काठमाण्डाै – पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले भाेलि बुधवार अर्थ मन्त्रालयसँग शर्मासँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ ।
आज मङ्गलवार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको पहिलो बैठकले समितिको कार्यविधि पास गर्दै पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागजात र विवरणका लागि मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको समिति सचिव सुरेन्द्र अर्यालले बताउनुभयो । उहाँले आजको बैठकले छानबिन समितिको सभापति सर्वसम्मतिबाट छान्ने निर्णय भएको पनि जानकारी दिनुभयाे ।
सचिव अर्यालले आजको बैठकको सभापतित्व ज्येष्ठ सदस्यका हैसियतमा लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले गर्नुभएको बताउनुभयो । अर्काे बैठक भाेलि दिउँसाे बस्ने उहाँले जानकारी दिनुभयाे ।
शर्माले अर्थमन्त्री हुँदा २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय छिराएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
संसदीय छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य रहनुभएको छ भने समितिमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत रहनुभएको छ । यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा हुनुहुन्छ । छानबिन समितिले पहिलो बैठक बसेको १० दिनभित्र प्रतिवेदन तयार पारिसक्नुपर्नेछ ।


प्रतिक्रिया