Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

राष्ट्रपति उम्मेदवार : कांग्रेसबाट पौडेल निश्चित, एमालेको टुङ्गो लाग्न बाँकी

काठमाण्डाै – राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्न दलहरु आन्तरिक छलफलमा जुट्दैछन् । आठ दलबीच हिजो भएको सहमतिअनुसार कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निश्चितजस्तै भएको छ । राष्ट्रपतिमा अर्का नेता कृष्णप्रसाद सिटौला आकाङ्क्षी रहे पनि पौडेलकै नाममा निर्णय हुने कांग्रेस नेताहरुले बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको उम्मेदवार छान्न आज बिहान साढे आठ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ ।  राष्ट्रपतिमा पौडेल र सिटौलासँगै गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्माको नाम पनि चर्चामा छ । तर, सभापति देउवाले यसअघि नै वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन वचन दिइसक्नुभएको छ।

यस्तै राष्ट्रपतिको उम्मेदवार चयन गर्न एमालेको सचिवालय बैठक पनि बस्दैछ । एमालेबाट राष्ट्रपतिको उम्मेदवार को हुन्छ भन्ने टुङ्गो लागिसकेको छैन । यसअघि ईश्वर पोखरेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुको नाम चर्चामा थियो । पछि पूर्व सहमतिअनुसार प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई समर्थन नगर्ने भएपछि अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गर्नुभएको थियो । तर हिजो एकीकृत समाजवादीलेसमेत कांग्रेसलाई समर्थन गर्ने गरी नयाँ सहमति बनेपछि राजनीतिले नयाँ मोड लिएको छ ।

माओवादीसँगको गठबन्धन टुटेपछिको अवस्थामा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एमालेभित्र अन्योल छ । यसैबीच सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिको चुनावमा प्रस्ताव र समर्थक नबस्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma