरी प्रभावकारी रुपमा उपलब्ध गराईनेछ । यसका लागि सामजिक न्यायको सिद्धान्तमा आधारित स्वास्थ्य बिमा प्रणाली लागु गरिनेछ ।
  • मातृ मृत्युदर, नवजात शिशु मृत्युदर, पाँचबर्ष मुनिका बच्चाहरुको मृत्युदर र औषत आयु  जस्ता स्वास्थ्य र विकासका महत्वपूर्ण सूचनाहरुमा आधारित प्रगतिका लक्षहरु किटान गरी लागु गरिने छ साथै मातृ मृत्युदर न्यूनिकरण गर्न गर्भवती महिलाहरुलाई प्रोत्सान र घरमा गएर सुत्केरी आमा बच्चाको स्वास्थ्य जांच कार्यक्रम लागु गरिनेछ ।
  • शिवराज नगरपालिका स्तरीय आधारभूत स्वास्थ्य सेवा अस्पतालमा बिशेष सुबिधा, निजि फार्मेशी सेवा, एक्सरे सेवा लगाएत अन्य सेवा थप गरी २४ घन्टा आकस्मिक सेवा र अक्सिजन सहितको एम्बुलेन्स सेवा सहित संचालन गर्नको बजेट ब्यवस्था गरी सेवा बिस्तार गरिनेछ ।
  • आधारभूत स्वास्थ्य सेवा अस्पतालमा संचालित COVID 19 बाट संक्रमित जुन अक्सिजन सहित उपचार आबस्यक पर्ने Central Line बाट अक्सिजन प्रत्येक बेडमा पुग्ने गरी सेवा संचालन गर्ने ब्यवस्था मिलाईनेछ |
  • बच्चा जन्मने घरः वर्थिङ्ग सेन्टर”  अभियान अन्तर्गत हालसम्म संचालित वर्थिङ्ग सेन्टरलाइ थप प्रभावकारी रुपमा संचालन गर्न कार्यरत कर्मचारीहरुको मनोवल उच्च बनाइनेछ । साथै उक्त वर्थिङ्ग सेन्टरहरुमा अत्यावश्यक औषधी र अक्सिजन सहितको एम्बुलेन्स सेवा तथा ल्याव सेवा क्रमशः थप गर्दै लगिनेछ ।
  • जलवायु परिवर्तन तथा प्राकृतिक विपदले सृजना हुने मानविय स्वास्थ्य समस्या समाधान गर्न विपद् पूर्व तयारी र ब्यबस्थापनलाई प्रभावकारी बनाईनेछ । बाताबरण प्रदुषणको प्रभावकारी नियन्त्रण गर्दै स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिक अधिकारलाई सुनिश्चित गरिनेछ ।
  • कोभिड-१९ महामारीका कारणले स्वास्थ्य क्षेत्र, समुदाय तथा मानवमा परेको मनोसामाजिक प्रभावको तहगत प्रभाव मूल्याङ्कन गर्न नगरपालिका, प्रदेश तथा संघिय सरकारसंग सहकार्य  गरी कार्यक्रम संचालन गरिनेछ ।
  • स्वास्थ्य संस्थामा आवश्यक गुणस्तरीय औषधि, औजार तथा उपकरणहरु निरन्तर ब्यबस्था गरिने छ । औषधि भण्डारण कक्ष ब्यबस्थापन गरिनेछ ।
  • नगरपालिकामा विदेश तथा आन्तरिक स्थानागमन गरी आउने ब्यक्तिहरुलाई बिशेष निगरानी गरी स्वास्थ्य जांच तथा संक्रामक रोगको स्क्रीनिङ गरिने छ । साथै पूर्ण खोप कार्यक्रमको सुनिश्चिताको लागि विशेष कार्यक्रम लागु गरिनेछ ।
  • ७० बर्ष माथिका जेष्ठ नागरीहरुलाई स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन गरिने छ साथै ७५ बर्ष नाघेका सबै जेष्ठ नागरिकको अनिबार्य बिशेष स्वास्थ्य जाँचको निःशुल्क प्याकेज कार्यक्रम संचालन गरिनेछ ।
  • आँखाको मोतिया बिन्दु अप्रेसन तथा आँखा जाँच सम्बन्धि आँखा स्वास्थ्य शिविर संचालन गर्न आँखा अस्पताल संग समन्वय गरि शिविर संचालन गर्ने ब्यबस्था गरिनेछ ।
  • बहुक्षेत्रीय पोषण कार्यक्रममा नगरपालिकाको तर्फबाट योगदानमा थप गरी सुनौला हजार दिनका आमाहरुको लागि विभिन्‍न कार्यक्रमहरु संचालन गरिनेछ
  • कुष्ठरोग, हात्तिपाईले रोगबाट प्रभावित समुहको लागि आय आर्जनका सिपमुलक तालीममा अनुदान प्रदान गरिनेछ ।
  • हालको समयमा बढ्दै गएका संक्रामक रोग तथा नसर्ने रोगको रोकथाम उपचार तथा व्यवस्थापनको लागि योग आयुर्वेद औषधि स्वस्थ जीवनशैलीका विधिहरु तथा पञ्‍चकर्मका सेवाहरु नागरिक आरोग्य केन्द्रबाट प्रदान गरी आयुर्वेद चिकित्सा सेवालाइ सवै नागरिकको पहुँचमा पुर्‍याइनेछ ।
  • विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम समुदाय स्तरमा योग प्रवर्द्धन कार्यक्रमहरु संचालन गरि सुखायु जीवन यापनको लागि योग एवम् आयुर्वेदीय जीवनशैली अनुशरण गर्न प्रेरित गरिनेछ ।
  • खानेपानी तथा सरसफार्इ
  •  नगरवासीहरुलाइ सुरक्षित खानेपानीको व्यवस्था गर्न विभिन्‍न सकारी र गैर सरकारी संघ संस्थाहरुको समन्वयमा पानीको गुणस्तर चेकजाँच गरि मुहान शुद्धिकरण गर्ने कार्यक्रम संचालन गरिनेछ ।
  • एक घर एक धारा अभियान संघ तथा प्रदेशको समन्वय र सहकार्यमा संचालन गर्ने नीति तथा कार्यक्रमलाइ निरन्तरता दिइनेछ ।
  • लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण
  • महिला, बालबालिका तथा जेष्ठ नागिरकका लागि सशक्तिकरणका कार्यक्रम संचालन गरिनेछ ।
  • सबै लक्षित वर्ग तथा समुदायका महिलाहरुलाई आय आर्जन गर्न सहज वातावरण निमार्णका लागि सीपमूलक तालिम प्रदान गरिनेछ ।
  • बालविवाह र त्यसले पुर्‍याउने जोखिमलाई न्यूनिकरण गर्नका लागि धर्मगुरुहरु, सरोकारवाला तथा बाल क्लबका सदस्य र किशोर किशोरी समूहका सदस्य बिच सबै वडाहरुमा अन्तरक्रिया, सडक नाटक र घरदैलो आदि सचेतना कार्यक्रम गराई बालविवाह न्यूनिकरण गरिनेछ ।
  • बालश्रम मुक्त नगरपालिका निर्माणका लागि बालश्रम हुने नगरभित्रका सबै ठाँउमा सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा सचेतना कार्यक्रम तथा नियमित अनुगमन बालश्रममा परेका बालबालिकालाई उद्धार पुर्नःस्थापना तथा घटना व्यवस्थापन मार्फत अल्पकालिन तथा दीर्घकालिन साहयता प्रदान गरिनेछ ।
  • सडक मावनको उद्दार र व्यवस्थापन गर्ने गराउने कार्य संचालन गरिनेछ ।
  • अनाथ बालवालिकाहरुको पालनपोषणको व्यवस्थापन गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
  • महिला, बालबालिका तथा किशोर किशोरी माथी हुने यौनजन्य हिंसा तथा अन्य अपराध न्यूनीकरणका लागि विभिन्न सचेतना अभियान सहितका कार्यक्रम सञ्चालन गरिनेछ ।
  • लैङ्गिक तथा घरेलु हिंसा नियन्त्रण र मानव बेचविखन विरुद्धका लागि विभिन्न अभियान सञ्चालन गरिनेछ ।
  • उपमेयरसंग महिला तथा किशोर किशोरी लक्षित शसक्तिकरण कार्यक्रम संचालन गरिने छ ।
  • अपाङ्गता भएका व्यक्तिहरुलाई जीविको पार्जनको लागि सिपमुलक तालिम प्रदान गरिनेछ ।
  • जेष्ठ नागरिकको उच्च सम्मान गर्दै प्रोत्साहन सहित उच्च मनोबल बढाउन विभिन्न सम्मान मूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्रीको वितरण गरिनेछ।
  • परम्परागत पेशा, सीप र व्यवसायलाइ प्रोत्साहित गरिनेछ । गरिवी न्यूनीकरण एवं समावेशी विकासबाट सामाजिक विभेद कम गर्दै लगिनेछ ।
  • सवै किसिमका सामाजिक विभेद र शोषणलाइ निरुत्साहित गरिनेछ ।
  • लैङ्गिक तथा घरेलु हिंसा, यौनशोषण, दुर्व्यवहार, बालविवाह लगायत जोखिममा परेका बालवालिका, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा यौनिक अल्पसंख्यकहरुलाइ प्रवर्धन सम्बन्धी विशेष कार्यक्रम संचालन गरिनेछ ।
  • सवै भूमिहीन सुकुम्बासी भुमिहीन दलित र अव्यवस्थित बसोवासीहरुको जग्गाको नापि गर्ने नक्सा श्रेस्ता तयार गर्ने र प्रमाण पत्र वितरण गर्ने कार्य संचालन गरिनेछ ।
  • शिवराज नगरपालिकाका स्थायी बासिन्दा भर्इ कोरोना महामारीका कारणले अभिभावक गुमाएका १८ वर्ष उमेर समुहसम्मका बालवालिकाहरुलाइ अध्यनन गर्न आवश्यक सहयोग स्वरुप छात्रवृत्ति प्रदान गरिने छ ।
  • सरकारी तथा गैर सरकारी संस्थाको सहयोगमा विद्यालयहरुमा यौनिक शिक्षा संवन्धी तालिम संचालन गरिनेछ ।
  • पूर्वाधार विकास
  • पूजिगत खर्चको गुणस्तर बढाउन माघ मसान्त भित्र सम्झौताः जेठ महिना भित्र भुक्तानी को नीति कडाइका साथ पालना गरिनेछ । विशेष गरी जटिल प्रकृतिका ठूला योजना तथा कार्यक्रमहरु लागत सहभागिता नजुट्ने प्रकृतिका योजना तथा कार्यक्रमहरु विधुतीय ठेक्का विधिबाट सम्पन्न गरिनेछ भने जनसहभागिता जुट्ने बढीमा १० लाखसम्मका सरल प्रकृतिका योजना तथा कार्यक्रमहरु उपभोक्ता समिती मार्फत संचालन गरिनेछ ।
  • सवै वडाहरुमा प्राविधिक कर्मचारीको व्यवस्था गरी वडा स्तरमै योजना सम्झौता गर्न सहजीकरण गरिनेछ । यसबाट सम्झौता गर्नलाइ नगरपालिका आउने झंझटबाट उपभोक्ताहरु मुक्त हुनेछन् ।
  • हालसम्म पनि मापदण्ड बमोजिम नक्सा पास नगराइ बनेका घरहरुको अभिलेख कार्य सम्पन्न गरि नयाँ बन्ने घरहरुको नक्सा पास गर्ने नीतिलाइ कडाइका साथ कार्यन्वयन गरिने छ ।
  • वैकल्पिक उर्जा तर्फ सौर्यबत्ति¸ सुधारिएको चुल्हो¸बायोग्याँस जडानलाइ निरन्तरता दिइनेछ ।
  • नगरपालिका भित्र संचालित विभिन्न एफ.एम रेडियो¸पत्रपत्रिका तथा कानून बमोजिम प्रकृया पुर्‍याइ दर्ता तथा नियमित नविकरण भएका अनलाइन मिडीयाहरुलाइ तथा संचालनमा प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ ।
  • संचारकर्मीहरुसंग विकास निर्माणसंग सम्बन्धित विषयमा अन्तरकृया कार्यक्रम गरिनेछ ।
  • दुर्गम स्थानमा रहेका बस्तीहरुमा यातायातको पहुँच बढाउन सडक, पुल एवम् झोलुङ्गे पुलका संजालहरु विस्तार गरिनेछ ।
  • खर/फूसको छाना विस्थापन गर्न सुरक्षित नागरीक आवास कार्यक्रम संचालन गर्न सहजीकरण एवम् समन्वय गरिनेछ ।
  • वातावरण तथा विपद् व्यवस्थापन
  • यस नगरमा हुने आगलागी, हुरी, चट्याङ्ग, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका घटनाहरुबाट प्रभावितहरुका लागि तत्कालिन रुपमा राहत उपलब्ध गराइने छ ।
  • आगलागीबाट हुने विपद्लाइ न्यूनिकरण गर्नको दमकल संचालन तथा व्यवस्थापन गरिनेछ ।
  • विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनालाई कोभिड १९ को वर्तमान अवस्थालाई ध्यानमा राखी अद्यावधिक गरिनेछ ।
  • विपद् पूर्व तयारीका क्षेत्रमा आवश्यक पूर्वाधारहरु विकास गर्न सम्बन्धित सबै सरोकारवालाहरुसँग सहकार्य गरिनेछ ।
  • विपद् पूर्व तयारीका सन्दर्भमा जनचेतना अभिवृद्घिका सन्दर्भमा सम्बन्धित सबै सरोकारवालाहरुको बीचमा बृहत साझेदारी निर्माण गर्दै विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • बिपत जोखिम र सरसफाइ सम्बन्धि अभिभावक सचेतना कार्यक्रम संचालन गरिनेछ
  • प्रकृतिक बिपत आगालागि, भुकम्प, हावाहुरी र बर्षातमा हुन सक्ने सम्भाबित जोखिम सम्बन्धमा समुदाय जागरणका कार्यक्रमहरु गरिनेछ ।
  • संस्थागत विकास¸ सेवा प्रवाह र सुशासन
  • राष्ट्र सेवक कर्मचारीलाई जिम्मेवार, कर्तव्यनिष्ठ र उत्तरदायी दण्ड पुरस्कारको उचित र प्रभावकारी व्यवस्था गरिनेछ ।
  • आगामी वर्ष सबै सरकारी कारोबार नगदरहित बनाइनेछ । व्यक्ति, संस्था र सबै किसिमका व्यवसायको भुक्तानी विद्युतिय माध्यमबाट गर्न सकिने व्यवस्था गरिनेछ ।
  • कार्यवोझका कारण कार्यालय समय अतिरिक्त काम गर्ने कर्मचारीलाइ प्रोत्साहित गरिनेछ ।
  • व्यक्तिका सम्पूर्ण घटना दर्ता अद्यावधिक गरिनेछ
  • नगरपालिकाको वृहत्तर विकासको गुरुयोजना तथा आवधिक योजना र मध्यकालीन खर्च संरचना तयार गरी लागु गरिनेछ ।
  • पालिकामा सेवा लिन आउने सेवाग्राहीहरुलाइ सहजताको लागि हेल्प डेक्स तथा टोल फ्री नम्बर संचालनमा ल्याइने छ ।
  • नगरपालिकामा कार्यरत अस्थायि तथा करार सेवाका कर्मचारीलाइ योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा आबद्ध गराइनेछ ।
  • कर्मचारी कल्याण तथा उपदान कोष लगायत अन्य कल्याणकारी कोषको व्यवस्था गरिनेछ ।
  • सूचना प्रविधि
  • यस पालिका, वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक तथा संस्थागत विद्यालयहरुमा इन्टरनेटको पहुँचका कार्यक्रमहरु संचालन गरिनेछ ।
  • वडास्तरबाट संचालन हुने राजश्‍वलाइ Internet Computer System बाट नगरपालिकाको केन्द्रिकृत प्रणालीमा आबद्ध गराइने छ ।
  • सामुदायिक सिकाइ केन्द्रहरुलाइ वाचानालयको रुपमा विकासित गर्दै E-Learning को वातावरण तयार गरिनेछ ।
  • नगरपालिकाले प्रवाह गर्ने हरेक सेवालाई चुस्त, दुरुस्त, पारदर्शी तथा प्रविधिमैत्री बनाउन आधुनिक सूचना प्रविधिको प्रयोगमा जोड दिइनेछ ।

 समाजिक सुरक्षा तथा पंजिकरण व्यवस्थापन

  • सामाजिक सुरक्षा तथा घटना दर्ता कार्यक्रमलाइ अद्यवधिक गर्दै लगिने छ ।
  • सामाजिक सुरक्षा भत्ता प्राप्‍त गर्ने लाभग्राहीहरुलाइ बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यलाइ निरन्तरता दिइने छ ।
  • व्यक्तिगत घटना दर्ता, नक्सा पास, राजस्व प्रशासन र जनतासँग सरोकार राख्ने विषयलाइ विद्युतिय प्रणाली मार्फत गरिनेछ ।
  • न्याय सम्पादनः
  • झगडा होइन मेलमिलाप गरौ भन्ने नीति सहित न्यायिक समितीलाइ थप शसक्त बनाइदै लगिनेछ । मेलमिलापकर्ताहरुको छनौट गरी वडा स्तरबाटै धेरै जस्तो मुद्दाहरुको स्थानीय न्याय सम्पादन प्रक्रियालाइ छिटो छरितो र थप व्यवस्थित बनाइनेछ ।
  • झिना-मसिना प्रकृतिका विवादहरुको कारण बढ्दो पारिवारिक तथा सामाजिक विखण्डनलाई क्रमशः नियन्त्रण गर्न त्यस्ता प्रकृतिका विवादको गाउँटोलमै समाधान गर्न हरेक वडामा आवश्यकता अनुसार मेलमिलाप केन्द्र स्थापना गरिनेछ ।
  • न्यायको पहुँचबाट टाढा रही निष्पक्ष न्याय पाइन्छ भन्ने कुराको आशा मारि वर्षौदेखि अन्यायपूर्ण प्रताडना सहन विवस महिला¸ बालबालिका लगायत सम्पुर्ण जनतालाई न्यायिक समिति मार्फत सहजै न्यायको पहुँचको सुनिश्चितताको प्रत्याभूत गरिनेछ ।
  • न्यायिक समितिमा प्राप्‍त उजुरी दर्ता तथा किनारा लागेका उजुरी फाइलहरुको सुरक्षित व्यवस्थापन गरी खोजेको बखत सहजै उपलब्ध हुने गरी व्यवस्थित अभिलेखिकरण तथा प्राथमिकताको आधारमा निरुपणको व्यवस्था मिलाइनेछ ।
  • सुचिकृत मेलमिलापकर्ताको सुचि अध्यावधिक गर्दै व्यवस्थित गर्ने एवं प्रत्येक मेलमिलाप केन्द्रमा सुचिकृत मेलमिलाप कर्ताको सुचि देखिने गरी राख्ने तथा मेलमिलाप सम्वन्धि ऐन¸ २०६८ ले गरेका व्यवस्थाहरुको पालना गर्ने तर्फ आवश्यक व्यवस्था गरिनेछ ।
  • मेलमिलाप कार्यलाई थप सफलिभुत पार्न सुचिकृत मेलमिलाप कर्ताको पुनर्ताजगि तथा योग्यता पुगेका इच्छुक ब्यक्तिलाई आवश्यक तालिमको व्यवस्था गरिनेछ ।
  • न्यायिक निरुपणलाई सरल¸ शिघ्र तथा अत्यन्तै कम शुल्कमा प्रदान गर्नको लागि आम जनतालाई न्युनतम कानूनी एवं कार्यविधिगत ज्ञानको लागि न्यायिक साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ ।
  • न्यायिक समिती तथा अन्य जनप्रतिनिधीहरुलाइ विभिन्न जिल्लाहरुमा स्थापित न्यायिक इजलास र न्यायिक प्रकृयाको अध्ययन अवलोकन गराइनेछ ।
  • नगरबासीको न्यायिक पहुँच युक्त तथा दण्डहिनता मुक्त¸ शान्तिपुर्ण¸ सु-संस्कृत नगरको रुपमा विकास गर्न सम्वन्द्ध सरोकारवाला पक्षसँग हातेमालो गर्दै लक्षित उद्देश्य हासिल तर्फ विशेष जोड दिइनेछ ।

अन्त्यमा¸ कोभिड-१९ को संक्रमणको कारण बजेट नीति तथा कार्यक्रम तयार गर्न व्यापक छलफल गर्न नसकिए तापनि उपलब्ध राय सल्लाह र सुझाव बमोजिम यो नीति तथा कार्यक्रम तयार गरिएको छ । आजका दिनसम्म सहयोग पुर्‍याउने सम्पूर्ण राजनीतिक दल¸ नागरिक समाज¸ उद्योगी व्यवसायी¸ आम पत्रकार जगत¸ विभिन्न संघ संस्था¸ कृषक¸ मजदुर लगायत सम्पूर्ण शिवराज नगरवासीहरु¸ विभिन्न समितीका पदाधिकारीज्यूहरु¸ नगरसभा तथा कार्यपालिकाका सम्पूर्ण सदस्यहज्यूहरु, अहोरात्र नगरपालिकाको सम्वृद्धिको लागि खट्नु भएका आम राष्ट्रसेवक कर्मचारीहरु प्रती आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु ।

जय शिवराज !

मितिः २०७८ आषाढ १०

नेत्रराज अधिकारी

नगर प्रमुख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma