कपिलवस्तु जिल्ला — आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर ३ का उम्मेदवार अभिषेक प्रताप शाहले आफ्नो कार्यकाल तथा त्यसपछिका गतिविधिहरूको विस्तृत विवरण सार्वजनिक गर्नुभएको छ।
२०७९ सालको निर्वाचनमा पराजित भए पनि आफू जनताबाट टाढा नभई निरन्तर गाउँ–गाउँमा पुगेर काम गरिरहेको शाहले दाबी गर्नुभयो। उहाँले दीर्घकालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले होल्डिङ्ग सेन्टर निर्माणका लागि व्यक्तिगत जग्गासमेत हस्तान्तरण गरिएको जानकारी दिनुभयो। स्थानीयस्तरमा आवश्यक पूर्वाधारको अभावलाई ध्यानमा राख्दै उक्त पहल गरिएको उहाँको भनाइ छ।
त्यसैगरी, क्षेत्रकै प्रमुख सार्वजनिक स्थल महेन्द्र पार्कको जीर्णोद्धारका लागि विभिन्न सरकारी तथा सरोकारवाला निकायसँग समन्वय गरी योजना अघि बढाइएको र हाल निर्माण कार्य जारी रहेको शाहले बताउनुभयो। पार्क पुनर्निर्माणपछि पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको उहाँले उल्लेख गर्नुभयो।
शिक्षा क्षेत्रमा पनि उल्लेखनीय पहल गरिएको दाबी गर्दै शाहले भारतीय दूतावाससँगको समन्वयमा सयौं बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराइएको जानकारी दिनुभयो। आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीलाई अध्ययन निरन्तरता दिन सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको उहाँले स्पष्ट पार्नुभयो।
सामाजिक समावेशीकरणअन्तर्गत बहादुरगञ्ज क्षेत्रमा सयौं दलित तथा विपन्न परिवारका लागि गरिब आवास निर्माण गरिएको पनि शाहले बताउनुभयो। आवासविहीन परिवारलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन यो कार्यक्रम प्रभावकारी बनेको उहाँको भनाइ छ।
यी सबै योजनालाई ‘विशेष कार्यक्रम’ अन्तर्गत अघि बढाइएको उल्लेख गर्दै शाहले पदमा नरहे पनि जनताको सेवा निरन्तर जारी रहेको बताउनुभयो।
“पदमा नरहे पनि जनताको सेवा रोकिन्न। विकासका ठूला परियोजनासँगै साना योजनाहरू पनि अघि बढाइरहेका छौं, विभिन्न निकायमा पहल जारी छ,” शाहले भन्नुभयो।
उहाँले आगामी दिनमा अधुरा योजना सम्पन्न गर्ने, सामाजिक न्याय प्रवर्द्धन गर्ने तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
प्रतिक्रिया