

कपिलवस्तु –
पूर्ण खोप सुनिश्चित घोषणा प्रक्रियाको अन्तर्गत शिवराज नगरपालिकामा अनुगमन कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला खोप समन्वय समितिका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा सम्पन्न उक्त अनुगमनमा नगरपालिकाका तीन वडाहरू—वडा नं. २, ६, र १० समेटिएका थिए।
स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराईका अनुसार १५ देखि २३ महिनासम्मका बालबालिकाले पूर्ण खोप सेवा प्राप्त गरेका छन्। अनुगमनको क्रममा ती वडामा शतप्रतिशत बालबालिकाले सबै अनिवार्य खोप लगाएको तथ्यांक प्राप्त भएको छ। यसै आधारमा आउँदो जेठ ११ गते शिवराज नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा गर्ने तयारी सुरु गरिएको छ।
अनुगमनका क्रममा जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले पूर्ण खोप सुनिश्चितता घोषणाले शिवराज नगरपालिकालाई बालबालिकाको स्वास्थ्य सुरक्षामा उदाहरणीय पालिका बनाउने विश्वास लिइएको बताउनु भयो ।
उक्त अनुगमन टोलीमा स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रतिनिधि, विश्व स्वास्थ्य संगठन (WHO), विभिन्न गैससहरूका प्रतिनिधिहरू सहभागिता थियो ।
स्वास्थ्य शाखाले यस सफलतामा खोप स्वयंसेवक, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय सरकार, अभिभावक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको योगदान उच्च रहेको जनाएको छ।


प्रतिक्रिया