Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

लुम्बिनीकाे ग्रामीण तथा सहरी विकास मन्त्रालयले स्थायी राजधानीबाट काम सुरु गर्‍याे

दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यकामा प्रदेश मन्त्रालयको काम सुरु भएको छ । ग्रामीण तथा सहरी विकास मन्त्रालय राप्ती उपत्यकाको लालमटियामा सरेर कामकाज सुरु गरेसँगै अन्य मन्त्रालय पनि अस्थायी मुकामबाट स्थायी राजधानी सर्ने तयारी भइरहेको छ ।

लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालय परिसरभित्रका खाली भवनमा मन्त्रालयका लागि आवश्यक संरचना निर्माण हुन थालेका छन् । त्यही परिसरभित्र झन्डै पाँच करोड रुपियाँको लागतमा प्रदेश सभा भवन पनि निर्माण भइरहेको छ ।

राजधानी व्यवस्थापनको जिम्मा पाएको ग्रामीण तथा सहरी विकास मन्त्रालयले औपचारिक कार्यक्रमका बीच राप्ती उपत्यकाबाट कार्य सञ्चालन सुरु गरेको छ । मन्त्रालयको कार्य सञ्चालन शुभारम्भ कार्यक्रमलाई टेलिफोनबाट सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले राजधानी व्यवस्थित बनाउन ग्रामीण तथा सहरी विकास मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेश पूर्वाधार विकास प्राधिकरणले योजनाबद्ध ढङ्गले काम गरिरहेको भन्दै प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएसँगै मन्त्रालयहरू स्थायी राजधानी सर्ने बताउनुभयो ।

मौसम प्रतिकूलताका कारण भौतिक रूपमा उपस्थित हुन नसकेपछि मुख्यमन्त्री पोखरेलले टेलिफाेनमार्फत कार्यक्रमलाई सम्बाेधन गर्नुभएको हो । 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले राजधानी कार्यान्वयन र व्यवस्थापन गर्ने काम मन्त्रालय सरेपछि अझै प्रभावकारी हुने बताउनुभयो । राजधानी तोकेका अन्य प्रदेशभन्दा लुम्बिनी प्रदेश राजधानी कार्यान्वयनमा अगाडि रहेको बताउनुभयाे । 

प्रदेश सभाको बैठकबाट राजधानी र नाम टुङ्गो लागेको नौ महिनापछि स्थायी राजधानीमा मन्त्रालय स्थापना गरेर कामकाज सुरु गरिनु ऐतिहासिक भएको ग्रामीण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालले बताउनुभयो । 

ग्रामीण तथा सहरी विकास मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानेले मन्त्रालयको मुख्य जिम्मेवारी खानेपानी तथा सरसफाइ स्वच्छता, भवन आवास तथा सहरीकरण र पर्यटन प्रवर्द्धन तथा विकास रहेको बताउनुभयो । 

सङ्घीय सरकारले लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालयलाई गढवा सार्ने निर्णय गरेर यस क्षेत्र प्रदेश सरकार मातहत ल्याएपछि मन्त्रालय र प्रदेश सभाका लागि संरचना निर्माणको कार्य सुरु भएको हो ।
मन्त्रालय स्थायी राजधानी सरेपछि आउँदाे एक वर्षभित्र सबै मन्त्रालय राप्ती उपत्यकामा स्थानान्तरण हुने गरी काम गर्ने ग्रामीण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालकाे भनाइ छ । 

मन्त्री रिजालले लुम्बिनी प्रदेशमा अहिले ९७ प्रतिशत नागरिककाे घरमा खानेपानीको पहुँच पुगेको बताउनुभयो । आउँदाे एक वर्षभित्र प्रदेशका सबै नागरिकको घरमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ मन्त्रालयले काम गर्ने उहाँले बताउनुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma