Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

लुम्बिनी सरकारद्धारा ४० अर्ब ९५ करोडको बजेट प्रस्तुत, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता


बुटवल- लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि ४० अर्ब ९५ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा ३७ अर्ब ३५ करोड रुपैयाँ बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा साढे ३ अर्ब बढीको बजेट ल्याएको हो । मंगलबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक, मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ विनियोजन गरेको बताए ।
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टिकृत सुविधासहितको अस्पतालमा स्तरोन्नती गर्न २५ करोड रकम विनियोजन गरेको छ । लुम्बिनी प्रदेश सभामा आगामी वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेशका चार कोभिड उपचार अस्पताललाई पर्याप्त बजेट विनियोजन गरिएको बताउनुभयो ।बजेट सार्वजनिक गर्दै उहाँले डीपीआर सम्पन्न भएका अस्पताललाई आगामी आर्थिक वर्षमा निर्माण सुरु गर्न आवश्यक बजेट विनियोजन गरेको बताउनुभयो । त्यस्तै जिल्ला स्तरका सरकारी अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, कोभिड बिरामीको निःशुल्क उपचार गर्ने र स्तरीकरणका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले कोभिड–१९ को उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरुको तलब स्केलमा ५० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको पनि बताउनुभयो ।

स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ । कोभिड–१९ महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर लुम्बिनी प्रदेश सरकारले बजेट ल्याएको उनले बताए । बजेटको ठूलो हिस्सा स्वास्थ्यसँगै कृषि, बेरोजगारी अन्त्य, आर्थिक क्षेत्रको पुनस्रुत्थान खर्च गर्ने गरी बजेट ल्याएको बताए । सरकारले स्वास्थ्यतर्फ चिकित्सक, स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता, पूर्वाधार विकासमा जोडदेखि उपचार खर्च निस्शुल्क गर्ने गरी बजेट विनियोजन गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालााई विशिष्टिकृत अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन गरेको छ भने राप्ती प्रादेशिक अस्पताललाई विशिष्टिकृत अस्पतालका रूपमा विकास गर्न डीपीआर निर्माण गरिने र त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको उनले बताए ।
उनले हालसम्म ५० शय्यामा स्तरोन्नती भएका सबै अस्पतालमा विशेषज्ञ, दुर्गममा विशेषज्ञसहित शिविर गरिने बताए । दाङको लमहीमा बनाउने भनिएको ट्रमा सेन्टरका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । दाङ प्रादेशिक आयुर्वेद अस्पतालको स्तरोन्नति र बुटवलको लुम्बिनी आयुर्वेद अस्पतालालाई २० शय्याको आयुर्वेद अस्पतालका रूपमा विकास गर्न दुई करोड रुपैयाँ छुट्याइएको छ । प्रयोगशाला स्तरोन्नति, नवलपरासी पश्चिम र रूकुमपूर्वमा आयुर्वेद अस्पताल सञ्चालन गर्न एक–एक करोड रुपैयाँ छुट्याइएको उनले बताए ।

त्यस्तै सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशभरका सबै सरकारी अस्पतालहरूबाट निस्शुल्क रक्तसञ्चार सेवा आरम्भ गर्ने भएको छ । ‘निस्शुल्क रक्तसञ्चार प्रदान, लुम्बिनी प्रदेशको पहिचान’ भन्ने नारालाई आत्मसात गर्दै निस्शुल्क रक्तसञ्चार सेवा सुरु गर्न पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । त्यस्तै मिर्गौला प्रत्यारोपणका लागि संघीय सरकारले उपलब्ध गराउनेबाहेक प्रदेश सरकारले प्रतिव्यक्ति दुई लाख रुपैयाँ उपलब्ध गराउनुका साथै १६ वर्षभन्दा मुनिका क्यान्सरका बिरामीका लागि प्रतिव्यक्ति एक लाख रुपैयाँ उपलब्ध उनले बताए । यसैगरी कोरोना परीक्षणको दायरा बढाउने, अक्सिजन प्लान्ट स्थापना, प्रदेशका सबै सरकारी अस्पतालमा कोरोना संक्रमितको निस्शुल्क उपचारका लागि पनि बजेट छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma