Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

राप्रपाले सबै स्थानीय तहमा उम्मेदवारी दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकमा महामन्त्री तथा स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले पेश गरेको स्थानीय तह निर्वाचन विशेष कार्ययोजनामाथि छलफल भएको थियो ।

जसमा सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने, पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउने, पार्टीको सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने, देशव्यापी पार्टी प्रवेश र कोणसभा गर्नेलगायत निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने निर्णय भएको छ ।

राप्रपाले समान विचार भएकाहरूसँग एकता, मोर्चा वा सहकार्यका लागि वार्तालाई निरन्तरता दिने, वार्ता नभएका समूहसँग वार्ता गर्ने र हाल पार्टीमा समावेश भएकाहरूलाई जिम्मेवारी दिने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै, पार्टीको केन्द्रीय समितिको बैठक फागुन ११ गते काठमाडौंमा बस्ने निर्णय भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma