Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

केपी ओलीसँग फेरि पनि सहकार्यको प्रचण्डले प्रस्ताव राख्ने

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले फेरि पनि केपी ओलीसँग सहकार्य गर्न सक्ने घोषणा गर्नुभएको छ । तत्काल सहकार्य नभए पनि समय परिस्थितिले फेरि पनि एमालेसँग एकता, सहकार्य र चुनावी गठबन्धन हुन सक्ने उहाँले बताउनुभयो ।

जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै प्रचण्डले आवश्यक परे आफूले केपी ओलीसमक्ष सहकार्यको प्रस्ताव लैजाने बताउनुभयो ।

एमसीसीकै कारण सत्तारुढ गठबन्धन दुर्घटनामा पर्न लागेका बेला प्रचण्डले एमालेसँग सहकार्य गरेर अघि बढ््न सक्ने चेतावनी दिनुलाई मुलुकमा छिट्टै राजनीतिक उथलपुथल मच्चिनसक्ने रुपमा हेरिएको छ ।

एमसीसीको विपक्षमा जाँदा गठबन्धन र सरकार छोड्न परे पनि तयार रहेको स्पष्ट पार्दै प्रचण्डले एमसीसी अनुमोदन प्रक्रियामा लगे गठबन्धन र सरकार दुवैबाट बाहिरिने घोषणा पनि गर्नुभयो ।

एमसीसीको विपक्षमा जनमत भएका बेला अनुमोदन प्रक्रियामा लैजान नहुने उहाँको भनाइ छ । प्रचण्डसँगको यो अन्तर्वार्ता आज राति ९ बजे प्रशारण हुनेछ ।

यसैबीच एमसीसीमा सहमति जुटाउने शीर्ष नेताहरुको प्रयास असफल भएको छ । आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीबारे चर्काचर्की समेत परेको खबर छ ।

प्रधानमन्त्री देउवाले एमसीसी सदनमा टेबुल गरेर अगाडि बढ्ने प्रस्ताव राखेपछि प्रचण्ड र माधव नेपालले सहमतिबिना टेबुल नहुने कुरा राख्नुभएको थियो । देउवाले गठबन्धन नै समस्यामा पर्ने भनेपछि दुवै नेताले बरु गठबन्धन जे होस् टेबुल गर्न नदिने अडान लिनभएको थियो । आजको बैठकमा परेको चर्काचर्कीले पनि गठबन्धन दुर्घटनामा पर्ने अवस्था विकास भएको हो ।

यसैबीच प्रमुख विपक्षी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमसीसीबारे झिल्केमिल्के कुरा गरेर प्रचण्डले जनतामाझ फट्याईँ गरेको आरोप लगाउनुभयो । भित्र एउटा र बाहिर अर्काे कुरा गर्ने प्रचण्डलाई जनताले सचेत पार्नुपर्ने उहाँले बताउनुभयो ।

एमसीसीबारे कुरा नमिलेर सत्ता गठबन्धन भत्किने अवस्थामा पुगिसकेका बेला सरकारका सहभागी माओवादी केन्द्रका मन्त्रीहरु भने तीन तहकै निर्वाचनसम्म गठबन्धन कायमै रहने दाबी गरिरहेका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले तीन तहकै निर्वाचन एक वर्षभित्र सम्पन्न हुने र गठबबन्धन कायमै रहने दाबी गर्नुभयो ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पास गर्ने भन्दै अमेरिकालाई पठाएको प्रतिबद्धतापत्र सार्वजनिक भएदेखि गठबन्धनमा दरार उत्पन्न भएको हो ।

श्रोतका अनुसार प्रधानमन्त्री सचिवालयबाट पत्र सार्वजनिक भएको भन्दै प्रचण्डले देउवालाई फोन गरेर यतिबेला पत्र सार्वजनिक गर्नुपर्ने के आइलाग्यो भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो । त्यसपछि प्रचण्ड केपी ओलीसँग नजिक हुन खोजिहरनुभएको छ । दुईदिनअघि मात्रै ओलीसँग टेलिफोन वार्ता गर्नुभएका प्रचण्डले आज एमालेसँग फेरि पनि सहकार्य हुन सक्ने घोषणा गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma