Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

शिवराजमा निशुल्क शिक्षा: अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने

दिपक के.सी.
कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकाले शैक्षिक सत्र २०८० बाट माध्यमिक तह कक्षा १२ सम्म निशुल्क तथा अनिर्वाय शिक्षा लागु गर्दै छ । विद्यालय जाने उमेर समूहका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गराउने र विद्यालयले कुनै पनि बहाना विद्यार्थीबाट शुल्क लिन नपाउने गरी निशुल्क शिक्षा लागु गर्ने तयारीमा नगरपालिका जोडतोडले लागेको छ ।
सामुदायिक विद्यालयमा निशुल्क तथा अनिवार्य शिक्षाका लागी नगर कार्यपालिकाले कार्य विधि समेत पास गरिसकेको शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले बताउनु भयो । आफुले पदभार ग्रहण संगै पहिलो प्राथमिकतामा राखेको निशुल्क शिक्षा लागु गर्ने तयारी अन्तिम चरणमा पुगेको समेत मेयर थापाले बताउनु भयो । नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा नयाँ शैक्षिक सत्रबाट कुनै पनि बहानामा शुल्क लिन नपाउने गरी निशुल्क शिक्षा लागु गर्न लागेको उहाँले बताउनु भयो । यसका लागि नगरपालिकाको शिक्षा शाखाले गृहकार्य गरिरहेको समेत उहाँले बताउनु भयो ।
निशुल्क शिक्षा संगै नगरपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने कार्यविधी बनाएको छ । सार्वजनिक पद धारण गरेका व्यक्ति , नेपाल सरकारको तलब खाने कर्मचारीहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने वाध्यकारी ऐन पास भएको शिक्षा शाखा प्रमुख पूर्ण विश्वकर्माले बताउनु भयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकास गर्नका लागी सार्वजनिक पदमा रहेका व्यक्तिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गराउदाँ उनीहरुको विद्यालय प्रति चासो र चिन्ता बढ्ने हुदाँ शैक्षिक गुणस्तरमा वृद्धि हुने उहाँले बताउनु भयो । “कार्यपालिकाबाट नै पास भइसकेको छ,हाम्रा जनप्रतिनिधी आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन सकारात्मक छन, सुरुमा केहि अप्ठ्यारो भए पनि नियम कडाइका साथ लागु हुन्छ” शिक्षा शाखा प्रमुख विश्वकर्माले भन्नु भयो । अनिवार्य शिक्षा अन्तर्गत विद्यालय उमेर समुहका आफ्ना बालबालिकालाई विद्यालय नठाए नगरबाट उपलब्ध हुने सम्पूर्ण सेवा सुविधा रोकिने उहाँले बताउनु भयो ।
निशुल्क शिक्षा संगै नगरपालिकाले नगरका केहि विद्यालयहरु समायोजन गर्ने तयारी समेत गरेको छ । तह गत रुपमा विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई तह घटाएर समायोजन गर्न लागेको हो । एउटा कक्षामा कम्तीमा पनि ४५ जना विद्यार्थी संख्या हुनु पर्ने प्रावधान बनाएर विद्यालय संमायोजन गर्न लागेको हो । यसका लागि नगरपालिकाले विद्यालयहरुको अनुगमन संमायोजन(तह घटाउनु) पर्ने विद्यालयहरुको डाटा समेत संकलन गरिसकेको शिक्षा शाखा प्रमुख पूर्ण विश्वकर्माले बताउनु् भयो । नगरपालिकाले निशुल्क शिक्षाका लागी आन्तरिक स्रोतबाट करिब ६ करोड खर्च हुने अनुमान गरेको छ । विद्यालय समायोजन संगै आवश्यकता अनुसार नयाँ शिक्षकहरु भर्ना गरिने विश्वकर्माले बताउनु भयो ।
(तस्बिर ः शिवराज नगरपालिकाको कार्यालय)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma