काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन आउँदो चुनावसम्म जाने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहीवार बसेको स्थायी समितिको बैठकमा उहाँले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताउनुभएको हो ।
उहाँले बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने बताउनुभएको थियो । विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मालोचना नगरेका कारण नेकपा एमालेसँग गठबन्धन हुने ‘च्याप्टर क्लोज’ भएको अध्यक्ष दाहालको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामी अहिले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ, यसैलाई बढी सुदृढ बनाएर चुनावमा जानुपर्छ ।’ बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, पार्टीको साङ्गठनिक जीवन एवम् अवस्थालगायतका विषयमा छलफल भएको थियो ।
बैठकमा अध्यक्ष प्रचण्डले संविधानको रक्षाका लागि स्थापना भएको गठबन्धनलाई बलियो बनाउने विषय नै यतिखेरको प्रमुख आवश्यक विषय भएको बताउनुभएको थियो । नेता गिरिराजमणि पोखरेलका अनुसार बैठक पुनः शुक्रवार बिहान बस्ने गरी स्थगन भएको छ ।


प्रतिक्रिया