Developed By Kuldeep Sharma

१० महिना अगाडि

लुम्बिनीको बजेटमा सत्तापक्षकै सांसद असन्तुष्ट, प्रदेशसभा बैठक बुधबार बस्ने

लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न आइतबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने तयारी थियो । तर असार १ गते अर्थमन्त्री धनबहादुर मास्कीले पेश गरेको बजेटलाई लिएर सत्तापक्षकै सांसदहरूले विरोध गरेपछि प्रदेशसभा बैठक बुधबारका लागि सारिएको छ । बजेटमा आफ्ना योजनाहरु नसमेटिएको भन्दै कांग्रेसका प्रदेशसभा सदस्यहरुले असन्तुष्टि जनाएका छन् । मुख्यमन्त्री डिल्ली चौधरी र अर्थ मन्त्री मास्कीले एकलौटी बजेट ल्याएको आरोप उनीहरुको छ । दुवैले आफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट लगेको सत्तारुढ दलकै सांसदहरु दाबी गर्छन् ।

कांग्रेसकी प्रदेशसभा सदस्य जमुना ढकालले आफूहरुले टिपाएका योजनाहरु काटिएकाले विरोध गरेको बताइन् । भूगोल र जनसंख्याका आधारमा समान बजेट हुनुपर्नेमा मुख्यमन्त्री र अर्थमन्त्री केन्द्रित बजेट आएको प्रदेशसभा सदस्यहरुको आरोप छ । मुख्यमन्त्री चौधरीले ‘मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम’मा एक अर्ब राखेर बजेटमा एकाधिकार लगाएको पनि प्रदेशसभा सदस्यहरुले बताएका छन् । नेकपा माओवादी केन्द्रकी सांसद दिलकुमारी बुढाले सांसदको निर्वाचन क्षेत्र कोष अन्तर्गतका योजनाहरु काटिएको भन्दै असन्तुष्टि जनाएकी छन् । उनले यसलाई सच्याएर बजेट नल्याए पास हुन नदिने बताइन् ।

स्थानीय तहमा पठाइएको सशर्त अनुदानको बजेटमा पनि प्रदेशसभा सदस्यहरुले प्रश्न उठाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले वजेट पूर्णरुपमा असन्तुलित भएको बताए । भौगोलिक क्षेत्र, जनसंख्या, क्रमागत र वहुवर्षीय योजनाहरुलाई मध्यनजर गरेर बजेट विनियोजन हुनुपर्नेमा असमान वितरण भएको चौधरीले बताए । दाङ, बाँके र बर्दिया तीन जिल्लालाई झण्डै आधा र बाँकी ९ जिल्लालाई आधा बजेट छुट्टाइएको भन्दै उनले यथास्थितिमा बजेट पारित हुन नसक्ने दाबी गरे ।

प्रदेश सरकार आफैंले लगानी गरेर सुरु गरेका आयोजनालाई समेत बजेट विनियोजन नभएको, वहुवर्षीय आयोजनाहरुलाई झिनो रकममात्र छुट्याएर आयोजनाहरु वर्षौंसम्म अलपत्र पार्ने गरी बजेट आएको चौधरीको आरोप छ । प्रदेशको स्थायी राजधानी दाङ बनाउने निर्णय हुँदा रुपन्देहीलाई आर्थिक केन्द्र र कपिलवस्तुलाई सांस्कृतिक केन्द्र बनाउने घोषणा भएपनि यी दुबै विषयमा कुनै योजना, कार्यक्रम र वजेटले सम्बोधन नै नगरेको चौधरीले बताए ।

६ अर्ब लागतमा बन्ने प्रदेशको गौरवको आयोजना १२ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणलाई बजेट नै विनियोजन नगरिएको चौधरीले बताए । बजेटको विषयमा नेकपा एमालेले प्रदेश सभा बैठकमा सशक्त विरोध गर्ने चौधरीले बताए । सत्तापक्षमै असन्तुष्टि भएपछि आइतबार (असार १०) गते बस्ने भनिएको प्रदेश सभा बैठक १३ गते सारिएको चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma