राजा विरेन्द्रको बंश विनास गराएर नेपाली राजतन्त्रको केन्द्र विन्दुमा आफुलाई स्थापित गराएका राजा ज्ञानेन्द्रको चरम सत्ता महत्वकांक्षा सुरु देखि नै थियो तापनि २०६१ माघ १९ गते मात्र उनले आफ्नो यो महत्वकाक्षालाई मुर्त रुप दिए ।
त्यस दिन विहान एकाएक समग्र नेपाल भरी कै सम्पूर्ण संचार साधनहरु पूर्णरुपमा विच्छेद गरियो । रेडियो एफ.एम., इन्टरनेट, टेलिफोन र मोबाइलहरु पूर्ण रुपमा निस्कृय बनाइयो । समाचार आदान प्रदान गर्ने कुनै पनि साधनहरु जनताले उपभोग गर्न पाएनन् । नेपाल टेलिभिजन र रेडियो नेपालबाट मात्र प्रत्यक्ष प्रसारण गरी राजा ज्ञानेन्द्रको सम्बोधन मार्फत शेर बहादुर देउवाको सरकारलाई अपदस्त गरी सम्पूर्ण शासनभार आफुले कब्जा गरे । सबै राजनितिक दलका नेताहरुलाई एकाएक पक्राउ .गर्न लागियो र नजर बन्दमा राखियो । यता नेकपा माओवादीले संचालन गरेको जनयुद्ध पनि उत्कर्षमा छदै थियो । यसरी नेपाली समाजले आफुलाई दोहोरो चेपुवामा परेको महशुस गर्दै थिए ।राजतन्त्रको निरिह छायाँमा पालिएका संसदिय राजनितिक पार्टिहरु राजनितिक निर्णयमा प्राय अनिर्णित रहने गरेकाले केहि दिन त हामीलाई पनि लाग्यो राजाले केहि दुरदर्शि राजनितिक निर्णय लिएर नेपालका विद्यमान समस्याहरुको निरुपण गर्नेछन । तर ठिक यसको विपरित उनले देशलाई अन्योलग्रस्त स्थितीमा लगे । सत्ता कब्जा गर्दा वित्तिकै आफ्नो तलब भत्तामा मात्रै वृद्धि गरेनन देश दौडाहाका नाममा आफ्नो स्तुती गराउन मस्त र व्यस्त रहे । देश र जनताको हित र शान्तिको चाहनाका लागि सिन्को सम्म पनि भाचेनन । देशमा विद्यमान समस्याहरुको समाधानका लागी माओवादी संग वार्ता गर्नु भन्दा पनि राजनैतिक पार्टि र माओवादिलाई एकसाथ दबाउन भरमज्दुर प्रयास गरे । यसै बिच तुल्सि गिरी र किर्तिनिधी बिस्ट जस्ता पंचायती प्रेतहरुलाई आफ्नो सत्तामा सामेल गराएपछि पंचायती शासनको अवसान पछि स्वतन्त्ररुपमा वा विभिन्न दलको आवरणमा सुसुप्त अवस्थामा रहेका सामन्त जमिन्दार शोसक र फटाहाहरुले दुलोबाट टाउको उठान थाले । सामन्तहरुको यो क्रियाकलापबाट कपिलवस्तु पनि अछुतो रहन सकेन ।
विभिन्न दलको आवरणमा रहेका सामन्तहरु कपिलवस्तुमा पनि जुरमुराउन लागे । एक जना पूर्व प्रहरी इन्द्र कुमार भुजेलको पहल कदमीबाट सुरु भएको माओवादी विरुद्धको प्रतिकारको योजनाले ठूलो आकार ग्रहण गर्दै गयो । पछि गएर यसमा यस क्षेत्रका सामन्त र जमिन्दारहरु समेत जोडिन पुगे । यसरी माओवादीको प्रतिकार गर्ने क्रममा प्रतिकार कर्मिहरुको समुहमा शाहि नेपाली सेना समेत जोडिन पुग्यो । प्रतिकार कर्मिहरुको सहयोगका लागी गोरुसिंगेमा रहेको व्यारेकका सेनाहरु कर्नेल कुमार लामाको नेतृत्वमा चन्द्रौटाको विन्दवासिनी गणमा नै अस्थायि व्यारेक बनाएर बस्न लागेका थिए । यसरी तत्कालिन शाहि नेपाली सेनाकै प्रत्यक्ष सहयोग र संग्लनतामा कपिलवस्तु जिल्लाको यस क्षेत्रलाई आतंक स्थलको रुपमा परिणत गरियो । प्रतिकार कर्मिहरुले यहाँ माओवादि प्रतिमात्र होइन , सामाजिक र राजनैतिक रुपमा स्थापित व्यक्तित्वहरुलाई अनि आफ्नो व्यक्तिगत दुश्मनी र आर्थिक लेनदेन रहेका मानिसहरुलाई समेत आफ्नो निशाना बनाए । करिब ६० जनाको निर्मम हत्या गरे , अंगभंग गरे, बलात्कार गरे र हजारौंको संख्यामा घरहरु आगजनी गरे । देविपुर , हल्लानगर , विसुनपुर , महाराजगंज लगायतका थुप्रै बस्तिहरुमा आगजनी गरे ।३२० घर भएको हल्ला नगरमा तिनसय घर जलाइदिए र त्यहि गाउँमा ३ जनाको पिटिपिटि निर्मम हत्या गरे । थुप्रै मानिसलाई जिउदै आगो लगाएर हत्या गरे । थुप्रै महिलाहरु बलात्कारको सिकार भए ।
यसै क्रममा प्रतिकारहरुको एउटा समुहले तत्कालिन चनई गाविस अन्तर्गत मदवा गाउँकी सिता वि.क. भन्ने एक जना ११ बर्षिय बालिकालाई बलात्कार गरे । विन्दवासिनी गण चन्द्रौटाको श्रेष्ठ थरका एकजना डिएसपि आफैले त्यो बालिकालाई उद्धार गरी म कहाँ उपचारको लागी ल्याएका थिए । ति बालिकाको सामान्य उपचार पछि यौनाङ्गबाट अलि बढि नै रक्त श्राव भइरहेकोले थप उपचारको लागि बेटर सेन्टरमा रिफर गरिदिए । त्यतिबेला सम्म प्रहरी सेना र प्रशासनको बिचमा यो बलात्कारको घटनालाई सामसुम पार्ने सहमति भएको रहेछ । जस अनुसार पिडित बालिका र उनको बुवालाई तौलिहवा प्रहरीको हिरासतमा राखि तौलिहवा जिल्ला अस्पतालमा उपचार गरिएछ । ७ दिनको उपचार पछि बालिका बलात्कारको यो घटनालाई बाहिर कतै हल्ला नगर्ने यदि गरेमा माओवादिको आरोपमा मारिदिने धम्की दिएर बाबु छोरीलाई रिहा गरिएछ ।
तर यो बेला सम्म ११ बर्षिय बालिकाको बलात्कार, हल्लानगरमा सिंगो गाउँबस्ति जलाइएको र पुरै कपिलवस्तुमा शाहि नेपाली सेनाकै उपस्थितमा गैरकानुनी रुपमा भइरहेको अमानविय हत्याकाण्डाका समाचारहरु बिबिसी लगायत अन्तराष्ट्रिय मिडियाबाट प्रसारण भइसकेका थिए । जसका कारण ज्ञानेन्द्र सरकार मानव अधिकार र जनताको जिउधनको सुरक्षाको सवालमा अन्तराष्ट्रिय रुपमै अलि चेपुवामा पर्दै गएका रहेछन । यसै सन्दर्भलाई लिएर अमेरिकाको टाइम्स म्यागजिनले त स्वंय ज्ञानेन्द्रकै अन्तरवार्ता लिएको रहेछ । यस अन्तरवार्तामा उनले घुमाउरो रुपमा कपिलवस्तुको घटनामा सरकारी संलग्नतालाई स्वीकार गरेका छन ।
कपिलवस्तुमा यी घटनाहरु भइरहेकै बिच शाहि नेपाली सेना , नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त सुरक्षा फौजले मलाई पक्राउ गरी विन्दवासिनी गणको हिरासतमा राखियो । पक्राउ परेको दोस्रो दिन राति हिरासतबाट बाहिर निकालेर कर्नेल कुमार लामा र एस.पि. (अहिले मैले नाम बिर्सिए ) भएको कोठामा लगियो र सोधपुछ गरियो ।
