Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

सरकारी सम्पत्ति फिर्ता ल्याउन नसके एक ‘सेकेन्ड’ पनि कुर्सीमा बस्दिनँ : मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तर्गतको अतिक्रमणमा परेका सरकारी सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताउनुभएको छ । 

आज शुक्रवार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले यस्ताे बताउनुभएकाे हाे । सरकारकाे दोहन भएको सम्पति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको उहाँले बताउनुभयो । 

विगतदेखि नै सरकारी जग्गाहरूमा अतिक्रमण भइराखेको भए पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने मन्त्री आलेले दाबी गर्नुभयाे । पदमा बसुन्जेल इमानदारपूर्वक देशका लागि काम गर्ने मन्त्री आलेले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारी नियुक्ति पाएका कर्मचारीले अन्य व्यक्तिसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने चेतावनी दिनुभयो । 

मन्त्री आलेले भन्नुभयो – ‘नारायणहिटी दरबार सङ्ग्रहालयको कुरा भयाे, धर्मशालाको कुरा भयो । यदि यी सम्पत्ति फिर्ता ल्याउन सकेनौँ भने म त एक सेकेन्ड त्यहाँ बस्नेवाला छैन । मलाई त्यो नैतिकता पनि छैन । सरकारी सम्पत्ति दोहन भएको छ, त्यो फिर्ता ल्याउने कर्तव्य मेरो हो । सचिवजीको हो । हामी सबैकाे हाे । गोठाटारमा सयौँ टहरा बनेर त्यहाँ अतिक्रमण भइराखेको छ । विगतदेखि हामी टुलुटुलु हेरेर बसेका छौँ । पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गर्न पाइन्छ ? खोइ त ध्यान गएको त्यहाँ ? त्यसका लागि सचिव महेश्वर न्यौपाने नै चाहिने ? प्रेम आले नै चाहिने मन्त्री ? विगतदेखि प्रणाली बिग्रेको अवस्था मैले देखेको छु । हामी जति दिन बस्छौँ, देशका लागि काम गर्छाैँ ।’

नेपालका क्यासिनोहरूले विगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उहाँले अहिले मन्त्रालय कर उठाउन लागेको बताउनुभयो । आफूले राम्रो काम गरिरहे पनि केही सञ्चारमाध्यम भने आफ्नो विरुद्धमा लागेको भन्दै उहाँले गलत समाचारमा विश्वास नगर्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन पनि दिनुभयो । 

मन्त्री आलेले पुँजीगत खर्चलाई वृद्धि गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । पर्यटन मन्त्रालयको पुँजीगत खर्च कम छ भनेर शिर निहुराउनुपर्ने अवस्था आउन नदिने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma