Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

मौन अवधिमा पैसाको चलखेल हुने भन्दै आयोगले थाल्यो अप्रेशन

काठमाडौं-आसन्न स्थानीय तहको निर्वाचनका लागि आज रातिदेखि मौन अवधि शुरु हुने भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार मौनअवधि निर्वाचन नसकुञ्जेल बैशाख ३० गतेसम्म लागू हुनेछ ।

मौन अवधि शुरु भएपछि राजनीतिक दल, दलका उम्मेदवार, अन्य व्यत्तिहरु, राजनीतिक दलका पदाधिकारीहरु, स्वतन्त्र उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

नागरिक समाज, मतदाता, सञ्चारमाध्यमले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसार गर्न नपाउने आयोगले जनाएको छ । आयोगको सूचनालाई अटेर गरी प्रचारप्रसार गरेको पाइएमा निर्वाचान आचारसंहिता बमोजिम कारबाही गरिने पौडेलले बताउनुभयो ।

आजराति देखि चीन र भारतसँग जोडिएका सीमा नाकापनि बन्द हुने गृह मन्त्रालयले जनाएको छ । आज राति १२ बजेदेखि मतदान हुने दिन ३० गते राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।

निर्वाचन आयोगले शुक्रबार राति १२ बजेसम्मका लागि मदिरा बिक्रिवितरण तथा ओसारपसार समेत गर्न नपाइने जनाएको छ । निर्वाचनलाई लक्षित गरी आयोगले बैशाख ३० गते सार्वजनिक बिदा दिएको छ ।

यसअघि सामाजिक सञ्जालमा चुनावी प्रचारप्रसारका तस्बिर, भनाइ राखिएको भए हटाउन र आजराति बाट नराख्न पनि आयोगले सबैलाई आग्रह गरेको छ । मौनअवधिमा पैसाको चलखेल हुनसक्ने भन्दै आयोगले त्यस्तो भेटिएमा तुरुन्तै कारबाही गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma