Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शहीदको एकीकृत अभिलेख राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिनुभएको छ ।

आज शहीद दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताउनुभयो ।

शहीद स्तम्भ लैनचौरमा आयोजना गरेको कार्यक्रममा शहीद सम्बन्धी सङ्कलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै यस विषयमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको हो । 

उहाँले शहीदहरुको योगदानलाई चिरस्थायी बनाउन सरकारले शहीदका परिवारलाई सहयोग गर्ने तथा शहीदहरुको बारेमा युवा पुस्तालाई जागरुक बनाउनु पर्ने बताउनु भयो । 

मन्त्री देउवाले शहीदहरुले देखेको सपनालाई साकार बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खाँचो रहेको भन्दै शहीदहरुको परिकल्पनाअनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी,अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाउनु पर्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले अबको देशको गन्तव्य आर्थिक रुपान्तरण र सुशासन भएकाले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै र लोकतन्त्र सङ्घीय शासन व्यवस्थालाई बलियो बनाएर देशलाई चाँडै अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शहीदहरुको योगदानलाई सम्मान गरेर देश र जनताको लागि अठोटकासाथ अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले शहीदका सपनाहरुलाई साकार गर्न उनीहरुका सपनाको पहिचान गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

मेयर शाक्यले काठमाण्डौ महानगरपालिकाले शहीदहरुको सम्झनास्वरुप माघ १० गते शहीद शुक्रराज शास्त्री, माघ १३ गते सिफलमा धर्मभक्त माथेमा र माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा माल्यार्पण गरेको बताउनुभयो।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma