लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रूपमा विकास गर्ने नीति ल्याएको छ । बुधबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले बुटवललाई आर्थिक राजधानी र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रुपमा विकास गरिने बताउनुभएको छ । पर्यावरण सन्तुलनको लागि कपिलवस्तुको सुरही खोला,धान खोला अर्जुन खोलामा जलाशाहरु निर्माण गरिने भएको छ । जगदिशपुर बढैयाताल आसपास क्षेत्रलाई समेटेर चरा आरक्ष क्षेत्र घोषणा गरि चराको सिकार गर्न निशेधित गरिने उल्लेख गरिएको छ ।
स्थायी राजधानी तोकिएको स्थानमा नयाँ नगरपालिका बनाएर विकास गर्ने बताइएको छ । दाङको राप्ती उपत्यका देउखुरीलाई प्रदेश सरकारले गौरवको आयोजना घोषणासँगै लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती अस्पताललाई गौरवको आयोजनामा राखेको छ । नीति तथा कार्यक्रममा ‘राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्कने गरी गुरुयोजनाको आधारमा प्रदेश राजधानीको लागि पूर्वाधार निर्माण जग्गा व्यवस्थापन, ल्याण्ड पुलिङ्ग र अन्य संरचना निर्माण गर्ने कार्य अघि बढाइने शेरचनले उल्लेख गरेका छन् ।
प्रदेशको राजधानी व्यवस्थापनबाहेक लुम्बिनी प्राविधिक विश्वविद्यालय, पाल्पाको रामपुरदेखि रोल्पाको पातेहल्ना, जिन वाङ, रामपुर कपरकोट जीवराज आश्रित सडक, कृष्ण सेन इच्छुक मार्गलाई प्रादेशिक गौरवको आयोजनाको रूपमा विकास गरी कार्यान्वयन गरिने उल्लेख छ । यस्तै अर्घाखाँची र प्युठानको सिमनामा पर्ने नौमुरे बहुउद्देश्यीय जलाशय युक्त परियोजनालाई संघीय सरकारसँगको समन्वयमा प्रदेशको महत्त्वपूर्ण योजनाको रूपमा अघि बढाइने प्रदेश सरकारले नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै नीति तथा कार्यक्रम एक स्थानीय तह एक नर्सरीको अवधारणा ल्याएको छ ।


प्रतिक्रिया