Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

टक्करमा लोसपाका उम्मेदवार मिश्रा

मोफसल खबर
कार्तिक १
आसन्न निर्वाचन मिति घोषणा सँगै देश भरमा जस्तै कपिलवस्तुमा पनि चुनावी चर्चा परिचर्चा सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरू आफ्ना चुनावी नारा सहित आ—आफ्नो क्षेत्रमा प्रचार प्रसारमा जुटेका छन् ।
कपिलवस्तु जिल्लाको क्षेत्र नं. ३(क) मा पनि विभिन्न राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरू चुनावी मोर्चामा होमिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट यस क्षेत्रमा प्रदेश सभा सदस्यको लागी उम्मेदवार बनेका रविदत्त मिश्रा सँग अन्य उम्मेदवारहरूको टकराब रहने देखिएको छ ।
२०७४ मा राष्ट्रिय जनता पार्टीबाट चुनाव लडेका मिश्रा झिनो मतले एमालेका उम्मेदवार अर्जुन कुमार के.सी सँग पराजित भएका थिए । तत्कालीन अवस्थामा के.सी. नेकपा माओवादी केन्द्र र एमालेको एकता भई बनेको नेकपा बाट उम्मेदवार रहेका थिए । दुई पार्टीको एकता हुँदा के.सी.ले ९ हजार ४३ मत प्राप्त गरी निर्वाचित भएका थिए भने मिश्राले निकटतम प्रतिस्पर्धी बन्दै ८ हजार १ सय ९७ मत प्राप्त गरेका थिए ।
मङ्सिर ४ मा हुने निर्वाचनमा यस क्षेत्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रतिस्पर्धा मिश्रा सँग हुने आङ्कलन गरिएको छ । क्षेत्र नं. ३(क) मा भेगको हिसाबमा दक्षिणी क्षेत्र धेरै पर्ने र सोही क्षेत्रमा मिश्र लोकप्रिय नेताको रूपमा स्थापित भएका कारण पनि अन्य उम्मेदवार भन्दा उनी बलियो देखिएका हुन । स्रोतका अनुसार मिश्रालाई जनता समाजवादी पार्टी, जनता प्रगतिशील पार्टीको सहयोग रहने छ जसका कारण उनी जितको नजिक पुग्ने सम्भावना बलियो देखिन्छ ।
यता निर्वमान लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी. नेकपा एमालेबाट उम्मेदवार भई चुनावी प्रचार प्रसारमा लागेका छन् । क्षेत्रको उत्तरी भेगमा लोकप्रिय रहेका,आफ्नो कार्यकालमा पनि क्षेत्रको विकासमा अहोरात्र खटिएका के.सी.लाई यस पटक भने आफ्नो पक्षमा जित निकाल्न राम्रै कसरत गर्नु पर्ने देखिन्छ । यस्तै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका एहसान अहम खाँलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,राष्ट्रिय जनमोर्चाको साथ रहेको छ । बाम लोकतान्त्रिक गठबन्धनमा विश्वास कायम रह्यो भने खाँको जित भने सुनिश्चित देखिन्छ ।
यस क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनबाट अलग्गिएर नेकपा एकीकृत समाजवादीको पनि उम्मेदवारी रहेको छ । एकीकृत समाजवादीबाट उम्मेदवार बनेका जीवलाल पौडेल पनि चुनावी दौडमा नै रहेका छन् । एकीकृत समाजवादीबाट नै बागी उम्मेदवार ओम प्रकाश कुर्मी उम्मेदवार बने पछि भने पौडेललाई आफ्नो पक्षमा मत पार्न ठुलै संर्घष गर्नु पर्ने देखिएको छ । स्थानीय निर्वाचनमा शिवराज नगरपालिकामा लोकप्रिय मत प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कृष्ण पौडेल पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् । शिवराज नगरपालिका प्रमुख पदमा लोकप्रिय मत प्राप्त गरेको राप्रपाले आसन्न निर्वाचनमा भने आफ्नो पक्षमा मत पार्न कसरत नै गर्नु पर्ने देखिन्छ ।
क्षेत्र ३(क)को उत्तरी भेगमा स्वतन्त्र उम्मेदवार बनेका पुस्कार बन्जाडे सहित ४ जनाको उम्मेदवारी रहेको छ भने दक्षिणीमा मिश्राको प्रतिस्पर्धामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मात्रै रहेकोले पनि आसन्न निर्वाचनमा जिल्लाको ३(क)मा सबै उम्मेदवारहरूको मिश्रा सँग टकराब रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma