Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

विप्लवका दाजु विरजंगको दाहसंस्कार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्र विक्रम चन्द विरजंगको आज चिराई घाटमा दाहसस्कार गरिएको छ । लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका विरजंगको भारतको दिल्ली स्थित म्याक्सीस अस्पतालमा शुक्रवार बिहान निधन भएको थियो ।
निधन पश्चात् उनको शरिरलाई कपिलवस्तुको शिवगढी ल्याई शनिवार श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । कपिलवस्तु शिवगढी स्थित घरमा नेकपा महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरूसहित पार्टीका नेता–कार्यकर्ता र अन्य राजनीतिक दलका नेता कार्यकर्ता जनसमुदायले फुल माला लगाई श्रद्धाञ्जली व्यक्त गरेका थिए । श्रद्धाञ्जली अर्पण गर्न पुगेका पूर्व मन्त्री चक्रपाणि खनाल बलदेव क्रान्तिकारी,इमानदार छवि भएका नेतालाई गुमाउँदा राष्ट्रलाई ठुलो क्षति भएको बताउनुभयो । विरजंग नेकपाका महासचिव नेत्र विक्रम चन्दका सहोदर जेठा दाजु हुन् ।
जनयुद्ध कालमा तत्कालीन नेकपा माओवादीको पर्वत र बागलुङको इन्चार्जको जिम्मेवारी निर्वाह गरेका विरजंग पछिल्लो समय विप्लवले नेतृत्व गरेको नेकपाका केन्द्रीय सदस्य थिए । केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका विरजंग कारागारमा रहदा समेत पटक–पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए । कपिलवस्तुको शिवगढीका स्थायी बासिन्दा ६१ वर्षीय विरजंगका दुई छोरा र एक श्रीमती छन् । उनको आजै अन्त्यष्टि गरिने पारिवारीक स्रोतले जनाएको छ ।
को हुन विरजंग ?
२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतीत भएको छ ।नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ । विगत १० बर्षीय जनयुद्धमा ग्रामीण वर्ग सङ्घर्ष उठाउन महत्त्वपूर्ण भूमिका खेलेका नेता वीरजङ्गले पञ्चायती निरङ्कुशता र नेपालको सामान्ती राजतन्त्रका विरुद्धको सङ्घर्षमा नेतृत्वदायी भूमिका खेलेका थिए ।
विप्लवले वैद्यसँग पार्टी फुटाएर नेकपा गठन गरेपछि सरकारले लगाएको प्रतिबन्धको समयमा लामो समयसम्म हिरासत र जेल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले ग्रसति बनाएको थियो । दुई पटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा प्रहरी हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमण समेत भएको थियो । भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत उनको शुक्रवार राती अस्पतालमै निधन भएको हो । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma