काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको भारतको राजधानी नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार सुरु भएको छ । राष्ट्रपति पौडेललाई एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु गरिएको हो ।
राष्ट्रपति पौडेललाई बुधबार (आज) बिहान नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गरेलगत्तै भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख अनुराग श्रीवास्तवले रिसिभ गर्नुभएको थियो । उहाँलाई उच्च सुरक्षासहित एम्स पुर्याइएको थियो ।
राष्ट्रपति पौडेलका छोरा चिन्तन पौडेलका अनुसार उहाँको उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा।डा। अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहेको छ । उहाँका अनुसार चिकित्सकहरूले राष्ट्रपतिको नेपालमा गरिएका लगभग सबै परीक्षणहरु पुनः दोहोर्याउनुका साथै केही थप परीक्षण पनि गरिने जानकारी दिनुभएको छ ।
स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार बिहान भारत लगिएको हो । राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको विमानलाई एयर एम्बुलेन्समा परिणत गरी नयाँदिल्ली लगिएको हो ।
छातीमा संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार निगरानीमा रहेका राष्ट्रपति पौडेल सोमबार नियमित फलोअपमा अस्पताल जानुभएको थियो । उपचारमा संलग्न एक चिकित्सकका अनुसार त्यही दिन छातीमा जमेको पानी निकालेर परीक्षण गरिएको थियो । प्रारम्भिक परीक्षणमा संक्रमणबाहेक अन्य अवस्था सामान्य देखिएको ती चिकित्सकले बताएका थिए । मंगलबार भने राष्ट्रपतिलाई रिंगटा लागेर बेहोस जस्तै भएपछि पुनः अस्पताल भर्ना गरेर चिकित्सकको निगरानीमा राखिएको थियो ।
उहाँलाई देखिएको संक्रमणको समस्या लामो समयसम्म एन्टिबायोटिक्स सेवन गर्दा पनि निको नभएर थप जटिल बन्दै गएपछि परिवार र चिकित्सकहरुको सल्लाहमा भारत लैजाने निर्णय भएको थियो ।


प्रतिक्रिया