Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

स्थगित भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान

भैरहवा – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार हुने भनिएको परीक्षण उडान स्थगित भएको छ । निर्माण सम्पन्न हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ वर्षको पहिलो दिन परीक्षण उडान हुने बताइएको थियो । तर बिहीबारको उडान स्थगित गरिएको विमानस्थल प्रशासनले जनाएको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैशाख १ गते परीक्षण उडान गर्ने पर्यटनमन्त्री प्रेम आलेले केही समय अगाडि विमानस्थल निरीक्षणका क्रममा भन्नुभएको थियो । यसअघि फागुनको दोस्रो साता एरोथाईले क्यालिब्रेसन फ्लाइट गरेको समयमा आउनुभएका मन्त्री आलेले यस्तो निर्देशन दिनुभएको थियो ।

मन्त्री आलेले जेठ २ गते बुद्ध पूर्णिमामा जसरी पनि व्यवसायिक रुपमा उडान सुरु गर्ने र त्यो भन्दा अगाडि सके अझै राम्रो हुने बताउनुभएको थियो । तर उहाँले प्रस्ताव गरेको समयमा परीक्षण उडान भएन । मन्त्री आलेसँगै विमानस्थल आयोजनाले पनि वैशाख १ गते अन्तर्राष्ट्रिय विमानबाट परीक्षण उडान गर्ने बताउँदै आएको थियो । तर उक्त उडान स्थगित गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

यता, नेपाल नागरिक उड्ययन प्राधिकरणले भने वैशाख १ गतेको परीक्षण उडानबारे जानकारी नभएको जनाएको छ । बिहीबार गर्ने भनिएको उडानका विषयमै नागरिक उड्यडन प्राधिकरण, विमानस्थल कार्यालय र वायुसेवा निगमका बीचमा समन्वय हुन नसक्दा परीक्षण उडान पछाडि धकेलिएको हो ।

प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले वैशाख १ गते नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान गर्ने भन्ने यसअघि जानकारीमा आएको भए पनि अहिले किन स्थगित गरियो ? भन्ने प्राधिकरणलाई जानकारी नभएको बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाईट) गरिएको थियो ।

यो विमानस्थलबाट उडान भर्न सरकारले हवाई कम्पनीहरुलाई औपचारिक आग्रह गरिसकेको छ । विमानस्थलमा व्यवसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीहरुले चासो देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma