पदीय मर्यादा विपरीत कार्य गरेको भन्दै कपिलवस्तुका एक मतदान अधिकृत पदमुक्त भएका छन् । जिल्लाको क्षेत्र नम्बर ३ (ख) को कृष्णनगर नगरपालिका ४ मा रहेको श्री गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई पदमुक्त गरिएको हो।
निर्वाचन अधिकृतको कार्यालय, चन्द्रौटा, कपिलवस्तुका अधिकृत प्रकाश मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले पन्थीलाई पदमुक्त गरेको हो। पन्थीलाई कार्तिक २२ गतेदेखि मतदान अधिकृत पदमा नियुक्त गरिएको थियो । पन्थीले निर्वाचनको कार्य सम्पादन गर्दा उच्चस्तरको नैतिक आचरण विपरीत कार्य गरेको हुनाले मतदान अधिकृतको जिम्मेवारीबाट पदमुक्त गरिएको मरासिनीले बताउनुभयो।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्देशिका २०७९ दफा ८३ (१) बमोजिम पन्थीलाई पदमुक्त गरिएको उहाँले बताउनुभयो । उक्त मतदान केन्द्रमा यमलाल न्यौपानेलाई मतदान अधिकृत पदमा नियुक्त गरिएको निर्वाचन अधिकृत मरासिनीले बताउनुभयो ।


प्रतिक्रिया