Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

असारमा रोपाइँ कम भए पनि धान उत्पादनमा असर नपर्ने सरकारको दाबी

काठमाण्डाै – असारमा रोपाइँ कम भए पनि अब रोपाइँ हुने क्षेत्र बढ्ने सरकारले अपेक्षा गरेको छ । मौसमविद्ले भोलिदेखि पानी पर्ने अनुमान गरेकाले अब रोपाइँको क्रम बढ्ने कृषि विभागले जनाएको छ ।

विभाग अन्तर्गतको बाली विकास संरक्षण केन्द्रका प्रवक्ता एवम् वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीका अनुसार रोपाइँ ढिलो भए पनि उत्पादनमा खासै असर पर्दैन ।

मुख्य धान खेती हुने ठाउँमा असार १५ देखि साउन १५ सम्म रोपाइँ हुने भएकाले ढिलो भएजस्तो लागे पनि असर नपर्ने उहाँको भनाइ छ । यसवर्ष मनसुनमा औसतभन्दा धेरै वर्षा हुने पूर्वानुमान गरिएको भए पनि अहिलेसम्म पर्याप्त पानी पर्न सकेको छैन । तराई तथा पश्चिमी क्षेत्रमा निक्कै कम पानी परेको छ ।

नेपालमा झन्डै चार महिना मनसुन अवधि रहने भएकाले अझै पानी पर्ने बेला बाँकी नै छ । असारभरिमा देशभर ५५ प्रतिशत मात्र धान रोपाइँ  भएको छ । गएको वर्ष असारभरिमा ७७ प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष मलको चरम अभाव र मौसम प्रतिकूल हुँदा धान रोपाइँ अघिल्लो वर्षको भन्दा कम हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष मौसम अनुकूल रहेको हुँदा धान रोपाइँ छिटो भएको र यस वर्ष पश्चिम–तराईमा पानीको अभाव हुँदा रोपाइँ ढिलो भएको जोशीले बताउनुभयो।

बाली विकास तथा जैविक विविधता केन्द्रका अनुसार लुम्बिनी, बाँके, बर्दिया, कपिलवस्तुलगायत क्षेत्रमा नहर नहुँदा त्यहाँका किसान आकाशे पानीको भरमा धान रोप्न बाध्य छन् । धेरै ठाउँका किसान भने मलको अभाव झेल्न बाध्य छन् । अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाइँ भएको छ।

सुदूरपश्चिम प्रदेशमा ८८ प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा ७९ प्रतिशत, वाग्मती प्रदेशमा ६५ प्रतिशत, कर्णालीमा ५६ प्रतिशत,  लुम्बिनीमा ५३ प्रतिशत, मधेस प्रदेशमा ३९ प्रतिशत र प्रदेश-१ मा ४९ प्रतिशत रोपाइँ भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma