Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नागरिकता विधेयक पास गर्न सिङ्गाे सदन सहमत हुने विश्वास लिएकाे छु : गृहमन्त्री

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पास गर्न सिङ्गो सदन सहमत हुने विश्वास व्यक्त गर्नुभएको छ ।

आज शुक्रवार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि संशोधनकर्ताहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खाणले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा राखेको प्रावधानलाई समेटेर नै नागरिकता विधेयक अघि बढाउन लागेको बताउनुभयो ।

गृहमन्त्री खाणले अहिले ल्याएको विधेयकको मूल आधारशिला नै नेपाली आमा र बुबा भएकाहरूले नै नागरिकता पाउने गरेर विधेयक ल्याएको बताउनुभयो । उहाँले ऐन, विधेयक बनाउँदा सरकार र सदनलाई पनि संविधानको प्रावधानका बारेमा उभिएर जानुपर्ने उल्लेख गर्दै आउँदा दिनमा पनि संशोधन गर्ने गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

गृहमन्त्री खाणले नागरिकता विधेयक सबैलाई आवश्यक रहेको उल्लेख गर्दै वैवाहिक अङ्गीकृतका लागि सबैले सहमति गरेर नागरिकताविहीन नेपालीलाई नागरिकको अधिकार दिनुपर्ने बताउनुभयो । उहाँले नागरिकताका बारेमा समस्या समाधान गर्न सरकार छलफलका लागि तयार रहेको पनि उल्लेख गर्नुभयो । गृहमन्त्री खाणले वैवाहिक अङ्गीकृतको सात वर्षको प्रावधानका कारण नै नागरिक संशोधन विधेयक अघि बढ्न नसकेको भन्दै सबैले यसलाई संशोधन गर्ने प्रस्ताव फिर्ता गर्न आग्रह गर्नुभयो ।

गृहमन्त्री खाँणले भन्नुभयो, ‘संविधान जारी भएपछि सदनमा याे विधेयकले प्रवेश पाएको हो । सदनमा राज्य व्यवस्था तथा सुशासनमा यो २२ महिना छलफल भयो । २२ महिनासम्म समितिका सदस्यहरूले छलफल गर्नुभयो । संशोधन दर्ता गर्नेहरूले पनि आफ्नो राय दिनुभयो । तर निष्कर्ष दिन सक्नुभएन । हामीसँग अभ्यास नै छ । दुई पटक त हामीले संविधान सभाको चुनाव नै गर्नुपर्‍याे । त्यसरी बनेको संविधानमा दुई पटक सहमतिका साथ संशोधन प्रस्ताव राखिसक्याैँ । संविधान भनेको जीवित दस्तावेज हो । अझै संशोधन गर्न सकिन्छ । माग गर्न सकिन्छ । यो विषयमा सिङ्गो सदन सहमत हुन सक्छ ।’

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि ४५ जनाले ९४ बुँदामा संशोधित प्रस्ताव पेस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma