Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

लुम्विनीमा कांग्रेस माओवादीका मन्त्री फेर्ने तयारी : को को बन्दैछन् नयाँ मन्त्री ?

बुटवल – लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादीले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने तयारी गरेका हुन् ।काँग्रेस र माओवादीबीच सुरुमा आलोपालो सरकार चलाउने भद्र सहमति भएपनि पछिल्लो समय मुख्यमन्त्री फेरिँदा अन्य प्रदेशमा पनि समस्या आउने भएको भन्दै मुख्यमन्त्री यथावत् राखेर मन्त्रीहरू परिवर्तन गर्न दुवै पार्टी सहमत भएका हुन् । काँग्रेसले हालका मन्त्रीहरू हटाएर नयाँ अनुहार ल्याउन शीर्ष नेताहरू पटक पटक छलफल भएको लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फकुद्धिन खाँनले बताए ।
उनले बजेट पासपछि मन्त्री परिवर्तन गर्ने अनौपचारिक सहमति भएको भन्दै साउन दोस्रो हप्ताभित्र नयाँ मन्त्रिमण्डल गठन गर्ने पार्टी नेतृत्वले आन्तरिक तयारी गरेको दावी गरे । काँग्रेस जस्तै माओवादीभित्र पनि मुख्यमन्त्री बाहेक अन्य मन्त्रीहरू परिवर्तन गर्नेबारे छलफल भएको छ । नेकपा माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष एवं सांसद सुदर्शन बरालले नेपाली काँग्रेसले नयाँ मन्त्रीहरू नाम दिनसाथ माओवादीमा पहिलेदेखि मन्त्री हुन रुचि राख्नेहरू तयार रहेको बताए । उनले भने, ‘नेपाली काँग्रेसले नयाँ मन्त्रीको नाम दियो भने हामीलाई पनि नयाँ नाम दिन समस्या छैन साथीहरूको नाम करिब फाइनल जस्तै छ ।’

काँग्रेसभित्र पावरको लडाई :

स्रोतका अनुसार लुम्बिनीमा मन्त्रिमण्डल परिवर्तनका लागि पटक पटक छलफल भएपनि प्रदेशले चाहेर मात्रै निर्णयमा पुग्न सम्भव छैन । काँग्रेसले सुरुमा आलोपालोको भद्र सहमतिअनुसार मुख्यमन्त्री परिवर्तनका लागि पार्टीभित्र छलफल गर्न काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले आग्रह गरेका थिए । ‘आधा/आधा सरकार चलाउने भद्र सहमतिमा पनि नेताहरू चुनावपछि छलफल गरौंला भने । त्यसपछि बजेट पारित भन्दै अल्मल्याई दिए । सत्ता गठबन्धनका शीर्ष नेताहरू मुख्यमन्त्री फेर्ने मुडमा देखिएका छैनन्’, उनको भनाइ छ ।
लुम्बिनीका मुख्यमन्त्री परिवर्तन नहुने भएपनि काँग्रेस मन्त्री परिवर्तन गर्न केन्द्रीय नेताहरुलाई आग्रह गरिएको एक सांसदले बताए । उनले अहिलेका मन्त्रीहरूको सम्बन्ध नेतृत्वसँग राम्रो सम्बन्ध भएकाले ढिलाइ भएको भन्दै पावर लगाएर मन्त्रीहरू पद छोड्न नचाहेका बताए । उनले मन्त्री डिल्ली चौधरी र सुरेन्द्र बहादुर हमालको देउवासँग राम्रो सम्बन्ध रहेको दावी समेत गरे ।
मन्त्री परिवर्तनका लागि काँग्रेस लुम्बिनी प्रदेशका केही सांसदहरु काठमाडौँ पुगेर लबिङ समेत गरेका छन् । काँग्रेस लुम्बिनी प्रदेश सभापति अम्मर पुनले मन्त्रिमण्डल परिवर्तनको गर्न विगतमा छलफल भए पनि पछिल्ला दिन छलफल नभएको बताए । उनले निर्वाचनको मुखमा आएर मन्त्रिमण्डल परिवर्तन गर्दा राम्रो सन्देश नजाने देखेर नै शीर्ष नेतृत्वले निर्णय नगरेको हुनसक्ने बताए ।


को को आउलान् नयाँ मन्त्री ?

काँग्रेस र माओवादीका मन्त्रीहरू परिवर्तन गरे पनि सत्तामा रहेको जनता समाजवादी ९जसपा० र नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गर्ने छैनन् । १७ सदस्यीय मन्त्रिमण्डलमध्ये स्वास्थ्य राज्यमन्त्रीबाट विमलाकुमारी खत्रीले राजीनामा दिएपछि १६ सदस्य कायम छ । धेरै मन्त्रीहरू भए पनि काम चित्तबुझ्दो नभएको सत्तारुढ भित्रै चर्चा छ । यद्यपी काँग्रेसका सहरी विकास तथा पर्यटन मन्त्री डिल्ली चौधरी परिवर्तन हुने सम्भावना निकै कम रहेको उनी निकटहरुको भनाइ छ ।अन्य मन्त्रीहरू वीरबहादुर राना, सुरेन्द्र हमाल, वसिउद्धिन खाँन, राज्यमन्त्री रिना नेपाल विक र अर्जुन श्रेष्ठ परिवर्तन गर्ने तयारी रहेको बताइन्छ । यी मन्त्रीहरू हटाएर कसलाई ल्याउने भन्ने केन्द्रीय नेताहरू अझै स्पष्ट छैनन् । काँग्रेसमा मन्त्री फेर्दा प्रत्यक्ष निर्वाचितहरूलाई प्राथमिकता दिनुपर्ने आवाज बलियो छ । यदि यो बाटोमा काँग्रेस गए फकरुद्धिन खाँन, अष्टभुजा पाठक पर्ने सम्भावना धेरै रहेको काँग्रेसका नेताहरू बताउँछन् । यस्तै माओवादीले पाल्पाका वसन्त घर्ती, बाँकेकी कृष्णा के सी, रुकुमका तेज बहादुर ओली, गुल्मीकी गीता थापाको मन्त्री बन्ने सम्भावना धेरै रहेको चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma