Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

विदेशी हस्तक्षेपमा सरकार परिवर्तन भएको अध्यक्ष ओलीको आरोप

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रलाई उपहास गरेर अदालतले निर्णय गरेको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले संविधानको मूल्य र मान्यताविपरीत जनताको जनादेशलाई उपहास गरेर अदालतको आदेश भएको बताएका हुन् । उनले मुलुकलाई निर्दलीयतातर्फ लैजाने षड्यन्त्र भइरहेको जिकिर गरे । त्यस्तै उनले एमाले विभाजन गर्ने षड्यन्त्र भइरहेको भन्दै सचेत हुनुपर्ने बेला आएको बताए ।

ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलास गठनकै बेलादेखि फैसलाको पूर्वाभ्यास भइसकेको समेत उनले बताए । त्यस्तै उनले नेपालको सरकार परिवर्तनमा विदेशी हस्तक्षेप भएको आरोप पनि लगाए । आफू नेतृत्वको सरकारले जनता र देशका लागि निकै काम गरेको र अबको सरकारले त्यसको जस लिने तर्क गरे ।

बैठकले जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको निर्णयविरुद्ध जनतामा अभियानका साथ जाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षार्थ अभियान चलाउनुपर्छ भन्ने पार्टीको निष्कर्ष रहेको उनको भनाइ छ ।

बाढी र पहिरोका कारण मृत्यु हुनेलाई श्रद्धान्जलि दिँदै घाइतेको नि:शुल्क उपचारको माग गरिएको भट्टराईले बताए । उनले खोपको प्रबन्ध भइसकेको अवस्थामा सबै नागरिकमा खोपको पहुँच पुर्‍याउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको बताए । उनले अर्को बैठकमा अन्तुष्ट नेताहरुलाई सहभागी गराउन प्रयत्न गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकमा माधव नेपाल पक्षका सांसदहरू अनुपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma