Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

निजी क्षेत्रलाई सरकारले अंसियारका रूपमा लिएकाे छ : अर्थ मन्त्री शर्मा

कास्की – अर्थ मन्त्री जनार्दन शर्माले राष्ट्रको समुन्नतिका लागि सरकार र निजी क्षेत्र एकआपसमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।

लेखनाथ महोत्सव–२०७८ को आज बिहीवार कास्कीको लेखनाथ डाँडाको नाकमा उद्घाटन गर्दै उहाँले राजनीतिक एवम् संवैधानिक रूपमा प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताउनुभयो ।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै समुदायलाई आत्मनिर्भर बनाउनु आवश्यक भएकाेमा जोड दिँदै उहाँले कोरोनाका कारण अर्थतन्त्रमा असर पारेको उल्लेख गर्नुभयो । कृषिमा चाँडो आत्मनिर्भर बन्नसक्ने देखिएको बताउँदै उहाँले त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रले देशमा ७२ प्रतिशत योगदान गरेको बताउँदै उहाँले यस क्षेत्रलाई सरकारले अंसियारका रूपमा लिएको धारणा राख्नुभयो ।

पोखरा पर्यटनको राजधानीका रूपमा रहेको चर्चा गर्दै उहाँले अझै पर्यटकीय पूर्वाधार भने पर्याप्त नरहेको बताउनुभयो ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले महोत्सवमा यो वा त्यो नभनी सबैको साथ र सहयोग भएको बताउँदै समाज एवम् देश विकासका लागि पनि एकता जरुरी रहेको बताउनुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सभापति शुक्रराज शर्माले समृद्ध गण्डकी प्रदेशको सपनासहित विभिन्न कार्यक्रमका साथ कांग्रेसले कार्यक्रम ल्याउन लागेको जानकारी गराउनुभयो ।

पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले निजी क्षेत्र चलायमान नहुँदा अर्थतन्त्र प्रभावित हुने बताउनुभयो । महोत्सव चैत ७ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma