Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

अन्धोपन न्यूनीकरण गर्नको लागि जनप्रतिनिधिहरूको प्रतिबद्धता

चन्द्रौटा कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकाका जनप्रतिनिधिहरूले नगरमा रहेका अन्धोपनका बिरामीहरूको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल नेत्र ज्योति सङ्घ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत सञ्चालित छन्द(काले बाबु) नारायणी आँखा अस्पताल,बहादुरगंले आयोजना गरेको आँखा स्वास्थ्य शिक्षा कार्यक्रममा नगरमा अन्धोपनका बिरामीको अवस्थाको बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले छन्द(काले बाबु) नारायणी आँखा अस्पतालले आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट कार्य गरेको बताउँदै अब हामी मेडिकल टुरिज्मतिर पनि अगाडि बढ्नुपर्नेमा जोड दिनु भयो । उहाँले नेपालका आँखा अस्पतालहरूले गुणस्तरीय आँखा सेवा प्रवाह गरेकै कारण नेपाली नागरिकहरूका साथै भारतीय नागरिकहरूको समेत आकर्षण रहेकोमा खुसी व्यक्त गर्नु भयो ।


त्यस्तै शिवराज नगरपालिकाका मेयर अजय थापाले कार्यक्रममा प्रस्तुत भएको शिवराज नगरपालिकाभित्रका आँखाका बिरामीहरूको तथ्याङ्कले आफूलाई गम्भीर बनाएको बताउनु भयो । उहाँले आगामी दिनहरूमा आँखा अस्पतालसँग सहकार्य गरेर शिवराज नगरपालिकाभित्रको अन्धोपन न्यूनीकरण गर्नको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । त्यसै गरी कार्यक्रमका अर्का विशिष्ट अतिथि तथा शिवराज नगरपालिकाका उपमेयर शिवकुमारी चौधरीले यस आँखा अस्पतालसँग विगतका दिनहरूदेखि नै सहकार्य हुँदै आएको र आगमी दिनहरूमा पनि आँखा जस्तो संवेदनशील अंगको बचाउको लागि शिवराज नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।
गढवा गाउँपालिकाका उपाध्यक्ष तथा छन्द(काले बाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजका प्रशासनिक समितिका संयोजक शारदा चौधरीले आफूले २०६६ सालमा लमही नगर विकास समितिको अध्यक्ष रहँदा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत सञ्चालित ३ वटा आँखा अस्पतालहरू मध्ये लमही आँखा अस्पताललाई २५ कट्टा जग्गा दिलाउनमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै छन्द(काले बाबु) नारायणी आँखा अस्पतालको लागि पनि प्रदेश तथा सङ्घीय बजेट व्यवस्थापनको लागि आफूले काम गर्ने बताउनु भयो ।
छन्द(काले बाबु) नारायणी आँखा अस्पतालको “आँखा स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिहरूको भूमिका” विषयक छलफल कार्यक्रममा शिवराज नगरपालिका मेयर,उपमेयर र ११ वटै वडाका जनप्रतिनिधि र अन्य सहभागीहरू समेत गरी ७६ जनाको सहभागिता रहेको थियो । छलफल कार्यक्रममा नेपाल नेत्र ज्योति सङ्घ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका प्रमुख प्रशासक शम्सेर थापाले नेपाल नेत्र ज्योति सङ्घ र दातृ निकायको बारेमा सहभागीहरूलाई जानकारी गराउनु भएको थियो ।
साथै उहाँले आँखा स्वास्थ्य सेवा,दृष्टिविहीनताको अवस्था,स्वास्थ्यको हक र राष्टि?य स्वास्थ्य नीतिको बारेमा समेत प्रकाश पार्नु भएको थियो । सो क्रममा प्रमुख प्रशासक थापाले लुम्बिनी प्रदेशमा १ लाख ९५ हजार १ सय २० जना मा दृष्टिविहीनतको समस्या रहेको र १ लाख १२ हजार ९ सय ६४ जना मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने आँखा रहेको तथ्याङ्क प्रस्तुत गर्नु भयो । त्यस्तै उहाँले शिवराज नगरपालिकाभित्र मात्रै अझै १ हजार ६ सय ७९ वटा आँखाहरू मोतीबिन्दुको अप्रशेनको पर्खाइमा रहेको समेत बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma