शिवराज नगरपालिका मा मेलमिलाप सम्बधि तालिम सम्पन्न भएको छ | शिवराज नगरपालिका र जनहित संरक्षण मञ्च (प्रो पब्लिक) को संयुक्त आयोजनामा “हाम्रो समस्या, हाम्रै समाधानः मेलमिलाप” भन्ने मूल नारासहित कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुर देउराली रिसोर्ट मा भएको मेलमिलापसम्बन्धी आठ दिवसीय (४८ घण्टे) आधारभूत तालिम भएको हो ।
प्रो पब्लिकद्वारा कार्यान्वयनमा रहेको नागरिक शान्ति सेवा कार्यक्रमअन्तर्गत विगत तीन वर्षदेखि बुद्धभूमि नगरपालिकामा सञ्चालन हुँदै आएको कार्यक्रमलाई विस्तार गर्दै स्थानीय तहमा उत्पन्न हुने विवादहरूलाई समुदायकै स्वयम्सेवी अगुवाहरूको संलग्नतामा दीगो समाधान गर्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको हो।
कार्यक्रम संयोजक झबिन्द्र अधिकारी का अनुसार, शिवराज नगरपालिका अन्तर्गतका ११ वटै वडामा वडा मेलमिलाप सेवा सञ्चालन गरी मेलमिलाप केन्द्रहरूलाई विधिसम्मत, निष्पक्ष र प्रभावकारी बनाउने लक्ष्यसहित व्यवहारिक ज्ञान र सीपयुक्त थप मेलमिलापकर्ता तयार पार्न तालिम सञ्चालन गरिएको हो।
मेलमिलाप परिषद् अन्तर्गत सूचीकृत तथा आधिकारिक तालिम प्रदायक संस्थाका रूपमा रहेको प्रो पब्लिकका प्रशिक्षकद्वय बाबुराम पौडेल र झबिन्द्र प्रसाद अधिकारी ले संयुक्त रूपमा प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो।
तालिममा मेलमिलापसम्बन्धी कानुनी प्रावधान, सञ्चार तथा सहजीकरण सीप, मेलमिलापकर्ताको गुण र भूमिका, मेलमिलापका चरणगत प्रक्रिया, मानवअधिकार, मनोसामाजिक तथा प्रशंसनीय दृष्टिकोणलगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो। २०८३ वैशाख २० गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त तालिमबाट ३३ जना स्थानीय अगुवाहरू मेलमिलापकर्ताका रूपमा तयार भएका छन्।
२०८३ वैशाख २८ गते आयोजित सिकाइ आदानप्रदान तथा जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले तालिममा सिकेका विषयहरूलाई भजन, कविता र गीतमार्फत रचनात्मक रूपमा प्रस्तुत गरेका थिए। सहभागीहरूले विवाद समाधानको नमुना अभ्यास प्रदर्शन गर्दै दुबै पक्षको “जित–जित” हुने गरी वैज्ञानिक ढंगले विवाद समाधान गर्न सकिने व्यवहारिक सीप प्रस्तुत गरेका थिए।
समापन कार्यक्रममा तालिम प्राप्त मेलमिलापकर्ताहरूले तालिमले व्यक्तिगत व्यवहार परिवर्तनमा सहयोग पुगेको, स्वयम्सेवाको भावना जागृत भएको तथा समाजप्रति योगदान गर्न आवश्यक सैद्धान्तिक र व्यवहारिक सीप प्राप्त भएको बताएका थिए।
प्रो पब्लिकका कार्यकारी निर्देशक बाबुराम पौडेल ले मेलमिलाप सेवाको दीगोपना र स्वामित्वका लागि प्रो पब्लिकले स्थानीय तहसँग साझेदारीमा काम गरिरहेको तथा शान्तिपूर्ण समाज निर्माणमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समापन कार्यक्रममा वडाध्यक्षहरू खिम विक्रम केसी, रामबहादुर चौधरी, टेकलाल सापकोटा, नसिम अहमद खाँ, नेत्र बेल्बासे, रिजवान अहमद खाँ, मञ्जु मिश्रा, रामगोपाल चौधरी थारु तथा समाजसेवी थानेश्वर खनाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन सुष्मा भट्टराई ले गर्नुभएको थियो। कार्यक्रममा वडाध्यक्षहरूको तर्फबाट मन्तव्य राख्दै रामबहादुर चौधरी र नेत्र बेल्बासे ले विवाद समाधानमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मेलमिलाप केन्द्र सञ्चालनका लागि आवश्यक समन्वय र सहयोग नगरपालिकाबाट निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।


प्रतिक्रिया