काठमाडौं – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको विकासका लागि काँग्रेसका उम्मेदवार जिताउनुको विकल्प नभएको बताउनुभएको छ । आज चुनावी प्रचारका लागि गृहजिल्ला डडेल्धुरा पुग्नुभएका देउवाले डडेल्धुराको अमरगढीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दैे काँग्रेस उम्मेदवारलाई जिताए डडेल्धुरामा विकास गरेर प्रदेश राजधानी समेत बनाउने आश्वासन दिनुभयो ।
२०७४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको चुनावपछि देउवा नेतृत्वको सरकारले नै कैलालीको धनगढीलाई प्रदेशको अस्थायी राजधानी तोकेको थियो । सुदूरपश्चिम प्रदेशसभाले कैलालीको गोदावरीलाई प्रदेश राजधानी तोक्ने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको छैन ।
प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि अग्रसरता बढाएको जानकारी दिनुभयो । पश्चिम सेती बन्यो भने सुख्खायममा पनि लोडसेडिङ नहुने प्रधानमन्त्री देउवाको दाबी छ ।
यसैबिच, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसमा रहेको नागरिकताको समस्या गठबन्धन सरकारले समाधान गर्ने बताउनुभएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारका लागि मत माग्न रौतहट पुगेका प्रचण्डले जेठ ३ गते संसद् सुचारु भएपछि संसद् अवरोधकैबीच भएपनि नागरिकताको समस्या समाधान गर्ने बताउनुभयो ।
यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले कांग्रेसले संसद विघटन गर्दा सदर गरेको र एमालेले गर्दा बदर गरेको टिप्पणी गर्नुभएको छ ।
मंगलबार एमालेले काठमाडौंमा आयोजना गरेको आमसभामा बोल्दै उहाँले कांग्रेसले भंग गर्दा संवैधानिक भनिएको तर एमालेले भंग गर्दा अवैधानिक भनिएको टिप्पणी गर्नुभयो ।
न्यायाधीशको नियुक्ति पनि स्वतन्त्र र निष्पक्ष र तटस्थ होस् भन्ने आफूहरुको चाहना रहेको तर पार्टीका कार्यकर्ता एकैपटक न्यायाधीश हुने गरेको उहाँको भनाइ छ ।
यता, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्ष खेर फाल्ने कार्य गरेकाले अभियुक्त भएको टिप्पणी गर्नुभएको छ ।
मतदातालाई ओलीले जवाफ दिने समय भएकाले ओली अभियुक्त साबित भएको थापाको आरोप छ । पूर्वप्रधानमन्त्री ओलीले २२९ सडकका लागि शिलन्यास गर्दै गर्दा बजेट विनियोजन नगरी स्विच थिचेको थापाले बताउनुभयो ।


प्रतिक्रिया