काठमाण्डाै – राष्ट्रिय सभाले ‘यौन अपराधविरुद्ध उजुरी हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धमा’ सङ्कल्प प्रस्ताव स्वीकृत गरी त्यसकाे कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देश गरेकाे छ ।
नेपाली कांग्रेसका सांसद कमला पन्तले पेस गर्नुभएको त्याे प्रस्तावमा सांसद डा. विमला राई पौड्याल, विमला घिमिरे, गङ्गाकुमारी बेल्वासे, प्रमिला कुमारी, मदनकुमारी साह, तुलप्रसाद विश्वकर्मा, डा. खिमलाल देवकोटा र शेखरकुमार सिंहले समर्थन गर्नुभएको थियो ।
प्रस्तावमाथि छलफल भएपछि बैठकले सर्वसम्मतिले स्वीकृत गरी सरकारलाई कार्यान्वयनका लागि निर्देश गरेको हो ।
प्रस्तावपछि छलफलमा भाग लिँदै सांसद सुरेशकुमार आले, भैरवसुन्दर श्रेष्ठ, सुमित्रा विसी, गोमादेवी तिमिल्सिना, दिलकुमारी रावल थापा, जयन्ती देवी राई, उर्मीला अर्याल र नरपती लोहारले यौन अपराधविरुद्ध उजुरी हदम्याद हटाउनुपर्ने माग गर्नुभएको थियो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले यौनजन्य अपराधको कानुन सुधारको सम्बन्धमा अध्ययन भइरहेको जानकारी दिँदै हदम्याद हटाउने सम्बन्धी कानुन संशोधन गर्ने तयारी भएको बताउनुभयो । राष्ट्रिय सभाको अर्को बैठक यही जेठ २४ गते १ बजे बस्ने छ ।


प्रतिक्रिया