Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

बदलियो पिताको भूमिका : पहिले कमान्डर, अहिले साथी

काठमाडौं – पिता, यो सम्बोधनमा हिजो जुन भाव प्रकट हुन्थ्यो, आज त्यस्तो छैन । पिता भन्नासाथ बालबच्चाको मनमा डर र श्रद्धा एकसाथ पैदा हुन्थ्यो । पिता घरका मूली हुन् । उनका आदेशलाई शिरोपर गर्नुपर्छ । यस्तै मनोविज्ञानमा हुर्कन्थे बालबच्चाहरु ।

त्यसैले पितालाई परिवारका संरक्षक भनी बुझ्थे । उनका सामुन्ने बालबच्चाहरु आज्ञाकारी हुन्थे । जसै पिता घरमा प्रवेश गर्थे, बालबच्चाहरु सजग हुन्थे । चुपचाप आ–आफ्नो कामधन्दामा लाग्थे । कोही हतार-हतार पढ्न बस्थे, कोही सरासर काम गर्न थाल्थे ।

तर आज स्थिति फेरिएको छ । पिता भन्नासाथ डर होइन, अरु बढी श्रद्धा, सुरक्षा र स्नेहको भाव पैदा हुन थालेको छ । जसै पिता घरमा प्रवेश गर्छन्, बालबच्चामा डर गायब हुन्छ । उनीहरु उमंगित हुन्छन् । पिताको बुई चढेर रमाइलो गर्न थाल्छन् । पिताको काँधमा बसेर खेल्न थाल्छन् । किनभने अब पिता बालबच्चाका लागि साथीको भूमिकामा रुपान्तरण भएका छन् ।

यो बदलिंदो पारिवारिक सम्बन्धको चित्रले के देखाउँछ भने अब पितृसत्ताको अवशेष क्रमशः हट्दैछ । घरमा पिताको हैकम भन्दा पनि हार्दिकता पोखिन थालेका छन् । आमासँगै सराबरी खाना पकाउन, भाँडावर्तन माझ्न, कुचो लगाउन थालेका छन् । अनि बालबच्चासँग बच्चा झैं बनेर खेल्न, बात मार्न र रमाइलो गर्न थालेका छन् ।

अहिले घरको आर्थिक बोझ पिताको काँधमा मात्र छैन । आमाबुवा सराबरी आयआर्जनको काममा लाग्न थालेका छन् । साथै, घरभित्रको काममा पनि उनीहरुको सहभागिता समान हुन थालेका छन् । यसले बच्चा र पिताबीचको घनिष्टता बढाइदिएको पारिवारिक परामर्शदाता बिपु श्रेष्ठ बताउँछिन् ।

त्यसो त सदियौंदेखि पिताले आफ्ना परिवार, बालबच्चाकै खातिर आफूलाई समर्पित गरे । उनीहरुले आफ्नो वर्तमान बालबच्चाको भविष्यका खातिर सुम्पिए । पिता त उही हुन्, तर आज उनको भूमिका बदलिएको छ ।

पहिलेको पिता र अहिलेको पिताको भूमिकामा धेरै परिवर्तन भएको मनोविद् विनोद पौडेल बताउँछन् । ‘पहिले बालबालिकाहरू पिता भन्ने बित्तिकै डराउने गर्थे । आफ्नो लागि केही कुरा पितासँग माग्नुपर्ने छ भने पनि आमाको सहयोग लिनुपर्ने हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले ठीक उल्टो भएको छ । पितासँग बालबच्चाहरु एकदमै सहज रुपमा प्रस्तुत हुन थालेका छन् ।’

विगतमा घर व्यवहारको सम्पूर्ण जिम्मेवारी बोकेर हिंड्थे पिता । रासनपानी जुटाउन, चाडपर्वको खर्च जोहो गर्न, बालबच्चाको पठनपाठन गराउन सबै काम पिताले गर्थे । उनीहरु घरभित्र भन्दा घरबाहिर बढी समय बिताउनुपर्ने हुन्थ्यो । यसैले बलबच्चासँग पिताको दुरी बढ्ने गथ्र्यो । साथै, बच्चालाई डर देखाएर, तर्साएर, पिटेर तह लाग्छ भन्ने मनोविज्ञान थियो । उनीहरु छोराछोरीका सामुन्ने कडा रुपमा प्रस्तुत हुन्थे । ‘यी थुप्रै कारणले बच्चाहरु पितासँग डराउँथे,’ मनोविद् पौडेल भन्छन्, ‘यो त्यसबेलाको बाध्यता पनि थियो ।’

अहिले घरको आर्थिक बोझ पिताको काँधमा मात्र छैन । आमाबुवा सराबरी आयआर्जनको काममा लाग्न थालेका छन् । साथै, घरभित्रको काममा पनि उनीहरुको सहभागिता समान हुन थालेका छन् । यसले बच्चा र पिताबीचको घनिष्टता बढाइदिएको पारिवारिक परामर्शदाता बिपु श्रेष्ठ बताउँछिन् ।

उनी भन्छिन्, ‘बुबासँग बढी झुम्मिने, आफ्नो कुरा राख्न सक्ने भएका छन् । तुलनात्मक रूपमा हेर्ने हो भने छोरा भन्दा पनि छोरी पिताको नजिक भएको आफ्नो कुरा सेयर गरेको देखिन्छ । यो एकदमै राम्रो पक्ष हो ।’

बच्चालाई गाली गर्ने, डर देखाउने नभई प्रेमपूर्वक व्यवहार गर्ने भएकाले पनि अहिलेका पिताहरु बालबच्चाका लागि साथी जस्तै भएका छन् । श्रेष्ठ भन्छिन्, ‘बालबालिकासँग भावनात्मक नाता पनि एकदमै राम्रो हुनुपर्छ भन्नेमा पिताहरूले जोड दिन थालेका छन् ।’

प्रेमिल पिता

बालबालिकासँग नजिक हुँदा उनीहरूसँग कुराकानी गर्दा धेरै पिताहरूले आफ्नो दिनभरिको थकान, तनाव भुल्ने गर्छन्, जसले गर्दा परिवारको माहोल राम्रो हुने पौडेल बताउँछन् । ‘बालबालिकासँग भावनात्मक रूपमा जोडिंदा बुबाहरू तनावबाट मुक्त हुन्छन् र विभिन्न मानसिक समस्याबाट पनि मुक्त हुन्छन् ।’

बालबालिकाको हरेक आवश्यकता पूरा गर्न पाए पिताहरू एकदमै खुसी हुन्छन् । बच्चाको अपेक्षा पुरा गर्नलाई पिताले हरेक समय प्रयत्न गरिरहेको हुन्छ । त्यो प्रयत्नले उसलाई शारीरिक र मानसिक रूपमा असर गरिरहेको कुरा पनि थाहा नपाउने उनी बताउँछन् ।

पौडेलका अनुसार बालबालिकासँग एकदमै धेरै नजिक भएर उनीहरूको हरेक आवश्यकता पूरा गर्ने इच्छा बोकेर सबै समय बालबालिकाको लागि मात्र खर्च गर्दा उनीहरूले आफ्नो लागि समय पाउँदैनन् । त्यसैले कतिपय अवस्थामा यहीं कुरालाई लिएर तनाव लिएर उनीहरूमा डिप्रेसन र एन्जाइटी जस्ता समस्या पनि देखिने सम्भावना हुन्छ । बच्चा, श्रीमती र परिवारको खुसीको लागि पिताले आफ्नो मानसिक तथा शारीरिक स्वास्थ्यलाई दाउमा राखेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma