Developed By Kuldeep Sharma

१ घण्टा अगाडि

चन्द्रौटामा ३० फिट अग्लो हनुमान मूर्तिको अनावरण, ‘हनुमान चोक’ नामकरण

 

कपिलवस्तु — कपिलवस्तुको चन्द्रौटा मा निर्माण गरिएको विशाल हनुमान मूर्तिको अनावरण गरिएको छ। बालापुर मोड मा निर्माण गरिएको उक्त मूर्तिको लुम्बिनी प्रदेशका सरोज थापा ले अनावरण गरेका हुन्।
शिवराज नगरपालिका–५ स्थित उक्त स्थानमा ३० फिट अग्लो हनुमान मूर्ति निर्माण गरिएको हो। मूर्तिको अधिकांश भाग फाइबर प्रयोग गरी तयार पारिएको बताइएको छ। आर्थिक वर्ष २०८१/८२ मा लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय भैरहवाबाट १५ लाख रुपैयाँको लागतमा बेस निर्माण सम्पन्न गरिएको थियो। चालु आर्थिक वर्षमा ५६ लाख रुपैयाँ बजेटमध्ये भ्याट बाहेक ३५ लाख २३ हजार रुपैयाँ लागतमा देउराली निर्माण सेवा ले मूर्ति निर्माण गरेको हो।
कार्यक्रममा बोल्दै मन्त्री थापाले सुन्दर सहर निर्माणसँगै चन्द्रौटालाई धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य बनाउने उद्देश्यका साथ मूर्ति स्थापना गरिएको बताए। उनले धार्मिक पर्यटन प्रवर्द्धनले स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।
शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा ले धार्मिक तथा पर्यटकीय स्थलको विकासका लागि प्रदेश सरकारको सहयोगमा मूर्ति निर्माण गरिएको बताए। उनले शिवराज नगरपालिकाले “रामायण सर्किट” निर्माणको योजना अघि सारेको जानकारी दिँदै आगामी दिनमा धार्मिक पर्यटनलाई थप विस्तार गरिने उल्लेख गरे।
यसैबीच, बालापुर मोडमा निर्माण गरिएको उक्त स्थानको नामकरण “हनुमान चोक” गरिएको छ। आगामी वर्ष उक्त क्षेत्रको थप सौन्दर्यीकरणको काम गरिने पर्यटन डिभिजन कार्यालयका प्राविधिक रेशौराज आचार्य ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma