२०७९ बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनबाट निर्वाचित शिवराज नगरपालिकाका मेयर अजय थापाको कार्यकालको ३ बर्ष पुरा भएको छ । ठूला राजनितिक दल संगको कडा प्रतिस्पर्धामा राष्ट्रिय प्रजातन्त्र पार्टिबाट निर्वाचनमा होमिएका थापालाई जित निकाल्नु नै पहिलो चुनौति थियो । ठूला राजनितिकदलहरुको तामझाम सहितको चुनाव प्रचार प्रसारमा सामान्य र साधारण तरिकाको प्रचार प्रसार गरेका थापाले चुनाव जित्लान र नगरको मेयर बन्लान भन्ने सायदै कसैले सोचेका थिए । निर्वाचनमा ७ हजार ६ सय २ मत सहित उनी विजयी भए । जनताको मन जित्ने हो भने तामझाम र टन्न पैसा खर्च नगरेरै चुवान जित्न सकिन्छ भन्ने उनी उदाहरण पनि हुन ।
राप्रपाबाट एकल विजेता बनेका मेयर थापालाई नगर कार्यपालिकामा बहुमत भएका एमाले,काँग्रेस र माओवादि पार्टिबाट विजयी उप प्रमुख, वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरु संग रहेर कार्यपालिका बैठक संचालन गर्नु पर्ने थियो । कार्यपालिकाको पहिलो बैठकमा नै मेयर थापाले निशुल्क शिक्षाको प्रस्ताव राख्ने कार्यपालिकाबाट पास गराउने भन्ने तयारीमा थिए । तर कार्यपालिका बैठक भने बस्न सकिरहेको थिएन । एक त युवा अनि पार्टिबाट एक्लै जितेर आएका कार्यपालिका बैठकमा ठूला दलहरुबाट निर्वाचित भएका उपप्रमुख वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु । नगरबासीको ध्यान मेयर थापाको पहिलो कार्यपालिका बैठक र निशुल्क शिक्षा प्रस्ताव के कसरी अगाडी बढ्छ भन्ने थियो ।
कार्यपालिका बैठकमा अल्पमतमा रहेका थापाले कार्यपालिका बैठक नै प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने निर्णय गरि बैठक लाइभ गराए । नगरबासीका लागि बन्ने निति नियम नागरिकले थाहा पाउनु पर्छ भन्ने मान्यता सहित बैठक लाइभ भयो । नगरबासीले पहिलो पटक कार्यपालिका बैठकमा के के हुन्छ भन्ने प्रत्यक्ष हेर्न र सुन्न पाए ।
पहिलो बर्ष नयाँ अनुभव, युवा जोसका साथ थापाले विभिन्न योजनाहरु अगाडी बढाए । ग्रासरुटबाट आएका थापाले समुदायका तल्लो स्तरका नागरिकको उन्वयनमा बढि चासो दिए । सबै बर्गका नागरिकको विकासका लागी प्रथमतः नागरिक शिक्षित हुनु पर्छ र सबैले निशुल्क पढ्न पाउनु पर्छ भन्ने सोचलाई सार्थकता दिदै नगरपालिकामा सामुदायिक विद्यालयहरुमा निशुल्क शिक्षा लागु भयो । सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर वृद्धि गराउन जनप्रतिनिधी र सरकारी सेवासुविधा लिने कर्मचारहरुले अनिवार्य आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नु पर्ने निति ल्याए कार्यान्वयन पनि भयो । मेयर थापाले स्वयम आफ्नी छोरीलाई निजि विद्यालयबाट सामुदायिक विद्यालयमा सारी भर्ना गराएर यो अभियान सुरु गरे जसले मेयरका देशभर चर्चा भयो ।
निशुल्क शिक्षा पछि मेयर थापाले नागरिकको स्वास्थ्यका लागी आधारभूत अस्पताललाई व्यवस्थित बनाउन लागे । नगरपालिकामा दुई एम्बुलेन्स संचालनमा थिए । थापाकाको पहलमा अरु २ एम्बुलेन्स संचालनमा आयो । गर्भावती तथा सुत्केरी हुने महिलाहरुका लागि निशुल्क एम्बुलेन्स सेवा संचलानमा आयो । आधारभुत स्वास्थ्य अस्पतालमा रेबिज विरद्धको खोप, शव परिक्षण गृह, शव राख्ने फ्रिज, शव गृह संचालन भए । आधारभूत अस्पतालमा बर्थिंग सेन्टर, सर्पदशंका विरामीलाई निशुल्क एम्बुलेन्स र उपचार, डाइलासिस गर्नु पर्ने विरामीका लागी निशुल्क एम्बुलेन्स, जेष्ठ नागरिकहरुका घरमा नै पुगेर स्वास्थ्य जाँच, वडाहरुमा क्रमश मासिक एमविविएस डाक्टरहरुबाट निशुल्क स्वास्थ्य जाँच,निशुल्क आखा शिविर जस्ता कार्यक्रमहरु संचालनमा ल्याए अहिले निरन्तर चलिरहेका पनि छन ।
नगरका युवा र महिलाहरुलाई स्वरोजगार बनाउन विभिन्न सिपमुलक तालिम संचालन गरि स्वरोजगार व्यवसायिक बनाउन विभिन्न कार्यक्रमहरु पालिकामा संचालनमा रहेका छन । थापा कै पहलमा नगर भित्र संचालनमा रहेका उद्योगहरुमा अनिर्वाय नगरका श्रमिकहरुलाई कामदिनु पर्ने नियम लागु भयो । उद्योगहरुमा काम गर्न जाने श्रमिकहरुलाई पालिकाले यातायात शुल्कमा ७० प्रतिशत छुट दिनु पर्ने निति ल्याए । सिपसिकेर केहि व्यवसाय गर्छु भन्ने युवाहरुका लागी स्टार्ट अप उद्यम कर्जा दिने कार्यक्रम ल्याए । स्नातक तह अध्ययनको लागि छात्रवृती,पढदै कमाउदै लगायतका कार्यक्रम प्रभाकारी बनेका छन् ।
काम गर्दै जादाँ सबै जनप्रतिनिधीहरुको साथ र सहयोग पाएर काम गर्न सहज भएको मेयर थापाले बताए । नगरको आफ्नै भवन बनाउन पालिका संग जग्गा नभएको र पुरानो भवन बनाउन विभिन्न बाधा अड्चन भएकोले भाडाको भवनबाट सरेर पालिकाको सभाहलबाट प्रशासनिक काम भइरहेको छ । १५ सैयाको अस्पतालका लागी जग्गा प्राप्त भए पनि बजेट सुनिश्चित नहुदाँ निर्माण काम अगाडी बढेको छैन । समग्रमा कार्यपालिकामा बैठकमा अल्पमतमा रहेपनि नगर उप प्रमुख, वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत,शाखा प्रमुखहरु,कार्यपालिका सदस्यहरु कर्मचारीहरु नगरका विभिन्न राजनितिक दल, बुद्धिजिवी,संचारकर्मि, संघसंस्था आम नागरिकहरुको सल्लाह सुझाव सहित समस्त नगरको विकासको लागी काम गर्दै जादाँ केहि चुनौति संगै सहजता भएको छ । नगर विकास समुन्नत र समृद्ध नगर निर्माणका लागी आफू अहोरात्र खट्ने प्रतिबद्धता सहित काम गर्दै आइरहेको मेयर थापाले बताए ।
(रेडियो शिवराजको कार्यक्रम शिवराज संवादका लागि मेयर थापा सँग गरिएको कुराकानीका आधारमा )
प्रतिक्रिया