सोधपुछका क्रममा बलात्कारको समाचार किन लिक गरेको जस्ता प्रश्नहरु गर्न लागे । बिबिसीको कुनै समन भन्ने पत्रकार चन्द्रौटामा आएर रिपोटिङ्ग गरी बिबिसिमा प्रसारण गरेको रहेछ । मैले कुनैपनि सुचना पत्रकारहरुलाई दिएको थिइन । यी कुराहरु प्रति म अनभिज्ञ नै थिए तर खास गरी कर्नेल कुमार लामाले मलाई यो आरोप लगाए कि बिबिसिको पत्रकारलाई तपाई बाहेक अरु कसैले बलात्कारको घटनाको समाचार उपलब्ध गराएन किनभने बलात्कारको यो घटनाको जानकार तपाई हो । उपचार पनि तपाईकोमा नै भएको हो र विदेशी पत्रकारलाई यति विस्तार संग अंग्रेजीमा सुचना उपलब्ध गराउने तपाई बाहेक कोहि पनि नभएको जस्ता तर्क गरेर म माथि नै सम्पूर्ण दोषहरु थोपर्ने प्रयत्नहरु गरिरहे । अन्तत मलाई जिल्ला प्रहरी कार्यालय चलान गरियो अनि त्यसै दिन जेल ।
मेरा आफन्त र शुभचिन्तकहरुको सकारात्मक पहलकदमीले ४० दिन पछि मलाई प्रत्येक हप्ता जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनु पर्ने सर्तका साथ जेलबाट रिहा गरियो । रिहाइ पश्चात निरन्तर क्लिनीक र घर मै समय दिन लागे ।
केहि दिन पछि हाम्रो समाजका खराब व्यक्तिहरुको क्रियाकलाप शंकास्पद लाग्न थाल्यो । त्यसैले २०६२ बैशाख २९ गते अकस्मात घर छोड्ने निर्णय गरे । त्यस रात बुटवलमा बास बसे पछि अर्को दिन बनारस ।
बनारस पुगेकै दिन कुनै होटलमा बसे । एका तर्फ नेपालको राजनैतिक परिवेश अर्को तर्फ आफ्नै समाज भित्रका केहि खराब तत्वका विद्धेसपूर्ण व्यवहार र अराजक क्रियाकलापहरु अनि आफ्नै योजना विहिन अगाडीका दिनहरु । यस्तै सोच्दै विहान भयो । अर्को दिन २०६२ बैशाख ३१ गते विहान करिब ९ बजेको समयमा एक जना आफन्त संगै आमुन्ने सामुन्ने कुर्सिमा बसेर भलाकुसारी गरिरहेका थियौं । एक्कासी उहाँको मोबाइलमा घण्टी बज्यो उहाँको फोन संवादमै म भाउन्न भए । एक अनिष्ट समाचारको अन्दाज गर्न मलाई समय लागेन । २८ बर्षको मेरो प्रिय भाई किरणको हत्या भइसकेको रहेछ । अघिल्लो दिनमै राति ९ बजे तिर मजस्तै देखिने मेरो भाईको टिभि हेरेर बसिरहेको अवस्थामा झ्यालबाट गोलि हानी हत्या गरेका रहेछन । त्यसै दिन विहान म बनारसबाट पुन बुटवल त आए तर त्यो बेला सम्म भाईको अन्तेष्टि भइसकेको रहेछ । भाइको १३ दिनको क्रियाकर्म गर्न समेत आएमा तत्कालिन एसपि विजय भट्टले मेरो समेत हत्या गराइदिने धम्की दिएका कारण घर सम्म आउन पाइन र परिवार सहित विस्थापित हुनु पर्यो ।
बिडम्बना : भाईको हत्या कुन समुहले गर्यो भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ । तर प्रहरीले माओवादीहरुले हत्या गरेको भनेर मुचुल्का नै तयार गरेको रहेछ र घटना स्थलमा उपलब्ध प्रमाणहरु समेत नष्ट गरेको रहेछ । निरकुंश शासन सत्ता र भ्रष्ट प्रहरी प्रशासनहरुले जनताको न्याय प्रतिको अधिकार प्रति कति सम्म निकृष्ट व्यवहार गर्दा रहेछन भन्ने कुरा यो भन्दा ठूलो प्रमाण अरु के हुन सक्छ र ? हाल सम्म मैले र मेरो भाइले न्याय पाउन सकेका छैनौं । राजा ज्ञानेन्द्र सत्ता च्यूत नहुँदा सम्म हामी आफ्नो घर पुनस्थापित हुन सकेनौं ।
आज बैशाख ३० गते मेरो प्रिय भाई किरणको १८ औं पुण्य तिथि हो । यस सन्दर्भमा प्रिय भाई प्रति हार्दिक श्रद्धान्जली ।


प्रतिक्रिया