कपिलवस्तुका तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र तर्फ गरी १ सय ४६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तर्फ ५१ जना र प्रदेश सभा सदस्य तर्फ ९५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
कपिलवस्तु क्षेत्र १ वाट प्रतिनिधि सभा तर्फ नेकपा एमालेबाट बलराम अधिकारीको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनले पूर्व मन्त्री नेकपा (माओवादी केन्द्र) का चक्रपाणि खनाललाई उम्मेदवार बनाएको छ ।यस क्षेत्रमा प्रतिनिधिसभा तर्फ २२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
यस क्षेत्रको प्रदेश सभा–१ तर्फ भने सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसका डोलकराम घिमिरेले मनोनयन दर्ता गराएका छन् भने नेकपा (एमाले) ले विष्णु पन्थीलाई उम्मेदवार बनाएको छ । पन्थी निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य हुन । प्रदेश सभा–२ तर्फ माओवादी, काङ्ग्रेसले सहसराम यादवलाई उम्मेदवार बनाएको छ । यादव जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी काङ्ग्रेसमा आएर टिकट पाएका हुन । यहाँ एमालेले मधुसूदन शरण चौधरीलाई उम्मेदवार उठाएको छ ।
प्रतिनिधि सभा–२ मा ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यहाँ सत्ता गठबन्धनले नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यलाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले) ले वृजेश कुमार गुप्तालाई उठाएको छ ।प्रदेश सभा–१ मा सत्ता गठबन्धनबाट नेपाल प्रहरीका पूर्व (एसएसपी) बिक्रम सिंह थापाले मनोनयन दर्ता गराएका छन् । नेकपा (एमाले) बाट नवराज लामिछानेले टिकट पाएका हुन । प्रदेश सभा–२ मा सत्ता गठबन्धनले नेपाली काङ्ग्रेसबाट सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ । एमालेले धर्मबहादुरलाल श्रीवास्तवलाई उम्मेदवार बनाएर मनोनयन दर्ता गराएको छ ।
प्रतिनिधि सभा –३ मा १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट काङ्ग्रेसका अभिषेक प्रताप शाहले मनोनयन दर्ता गराएका छन् । एमालेले मंगल प्रसाद गुप्तालाई उठाएको छ । प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का एहसान खान उम्मेदवार बनाएको छ । एमालेले अर्जुन केसीको मनोनयन दर्ता गराएको छ । केसी यहीँ क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्य हुन। प्रदेश सभा–२ मा सत्ता गठबन्धनबाट वीरेन्द्र कानौडियाले मनोनयन दर्ता गराउँदा एमालेबाट रजाउर्मान खांले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।


प्रतिक्रिया