Developed By Kuldeep Sharma

२ महिना अगाडि

Gen-Z को आन्दोलन : विगतको घाउ र वर्तमानको पीडा

म हाल रोजगारको शिलशिलामा जापानमा दैनिकी काम र निजी जीवन निर्वाह गर्दै आएको छु। आज बिरामी मातृभूमिले भोगिरहेको पीडालाई आफैंमा महसुस गर्दै, विभिन्न तथ्याङ्कका आधारमा पछिल्लो १०० वर्षको अवधिमा भएका नेपालको ऐतिहासिक राजनीतिक घटनाक्रम समेट्ने प्रयास गरेको छु।

१. राणा शासनको अन्त्य र प्रतिनिधिमूलक सरकारको सुरुआत (१९५१)
२. राजाद्वारा प्रजातन्त्रको अन्त्य र पञ्चायत प्रणाली (१९६०–१९९०)
३. पहिलो जनआन्दोलन (१९९०) — बहुदलीय संसदीय प्रणाली फिर्ता भयो र संवैधानिक राजतन्त्र कायम भयो।
४. माओवादी ‘जनयुद्ध’/गृहयुद्ध (१९९६–२००६) — शान्ति प्रक्रिया (२००६–२००८)
५. राजदरबार हत्याकाण्ड (२००१)
६. राजाको प्रत्यक्ष शासन र दोस्रो जनआन्दोलन (२००५–२००६)
७. राजतन्त्रको अन्त्य र गणतन्त्र घोषणा (२००८)
८. नयाँ संविधान र विरोध (२०१५–२०१६)

त्यसपछि आएको राजनीतिक अस्थिरता, युवाद्वारा संचालित आन्दोलन, आर्थिक तथा सामाजिक चुनौती, र अहिले २०२५ मा Gen-Z पुस्ताद्वारा गरिएको आन्दोलन विशेष उल्लेखनीय छन्।

हामी टाढा होइन, आफ्नै बाल्यकालमा देखेको माओवादी द्वन्द्व (१९९६–२००६) ले करिब १७,८०० जनाको ज्यान लियो, लाखौं घरपरिवार विस्थापित भए। अनुमानित १६६ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भयो, जसले दीर्घकालीन लगानीमा पनि ठुलो असर पार्‍यो। त्यसपछि २० वर्षको अवधिमा पटक–पटक सरकार परिवर्तन, असंख्य निर्वाचन, प्राकृतिक प्रकोप, र विशेषगरी २०१५ को विनाशकारी भूकम्पले हजारौंको ज्यान लियो र करिब १०–१२ अर्बको भौतिक क्षति पुर्‍यायो। त्यसै वर्ष २०१५–१६ मा भएको नाकाबन्दीले अर्बौं घाटा थपिदियो।

देश बनाउने संकल्प बोकेका नागरिकको भावना नेतृत्वले बुझ्न नसक्दा “भ्रष्टाचारविरुद्धको आवाज र स्थायी सरकारको माग” गर्दै Gen-Z युवाले आन्दोलन थाले। यो आन्दोलन अहिले सम्मकै विनाशकारी द्वन्द्वमा परिणत भएको छ। देशको राजनीतिक अवस्था अस्थिर मात्र नभई भ्रष्टाचार चरम बिन्दुमा पुगेको स्थिति हामी सबैलाई थाहा नै थियो।

सचेत उच्चशिक्षित युवाद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलन पहिलो दिनमै गोली प्रहार भई युवा विद्यार्थी—भोलिका सम्भावित नेतृत्व—को हत्या हुन पुग्यो। त्यो केवल घटना थिएन, अपराध थियो। उनीहरूको रगतले सडक राताम्य हुँदा आन्दोलन अझै व्यापक भयो।

तर दोस्रो दिनको आन्दोलनमा कसको चलखेल भयो, कसरी घुसपैठ भयो त्यो स्पष्ट छैन। यद्यपि उनीहरू पनि देशप्रेमकै भावनाले आन्दोलनमा आएका थिए। परिवर्तनको चाहना सबैलाई थियो, तर राजनीतिक चेतनाको कमी, दलगत घमण्ड र भ्रष्टाचारमा डुबेका नेताको उदासीनताले आन्दोलनलाई हिंसात्मक दिशामा धकेल्यो। सार्वजनिक तथा निजी सम्पत्तिमा आक्रमण हुनु निन्दनीय भयो, जसको परिणाम आज खरानी बनेको संरचनामा जनता आफैं पीडित भएका छन्।

यसमा हाम्रो पुस्ताको राजनीतिक ज्ञानको कमी स्पष्ट देखियो। अभिभावक, समाज र शैक्षिक संस्थाले ‘राजनीति फोहोरी कुरा हो’, ‘राजनीति गर्नु हुँदैन’ भन्ने नकारात्मक सोच बोकेर गलत बुझाइ दिएका छन्। तर वास्तवमा राजनीति भनेको दल वा पार्टी मात्र होइन, राज्य सञ्चालनको प्रक्रिया, संविधान, कानून, विचारधारा, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक अभ्यासको अध्ययन हो। राजनीति भनेको देशप्रतिको माया र उत्तरदायित्व हो।

आजको युगमा प्रविधिक ज्ञान जत्तिकै राजनीतिक चेतना र आर्थिक समझदारी पनि आवश्यक छ। विश्व राजनीति र प्रविधिको विकाससँगै जान सक्ने क्षमता युवामा हुनुपर्छ। तर अहिले Gen-Z ले पाएको अवसरलाई निर्णयमा रूपान्तरण गर्न नसक्नुको मूल कारण यही चेतनाको कमी हो।

अब अभिभावक—आमा–बुबा, दाजुभाइ–दिदीबहिनी सबैलाई अनुरोध छ: आफ्नो सन्तानलाई केवल ५ किलोको झोला बोकेर स्कुल पठाउने मात्र होइन, नैतिक र सांस्कृतिक शिक्षा पनि दिनुपर्छ। युवा पुस्तामा राजनीतिक चेतना, अन्तर्राष्ट्रिय कूटनीतिक ज्ञान, राष्ट्रिय भावना, संस्कृति, इतिहास र सम्पत्तिप्रतिको उत्तरदायित्व जागृत गराउनुपर्छ। शैक्षिक पाठ्यक्रममा नैतिक शिक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय मुद्दामा आधारित डॉकुमेन्ट्री, कार्यशाला र व्यावहारिक राजनीतिक शिक्षा समावेश गर्न जरुरी छ।

प्रतिनिधिहरूले जनताको आवाज बुझ्न, युवासँग संवाद गर्न र आफ्ना जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न जरुरी छ। अहिले भ्रष्टाचारले ग्रस्त मुलुक बिरामी आमाजस्तै छ, जसलाई बचाउन हामी सबै एकजुट हुनुपर्छ।

जय नेपाल!

 

लेखक

प्रदिप खनाल

कपिलवस्तु (हाल जापान)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma