काठमाडौं – वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरूले सरकारसँग माग गरेका छन् । शुक्रबार(आज) प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरूले मुलुकभित्रै रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । उनीहरूले पछिल्लो समय मुलुकभित्र युवा जनशक्ति भन्दा पनि बूढाबूढीहरूको संख्या बढेको सरकारी तथ्याङ्कले देखाएको बताए ।
सांसदहरूले सरकारले सधैँ वैदेशिक रोजगारीलाई मात्रै प्राथमिकता दिएर रेमिट्यान्स भित्र्याउने प्रयास गर्दा भविष्यमा मुलुक दुर्घटनामा पर्ने बताए । उनीहरूले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई देशभित्रै कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।
नेकपा एमालेका सांसद लालप्रसाद साँवा लिम्बूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको विदेश जानुभन्दा अघि सीप प्रमाणपत्र बनाउने वातावरण सरकारले बनाउनु पर्ने बताउनुभयो । उहाँले सरकारले स्थानीय तहलाई सीपमूलक तालिम दिने र अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न पाउने अधिकार दिन सके दक्ष जनशक्ति उत्पादन हुने बताउनुभयो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले वर्षैपिच्छे वैदेशिक रोजगारीलाई प्राथमिकता दिन नहुने बताउनुभयो । उहाँले मुलुक भित्रै युवाहरूलाई रोजगारी सिर्जना गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो ।
बैठकमा सांसद रामशंकर यादवले विदेशमा दुःख काट्ने नेपालीहरूलाई नेपालमा नै व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा जानका लागि ऋण लिँदा नै मिटर ब्याजीहरूको जन्म भएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया