माधव बेल्वासे
चन्द्रौटा,२९ जेठ
कपिलवस्तुको शिवराज नगरपालिका वडा न १ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । वडा भित्र रहेका १४५ जना बालबालिकाले पूर्ण खोप लगाएकोले पूर्ण खोप सुनिश्चितता गरेको शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले बताउनुभयो । सोमवार वडा कार्यालयमा आयोजित उक्त कार्यक्रमको अवसरमा महिला स्वास्थ्य स्वयमसेविकालाई विद्युतीय चुल्हो वितरण समेत गरिएको छ । महिला स्वास्थ्य स्वयमसेविका प्रोत्साहन कार्यक्रम अन्तर्गत वडाको वार्षिक कार्यक्रम अन्तर्गत १० जना स्वयेमसेविकालाइ उक्त सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख अजय थापाले घरघर पुगेर खोप प्रदान गरेको स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभएको छ । वर्थिङ सेन्टरमा शिवपुर स्वास््रथ्य चौकी प्रति नागरिकहरूको विश्वास बढि रहेकोले यसलाई टिकाइराख्न अनुरोध गर्नुभयो । पछिल्लो समय नगरपालिकाले वृद्धवृद्धालाई घरघरमा पुगेर स्वास्थ्य जाँच गर्ने कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो । गत वर्ष शिवराज नगरपालिकाले शिक्षालाई प्राथमिकता दिएको र यस वर्ष स्वास्थ्यलाई प्राथमिकता दिने गरी कार्यक्रमहरू तय हुने थापाको भनाई छ ।
वडा अध्यक्ष खिम विक्रम केसीले महिला स्वास्थ्य स्वयम सेविकाको मेहनतलाई सम्मान गर्दै प्रोत्साहन स्वरूप सामाग्री वितरण गरेको बताउनुभयो । वडाका नागरिकहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । पूर्व अध्यक्ष जगत जिसीले राज्यले सेवा सुविधा नदिए पनि महिला स्वास्थ्य स्वयंसेविकाले समाजमा गरेका काम प्रशंसा गर्न लायक रहेको बताउनुभयो । कार्यक्रममा वडाका जनप्रतिनिधि,स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया