Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

गाैतमलाई राष्ट्रियसभामा लगिने, पार्टी र सरकारबारे प्रस्ताव तयार गरिने

नेकपा सचिवालयको बैठकमा नेता बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा लैजाने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराउनुभएको छ । सो कुराको जानकारी बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभयो । बैठकमा प्रधानमन्त्रीले रिक्त राष्ट्रियसभा सदस्य पदमा सरकारका तर्फबाट राष्ट्रपति समक्ष गौतमको नाम सिफारिस गर्ने जानकारी गराउनुभएको श्रेष्ठले पत्रकारहरूलाई बताउनुभयो ।

यसैबीच राससका अनुसार सरकारको तर्फबाट गरिएको सिफारिसका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ । यसअघि अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाईसमेत सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले नियुक्त गर्नुभएको थियो । संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले तीन जना सदस्य नियुक्त गर्ने प्रावधान रहेको छ ।

यसअघि सिफारिशसहित नियुक्त हुनु भएका राष्ट्रियसभा सदस्यमा डा खतिवडा, रामनारायण बिडारी र बिमला राई पौडेल हुनुहुन्छ । त्यसमध्ये डा खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो ।

साथै हाम्रा समाचारदाताका अनुसार बैठकमा देशमा कोरोनाको सङ्कटबारे छलफल तथा बाढी पहिरोमा भएको धनजनको क्षतिप्रति दुख व्यक्त गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमा प्रारम्भिक छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । समयमै प्रतिवेदन पेश गरेकोमा बैठकले कार्यदलका सदस्यहरूलाई धन्यवाद समेत व्यक्त गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यदलले भदौ ६ गते प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो । पार्टी र सरकारको सन्दर्भमा अध्यक्षद्वयले आवश्यक प्रस्तावका लागि गृहकार्य गर्नुहुने र उपयुक्त समयमा स्थायी कमिटीको बैठकमा राख्नुहुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । स्थायी कमिटी बैठकको सुझाव र सल्लाहलाई ध्यान दिई प्रस्तावलाई अन्तिम मस्यौदाको रुप दिई सचिवालयमा पुनः प्रस्तुत गर्नुहुने उहाँले जानकारी दिनुभयो ।

सचिवालयबाट अनुमोदित प्रस्ताव पुनः स्थायी कमिटी बैठकमा छलफल भई पारित हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्री ओलीले वर्षाका कारण देशमा आएको बाढी पहिरोले पुर्याएको जनधनको क्षतिबारेमा बैठकलाई जानकारी गराउनुभएको प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो । राहत, उद्धार र पुनर्स्थापनाको कामलाई छिटोछरितो बनाउन बैठकले सरकारसँग आग्रह गर्दै सिङ्गो पार्टी पङ्तिलाई उद्धार तथा पुनर्स्थापनामा जुट्न आग्रह गरेको छ ।

बाढी पहिरोका कारण ज्यान गुमाउनेप्रति बैठकले श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । पार्टीको एकता महाधिवेशनको काम पनि सँगसँगै अगाडि बढाउने र पार्टीलाई एकताबद्ध बनाएर सरकारको काम प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । सचिवालयमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष गौतम, महासचिव विष्णुप्रसाद पौडेल, नेताहरू ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा रहनुभएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma