काठमाडौँ– नेपालमा यस वर्षको अक्टोबर २ तारिखसम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो । तथापी, पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ । अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए । जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन शुरु भएको थियो ।
हाल नेपालमा मध्य-पश्चिम बङ्गालको खाडी र आसपासमा न्यून चापीय क्षेत्रको असर रहेकाले मनसुन केहीदिन लम्बिएको मौसमविद् पौडेलले बताए । उनले भने, ‘मनसुन आगामी शनिबार र आइतबारदेखि बाहिरिने देखिन्छ । यो वर्ष मनसुन बाहिरिने क्रममा बङ्गालको खाडीबाट आएको न्यून चापीय क्षेत्रको असरले लम्बिएको हो ।’
महाशाखाको पछिल्लो तीन घण्टाको विवरणमा डडेलधुरामा १३ मिलिमिटर, बैतडीमा १८ मिलिमिटर, बर्दियामा १४ मिलिमिटर वर्षा मापन गरिएको छ । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ ।
प्रतिक्रिया