Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

प्रधानमन्त्रीकाे राजीनामा माग्दै संसद् बैठकमा अवराेध, मिटरब्याजविरुद्धकाे अध्यादेश निष्क्रिय

काठमाण्डाै – नेकपा एमालेसहितका प्रतिपक्षी दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै सङ्घीय संसद्का दुवै बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएकाे छ ।

भारतीय नागरिक प्रीतम सिंहका विषयमा किरणदीप सन्धुले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै मेहनत गरेको र दिल्लीसमेत धाएको अभिव्यक्ति दिनुभएको थियो । त्यही अभिव्यक्तिलाई लिएर आज बुधवार संसद् बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले नेपालीको भावनामा आघात पुगेको बताउनुभएकाे थियाे । उहाँले नेपालको प्रधानमन्त्री बन्न नेपाली नागरिकतिर जाने हो की दिल्ली जाने हो भनेर प्रश्न गर्नुभयो ।

विपक्षी दलका सांसदले विरोध जारी राखेपछि सभामुख घिमिरले आधा घन्टाका लागि बैठक स्थगित गर्नुभएको थियाे । तर दलहरूबीच सहमति नभएपछि आजको बैठक नै भोलिसम्मका लागि स्थगित भएको हाे ।

यसअघि आजै राष्ट्रिय सभामा पनि एमालेका सांसदहरूले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै विरोध जनाएपछि बैठक स्थगित भएको छ । राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।

यसैबीच राष्ट्रियसभामा एमालेका सांसदहरूको अवरोधका कारण मिटरब्याजीहरूलाई कारबाही गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको छ । सरकारले मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा कानुनी परिभाषा गरी त्यसलाई दण्डनीय हुने गरी व्यवस्था गर्न मौजुदा कानुनमा संशोधन गर्दै ६० दिनअघि अध्यादेश जारी गरेको थियो । ६० दिनभित्र अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक संसद्का दुवै सदनबाट पारित हुन नसके स्वतः निष्क्रिय हुने व्यवस्थाअनुसार आज अध्यादेश निष्क्रिय भएको हो ।

अध्यादेश निष्क्रिय भएसँगै मिटरब्याज पीडितले न्याय पाउने सम्भावना फेरि टरेको छ । सरकारले यही अध्यादेशमा भएका प्रावधानमा आधारित रहेर पीडितका उजुरी सङ्कलन गरेर दोषीलाई कडा कारबाहीको तयारी गरेकोमा फेरि कानुनी अड्चन देखिने भएको छ ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको आरोप लगाउनुभएको छ । माओवादी केन्द्र सम्बद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै उहाँले एमालेले अहिले आफ्नो अभिव्यक्तिलाई कारण देखाए पनि मिटरब्याजीहरूलाई जोगाउनका लागि संसद् अवरोध गरेको आरोप लगाउनुभयो । भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा एमालेलाई मन नपरेको र कारबाही रोक्न संसदमा अवराेध गरेकाे उहाँले जिकिर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma