
कपिलवस्तु
ज्येष्ठ नागरिक समाज शिवराज नगर समितिले ३५औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस २०८२ भव्यताका साथ मनाएको छ ।”हाम्रा जेष्ठ नागरिक चाहना समृद्धि र अधिकार, स्थानीयदेखि विश्वव्यापी पहलिकरण” भन्ने मूल नारासहित आयोजना गरिएको हो ।।
कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रीय उपाध्यक्ष रामु पौडेलले जेष्ठ नागरिकको हकअधिकारका लागि आफू निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै, बस यात्रा लगायतका क्षेत्रमा छुट सुविधा सुनिश्चित गर्नुपर्ने धारणा राखे।
प्रदेश सभा सदस्य अर्जुन केसीले वृद्धवृद्धाहरूलाई साथ र सहयोग गर्नु सन्तानको प्रमुख कर्तव्य रहेको बताए। संविधान सभा सदस्य ईलियास मुसलमानले जेष्ठ नागरिक सम्मान कार्यक्रममा छोराछोरी समेत उपस्थित हुनुपर्नेमा जोड दिए।
शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारूले न्यायिक समितिमा जेष्ठ नागरिकले जग्गा नपाएको भन्दै उजुरी आउने गरेको जानकारी दिइन्। वडानं ३ का अध्यक्ष टेकलाल सापकोटाले जेष्ठ नागरिक मिलन केन्द्र स्थापना आवश्यक रहेको धारणा राखे।
उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जम्सेर अली मियाँले आफ्नै घरबाट जेष्ठ नागरिक सम्मान सुरुवात गर्ने संकल्प व्यक्त गरे भने समाजसेवी हुमकान्त खनालले जेष्ठ नागरिक समाजका अभिभावक भएकोले उनीहरूको सम्मान गर्नुपर्ने बताए।
त्यस्तै, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका सभापति विष्णु खतिवडाले जेष्ठ नागरिकको अधिकार सुनिश्चितताका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा ८४ वर्ष माथिका जेष्ठ नागरिकलाई विशेष सम्मान गरियो । ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका केन्द्रीय सहसचिव थानेश्वर खनाल लगायतको उपस्थिति रहेको थियो
नगर अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षतामा तथा सचिव नारायण ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको हो।


प्रतिक्रिया