कपिलवस्तुको शिवराज नगरपालिका–२ स्थित बाल शिक्षा माध्यमिक विद्यालय, हल्लानगरको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा अत्यन्त कमजोर आएको छ। विद्यालयबाट परीक्षामा सहभागी ३८ जना विद्यार्थीमध्ये २ जना मात्र उत्तीर्ण भएका छन्।
गत वर्ष २०८१ मा भने विद्यालयको नतिजा सन्तोषजनक रहेको थियो। उक्त वर्ष एसईईमा सहभागी २८ जना विद्यार्थीमध्ये २२ जना उत्तीर्ण भएका थिए। त्यसबेला विद्यालयका प्रधानाध्यापक मेघनाथ अधिकारी रहेका थिए भने हाल २०८२ सालमा विद्यालयको नेतृत्व प्रधानाध्यापक धुव्र कुमार खड्काले गरिरहेका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर बुढाले नतिजा राम्रो हुँदा पनि नगरपालिका शिक्षा शाखाले प्रधानाध्यापक परिवर्तन गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले विज्ञान विषयका शिक्षक मेहनती र समयमै विद्यालयमा उपस्थित हुने गरेको उल्लेख गर्दै कोचिङ कक्षा सञ्चालन हुँदासमेत अभिभावकहरूले आफ्ना बालबालिकालाई नियमित रूपमा विद्यालय पठाउन पर्याप्त चासो नदिएको बताउनुभयो।
कमजोर नतिजापछि विद्यालयको पठनपाठन, प्रशासनिक व्यवस्थापन तथा शैक्षिक वातावरणमाथि स्थानीय स्तरमा विभिन्न प्रश्न उठ्न थालेका छन्। स्थानीय अभिभावक तथा सरोकारवालाहरूले विद्यालय प्रशासन, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।
नतिजा सार्वजनिक भएकै दिन शिवराज नगरपालिकाका मेयर अजय थापा ले नगरभित्रका सम्पूर्ण प्रधानाध्यापकहरूसँग बैठक गर्नुभएको थियो। कमजोर नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापकहरूसँग कारणसहित मैखिक स्पष्टीकरण समेत माग गरिएको बताइएको छ। बैठकका क्रममा केही शिक्षकबीच भनाभन तथा झोकाझोक समेत भएको स्रोतले जनाएको छ।


प्रतिक्रिया