Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

साफ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेशन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मान पत्र वितरण कार्यक्रममा उहाँले साफ फुटबल नेपालमा आयोजना गरिने जनाउँदै नेपाली टोलीलाई जित्ने उद्देश्यका साथ अभ्यास गर्न सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले साफ फुटबलको तयारी थाल्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिनुभयो । 

आयोजक देश बङ्गलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले प्रस्ताव अघि बढाएकाे सन्दर्भमा प्रधानमन्त्री ओलीले उपाधि जित्नका लागि कडा मेहनत आवश्यक भएकाले नेपाली टोलीलाई जित्ने लक्ष्य लिएर मैदानमा उत्रिन आग्रह गर्नुभयो । ‘हामी साफ आयोजना गर्न सक्छौँ, मनोबल उच्च बनाउनुस्’, उहाँले भन्नुभयो । गएकाे वर्ष चैतमा सम्पन्न ‘थ्री नेशन्स कप’ को फाइनल खेलको दशरथ रङ्गशालामा प्रत्यक्षरूपमा अवलोकन गरेको सम्झना गर्दै प्रधानमन्त्री ओलीले कद होचो भए पनि मनोबल उच्च भएकाले नेपाली टोलीले बङ्गलादेशसितको फाइनल खेल जित्नेमा आफू त्यति बेलै आशावादी भएको बताउनुभयो । 

नेपाली टोलीले अनुशासित रूपमा फाइनल खेल खेलेको जनाउँदै उहाँले खेलमा अनुशासन अत्यावश्यक भएको बताउनुभयो । ‘टोलीको आत्मविश्वास बढाउन हरेक खेलाडीले आफ्नो आत्मविश्वास बढाउनु आवश्यक हुन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो । देशको विकास हुनका लागि खेलकुदको मात्र नभइ चौतर्फी विकास आवश्यक भएको उहाँको भनाइ थियो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाली टोलीका खेलाडी र प्रशिक्षकलाई नगदसहित खादा ओढाइ सम्मान पत्र प्रदान गर्नुभएको थियो ।  

कार्यक्रमकाे सुरुमा युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले मन्त्रालयले गरिरहेका विभिन्न गतिविधिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै उपाधि विजेता फुटबल टोलीका लागि एक एक करोड रुपैयाँ निकासा गरिएको बताउनुभयो । सम्मानितका तर्फबाट नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू चेम्जोङले सरकारले सम्मान गरेपछि आफूहरू थप उत्साहित भएको बताउँदै आउँदा दिनमा पनि सम्मान र पुरस्कृत हुने उद्देश्यका साथ खेल प्रदर्शन गर्ने बताउनुभयाे । ‘आउँदा दिनमा पुरस्कृत र सम्मान गर्न बाध्य पार्ने गरी खेल्छौँ’, उहाँले भन्नुभयो । 

कार्यक्रममा चेम्जोङले सरकारले नेपालमै १३ औँ साफ फुटबल आयोजना गर्न पहल गरे सम्भव हुने तथा नपाली टोली उपाधि उचाल्ने गरी मैदानमा उत्रिने बताउनुभएको थियो । टोलीका खेलाडीलाई सरकारले जनही चार लाख तथा प्रशिक्षकलाई जनही दुई लाख रुपैयाँ प्रदान गरेको छ । त्यस अवसरमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रधानमन्त्री ओलीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । 

नेपाल, बङ्गलादेश र किर्गिस्तानबीचको ‘थ्री नेशन्स कप’ गएकाे वर्ष चैत १० देखि १६ गतेसम्म नेपालमा सञ्चालन भएको थियो ।  प्रतियोगिताको फाइनलमा नेपालले बङ्गलादेशलाई दुई–एक गोल अन्तरले हराउँदै उपाधि जितेको थियो । नेपालका लागि संजोक राई र विशाल राईले एक–एक गोल गरेका थिए । 

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ठूलो प्रतियोगिताको पहिलो पटक उपाधि जितेको थियो । पुरस्कृत हुनेमा चेम्जोङ, सञ्जोग, विशाल,  रञ्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, रविशङ्कर पाशवान, तेज तामाङ, अञ्जन विष्ट, अभिषेक रिजाल, विकेश कुथु, निशान खड्का, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, एरिक विष्ट, सुनिल बल, दर्शन गुरुङ, भरत खवास र दीप कार्की तथा मुख्य प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षक विकास मल्ल रहेका छन् ।  

पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा युवा मन्त्री कृष्णगोपाल श्रेष्ठ, राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललगायतको उपस्थिति थियो । 

यसअघि साफ यस वर्ष बङ्गलादेशमा आयोजना हुने तय थियो । प्रतियोगिता सेप्टेम्बर १४ देखि २५ तारिखसम्म गर्ने तय भए पनि बङ्गलादेशले अन्तिम समयमा कोरोना भाइरस महामारीलगायत कारण आयोजना गर्न नसक्ने जनाएको थियो । बङ्गलादेशले प्रतियोगिताको आयोजनाबाट हात झिकेपछि नेपाल र श्रीलङ्काले साफ फुटबल आयोजना गर्न दाबी गरेका छन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma