Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सत्ता गठबन्धनमा पहिले प्रधानमन्त्री को बन्नेबारे रस्साकस्सी, एमाले पर्ख र हेरको रणनितिमा

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेको समयसीमा पुस १० गते आइतबार साँझ ५ बजे सकिँदै छ । समयसीमा सकिनै लाग्दा सत्तारुढ गठबन्धनका नेताहरु नयाँ सरकार गठनबारे अहिले रस्साकस्सीमा छन् । नेताहरु छलफलमै व्यस्त छन् । उनीहरु पहिले प्रधानमन्त्री को बन्ने भन्ने वारे ‘औपचारिक’ छलफलमा जुटेका हुन् । कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीको दावी गरिरहेका छन् ।

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य सांसदहरुले शपथ लिएको दिन हिजो गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच छलफल भएको थियो । तीन नेताको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग राख्नुभएको हो ।

यता, प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता समीकरणबारे आफू पक्षीय नेताहरूसँग आज छलफल गर्नुभएको छ । प्रचण्डले प्रधानमन्त्री पदमा दाबी नछाडेपछि पार्टी सभापतिसमेत रहनुभएका देउवाले आफू निकट नेताहरूसँग निचोडमा पुग्न छलफल गर्नुभएको हो । नेताहरूले कुनै पनि हालतमा प्रधानमन्त्री पद नछाड्न देउवालाई सुझाव दिएका छन्। माओवादी केन्द्रका नेता रामनारायण बिडारीले अहिलेको स्थितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्रीका निम्ति उपयुक्त पात्र भएको दावी गर्नुहुन्छ ।

पुस १० भित्र गठबन्धनकै सरकार बन्ने भन्दै, पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने टुंगो नलागेको स्थितिमा जनतालाई नयाँ सन्देश दिनका निम्ति प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने आफुहरुको प्रस्ताव रहेको जानकारी दिदै कांग्रेसका सभापति देउवालाई राष्ट्रपति बनाउनुपर्ने नेता बिडारीले औंल्याउनु भएको छ ।

बालुवाटार स्रोतका अनुसार देउवासँगको भेटमा हरेकजसो समय प्रचण्डले आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री बनाउन आग्रह गरिरहनु भएको छ । माओवादी केन्द्रका केहि नेताले देउवासँग भेटेर आफ्नो पार्टीलाई एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आइसकेको र कांग्रेसले नदिने हो भने एमालेसँगै मिलेर सरकार बन्न सक्ने स्पष्ट संकेत वा बार्गेनिङ पनि गरिरहेका छन् । माओवादीले गठबन्धनबाट पहिलो चरणमा सरकारको नेतृत्व गर्न नपाए एमालेसँग सहकार्यको लागि गृहकार्य पनि थालेको छ । एमाले नेता सुर्य थापाले दुवैतिर स्पष्ट बहुमत नभएकाले एमाले पर्ख र हेरको रणनीतिमा रहेको बताउनुहुन्छ । आजै एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले कांग्रेस सभापति देउवासमक्ष अबको सरकारको नेतृत्व प्रचण्डलाई दिन सामाजिक सञ्जालमार्फत आग्रह गर्नुभएको छ । यो भनाईले पनि माओवादीले एमालेसँग सहकार्यको लागि गृहकार्य गरिरहेको भन्ने स्पष्ट हुन्छ।

नेताहरुले आइतबार सम्ममा सहमतिमा पुगिने भन्दै आज पनि छलफल चलाइरहेका छन् । सरकारको नेतृत्व कसले गर्ने भन्नेवारे रस्साकस्सी भईरहदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको अवस्थामा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु उपयुक्त हुने तर्क गर्नुहुन्छ ।

अब बन्ने सरकारको पहिलो चरणको नेतृत्वमा ‘प्रचण्ड’ ले आफ्नो दाबी पेश गरेर कांग्रेसलाई दबाबमा राख्नु भएको छ ।
यता कांगेस नेताहरूले कुनै पनि हालतमा प्रधानमन्त्री पद नछाड्न देउवालाई सुझाव दिएका छन्। माओवादीले गठबन्धनबाट पहिलो चरणमा सरकारको नेतृत्व गर्न नपाए एमालेसँग सहकार्यको लागि गृहकार्य थालेको छ । एमालेले पनि प्रचण्डलाई प्रधानमन्त्री दिने भनिसकेको छ । यस्तो अवस्थामा अवका २ दिन प्रधानमन्त्री पद कसको पोल्टामा पर्ला सवैको चासो र सरोकारको बिषय बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma